खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे खजुरेकी रिता बिश्वकर्मा घाँस दाउरा गर्न जंगल चहार्थिन्। डेढ घण्टा उकालो हिँडेर स्कुल पुग्थिन्।
आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।
रिंगटा लाग्ने, टाउको दुख्ने समस्या सानैदेखि थियो। टाउको दुख्ने, रिंगटा लाग्ने समस्या अहिले पनि छ। तर करिब चार वर्ष अघिदेखि उनी क्रमशः हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी हुन्।
लट्ठीको सहारामा यताउता हिँडडुल गर्दै आएकी रिता यस वर्षदेखि पूर्ण रुपमा हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगेकी हुन्। हाल उनी एक्लै उभिन सक्दिनन्, न त भित्र–बाहिर नै गर्न सक्छिन्। विगत चार वर्षयता क्रमशः शरीर ललाकलुलुक हुने र उभिन नहुने समस्याले थला पारेको रिताले बताइन्। ‘हिँड्डुल गर्न नसक्ने भएको चार वर्ष भो। लट्ठी टेकेर हिँड्ने गरेकी थिएँ। यो वर्षदेखि आफै हिँड्न नसक्नृ भएँँ। जिउ ललाकलुलुक हुन्छ। एक्लै उभिनै हुँदैन, अरुले डोर्याउनु पर्छ,’ रिताले भनिन्, ‘अस्पताल जाँदा रोग पत्ता लागेन । जन्मजात अपांग भएको भए मन बुझाउन सकिन्थ्यो होला तर पछिबाट यस्तो हुँदा नमिठो हुँदो रहेछ।’
बुवा मोहनबहादुर र आमा सीता बिश्वकर्माका जेठो सन्तान हुन् रिता। उनी २०५१ साल साउन २२ गते जन्मिएकी हुन्। रिताभन्दा मुनि तीन बहिनी र एक भाइ छन्। चार/पाँच वर्ष अघिसम्म रिताको स्वास्थ्य अवस्था समान्य नै थियो। टाउको दुख्ने र रिंगटा लाग्ने बाहेकका समस्या थिएनन्। तर, एक्कासी उभिनै नसकिने अवस्थामा पुगेको आफन्त बताउँछन्। रिंगटा लागेकै कारण उनी गोठालो गएको बेला २०७३ साल भदौमा लडेकी थिइन्। रितालाई उपचारका लागि विभिन्न अस्पताल लगिए तर रोगको पहिचान भएन, स्वास्थ्यकर्मीको सिफारिसमा औषधि सेवन गरिन् तर रोग बीसको उन्नाइस भएन। क्रमशः हिँडडुल गर्न नसक्ने समस्या देखिएपछि उनलाई धरान हुँदै काठमाडौंसम्म पुर्याइए।
काठमाडौंको टिचिङ अस्पतालमा तीन महिना राखेर उपचार गर्दा पनि उनको समस्या कम भएन। काठमाडौंपछि घर फर्काएर पुनः विराटनगरको न्यूरो अस्पतालमा उपचार गर्दा पनि उनको समस्या ज्यूँका त्यूँ छ।
औषधिले रोग निको नभएपछि हाल रिता घरैमा कष्टका साथ बसिरहेकी छन्।
रिताले सिमपानी माविबाट एसइई उत्तीर्ण नगर्दै पढाइ छाडिन्। शारीरिक समस्या आउन अगाडि उनले चार महिनाको कम्प्यूटर तालिम र चार महिनाकै सिलाई कटाई तालिम पनि लिएकी छन् । उनको उपचारमा लाखौं रकम सकिएको छ। उपचारकै लागि बुवा मोहन ५ वर्षदेखि साउदी अरबमा छन्। मोहनले कमाएको अधिकांश पैसा उपचारमै खर्च भएको छ। थप सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने आर्थिक अभावकै कारण हाल उनको उपचार हुन सकेको छैन।
रिताको शारीरिक अवस्थाले सबैभन्दा बढी आमा र बुवालाई चिन्तित बनाएको छ। बुवाआमा छउञ्जेल त स्याहार–सुसार हुन्छ, त्यसपछि उनको अवस्था के होला! भन्ने चिन्ताले पिरोलिरहेको छ।
हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी रितालाई ‘खुट्टा नचल्ने’ उल्लेख गरेर गाउँपालिकाले (घ) वर्गको अपांगताको परिचयपत्र दिएको छ। ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालनका क्रममा घरैमा पुगेका सहजकर्ता इन्द्र नारथुंगे(इन्द्रकुमार राई)ले रिताको अवस्था दयनीय रहेको बताए । ‘जुन व्यक्ति अरुको साहरामा बाँच्नु पर्छ, उनले सामाजिक न्यायको सिद्धान्तअनुसार सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो। तर, रीताले (घ) वर्गको परिचयपत्र पाएको हुनाले सामाजिक सुरक्षा भत्ता पाउने अवस्था छैन,’ सहजकर्ता राईले भने, ‘परिवारको अपेक्षा भनेको छोरीको लागि सामाजिक सुरक्षा भत्ता नै हो। यसबारे गाउँपालिकाबाट ढिलोचाँडो सम्बोधन हुन्छ नै। तर रिताको अनुहारले भन्दै थियो, मैले भत्ताभन्दा पनि जीवन जिउनुको अर्थ खोजिरहेकी छु।’
प्रकाशित: ३ जेष्ठ २०७८ १०:२९ सोमबार