१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि जोखिम बढ्यो

कोरोना संक्रमितहरु घरमै बस्न थालेपछि संक्रमण जोखिम बढ्न थालेको छ । जिल्लामा मंगलबारसम्म ८ सय ७० जना सक्रिय संक्रमित छन् । ती मध्ये ६ सय ७५ जना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् । होम आइसोेलेसनमा बसिरहेका संक्रमितबाटै संक्रमण फैलिने जोखिम बढ्दै गएको बताइएको छ ।

‘यहाँका घर आइसोलेसनका लागि उपयुक्त छैनन् । एकै धारा, शौचालय प्रयोग गर्नु पर्ने हुन्छ । यसले हामीले नचाहेर पनि संक्रमण फैलिने सम्भावना रहन्छ ।’ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने, ‘कोरोना नियन्त्रणका लागि समुदायका नागरिक पनि सचेत हुनु जरुरी छ । कोरोना पोजेटिभ देखिएकाहरुले पनि आफ्ना परिवारका सदस्यलाई संक्रमण हुन नदिन सोच्नुपर्ने हुन्छ ।’

घरमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्ने अवस्था न्यून छ । स्थानीय तहले संस्थागत रुपमा बनाएका आइसोलेसनमा बस्न नमान्दा समुदायमा कोरोना जोखिम बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा होम आइसोलेसनले जोखिम बढाएको छ । सदरमुकाम क्षेत्रमा सीमित घरबाहेक अन्य घरमा छुट्टै शौचालय नभएकाले जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ग्रामीण भेगमा होस आइसोलेसनको अवधारणा नै राम्रो नभएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘सुविधा सम्पन्न घरमा यो सम्भव भए पनि गाउँघरमा ९० प्रतिशतभन्दा बढी जनसंख्या बस्छ । संयुक्त परिवारमा होम आइसोलेसन सम्भवै  हुन्न,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ १७ गते सम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको चेन ब्रेक गर्न निषेधाज्ञा गरिएकाले संक्रमितहरुले पनि आइसोलेसनमा बस्नु आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।  

संस्थागत आइसोलेसनमै बसेकाहरु समेत आइलोसेसनबाट भाग्ने गरेका घटना समेत हुन थालेका छन् । केही दिनअघि दशरथचन्द नगरपालिकाको जगन्नाथ बहुमुखी क्याम्पसमा रहेको आइसोलेसनबाट भागेका ११ संक्रमितलाई सुरक्षाकर्मी परिचालन गरेर फर्काएको थियो । सिगास गाउँपालिकाको–७ बालकृष्ण माविमा बनाएको आइसोलेसनमा बसेका तीन कोरोना संक्रमितसहित १४ जना शनिबार बिहान ५ बजेतिर भागे । कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका उनीहरू एकाएक आइसोलेसनबाट भागेका हुन् । उनीहरुलाई पनि स्थानीय प्रहरी, स्वास्थ्यकर्मीले खोज्नु परेको थियो । संस्थागत रुपमा बनाइएका आइसोलेसनमा बस्न नमान्दा जोखिम बढेको हो ।

बैतडीमा झण्डै ४ सय बेड आइसोलेसन कक्ष तयार भए पनि आइसोलेसनमा बस्नेको संख्या भने थोरै रहेको छ । जिल्लामा अहिले सम्म ३ सय ८८ बेड आइसोलेसन कक्ष तयार भए पनि १ सय ९५ जना मात्रै आइसोलेसनमा बसेका छन् ।

स्थानीय तहले विभिन्न ठाउँमा आइसोलेसन बनाए पनि संक्रमितहरू अझै पनि संस्थागत आइसोलेसनमा बस्न रुचाएका छैनन । लक्षण नदेखिएकाहरूले आफूलाई केही भएको छैन भन्दै आइसोलेसनमा बस्न नमान्ने गरेको सिगास–५ स्थित ढुंगाड स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए । सदरमुकाममै संक्रमितहरु बजारमा खुलेआम हिड्ने गरेका छन् ।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App