५ वैशाख २०८१ बुधबार
समाज

पत्रकार महासंघको एम्बुलेन्स खरिद गर्न जुट्दै सहयोग

एम्बुलेन्स खरिदका लागि महासंघ बाँकेलाई सहयोग हस्तान्तरण गरिँदै । तस्बिर : नागरिक

नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको छ । महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागेको हो ।  

एम्बुलेन्स खरिदका लागि विभिन्न ब्यक्ति, निकाय तथा संस्थाबाट स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए । ‘महासंघले एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पाएपछि धेरैलाई चासो बढेको छ, कतिले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ, भने कतिपयले सहयोग हस्तान्तरण गरिसक्नु भएको छ,’ भण्डारीले नागरिकसँग भने । शाखाको गत शुक्रबार सम्पन्न बैठकले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो ।  

एम्बुलेन्स खरिदका लागि महासंघ जिल्ला कार्यसमितिको तर्फबाट एक लाख रुपैयाँ जम्मा गर्ने बैठकबाटै निर्णय गरिएको सचिव कमल डाँगीले जानकारी दिए । ‘पहिले आफैबाट सुरुवात गरेपछि एम्बुलेन्स खरिद अभियानले सार्थकता पाउला भनेर यस्तो निर्णय गरेका हौं,’ उनले भने ।

यस्तै एम्बुलेन्स खरिदका लागि समाजसेवी एवम् ब्यापारी विवेक राजभण्डारीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । उनले महासंघ अध्यक्ष भण्डारी र सचिव डाँगीलाई चेक हस्तान्तरण गरेका हुन् । राजभण्डारीले कोरोना महामारीलाई लक्षित गरेर पत्रकार महासंघ बाँकेलाई माक्स र स्यानिटाइजर पनि सहयोग गरेका छन् ।

महासंघ अध्यक्ष भण्डारीका अनुसार एम्बुलेन्स खरिदको प्रक्रिया चाडै अगाडी बढाइनेछ । एम्बुलेन्स खरिद गरिसकेपछि सञ्चालन र ब्यवस्थापनको सम्पुर्ण काम महासंघ बाँके शाखाले नै गर्नेछ । एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७८ १२:३० सोमबार