१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाडी नगुड्दा पनि विश्वकै प्रदूषित सहरको सुचीमा काठमाडौं किन अगाडि?

काठमाडाैंको प्रदूषण। फाइल तस्बिर: नागरिक

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ। कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन्। तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ। यस्तो किन भएको होला ?

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय सहरमध्ये काठमाडौं छैटौं स्थानमा थियो। त्यस दिन काठमाडौंको वायु प्रदूषण मापक सूचकांक (एक्युआई) ११० थियो। निषेधाज्ञा जारी भएको तेस्रो सातामा आइपुग्दा आइतबार साँझ ६ बजे काठमाडाैं ८७ अंकसहित १०औं स्थानमा छ। पहिलो स्थानमा १७६ अंकसहित चिलीको सान्टियागो छ। आइतबार बिहान ७ः४५ बजे काठमाडाैंको एक्युआई १२७ थियो। चैतको दोस्रो साता देशका विभिन्न जिल्लामा लागेको डढेलो र धेरै दिनसम्म पानी नपर्दा विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा थियो। त्यति बेला काठमाडौंको एक्युआई ३०० नाघेको थियो।

जनस्वास्थ्यमा प्रभावको हिसाबले एक्युआई ० देखि ५० सम्म रहेको अवस्थालाई स्वस्थकर र ५१ अंक देखि १०० सम्मको अवस्थालाई मध्यम (मोडरेट) तह मानिन्छ। मध्यम तहमा अस्वाभाविक हिसाबले संवेदनशील मानिस धेरै समयसम्म घरबाहिर निस्कन हुँदैन। यसैगरी १०१ देखि १५० सम्म हुँदा संवेदनशील मानिसका लागि अस्वस्थकर मानिएको छ। प्रदूषणको यस तहमा बालबालिका र श्वासप्रश्वासमा समस्या भएका प्रौढ घरबाहिर धेरै समस्यसम्म रहन नहुने विज्ञ बताउँछन्। एक्युआई मापन गर्दा शून्यदेखि ५०० सम्मको स्तरलाई ६ तहमा बाँडिएको छ। एक्युआई गणना गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता प्रदूषणका कारकको मापन गरिन्छ।  

एक्युआईमा प्रमुख कारक तत्व मानिएको पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा ४० माइक्रोग्राम सूक्ष्म कण रहेमा स्वच्छ वायु भनेर नेपालले परिभाषा गरेको छ र त्यही मापदण्डलाई आधार मानेको छ। विश्व स्वास्थ्य संगठनको निर्देशिकाले एक दिनको पिएम २.५ को सरदर स्तर २५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने भनी तोकेको छ। राजधानीको रत्नपार्कमा गत २४ घण्टामा पिएम २.५ सरदरमा ५४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ। यो विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा दुगुना र नेपालको राष्ट्रिय मापदण्ड भन्दा १४ अंकले बढी हो।

जारी निषेधाज्ञाले सार्वजनिक यातायात पूरै ठप्प रहेको अवस्थामा काठमाडांैमा प्रदूषण उच्च देखिनु अध्ययनको विषय बनेको छ। प्रश्न उठेको छ– के यातायातका कारण निस्कने धुवाँधुलो राजधानीको प्रदूषणका लागि प्रमुख कारण हो त ? राजधानीको अत्यधिक प्रदूषणका लागि गाडीको धुवाँ, कलकारखाना विशेषगरी इँटा उद्योगबाट निस्कने धुवाँ, सडकको धुलो, घरबाहिर जलाइने फोहोरलगायतलाई कारक मानिएको छ। यति बेला यातायात लगभग ठप्प छ भने उपत्यकामा सय हाराहारीमा रहेका इँटा उद्योग पनि बन्द छन्।

निषेधाज्ञा अवधिमा पनि राजधानीको वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारण के होला ? वायुमण्डलमा रहेका सूक्ष्म कणको बनावट अध्ययन गरेर तिनको उत्पत्ति कहाँ र कसरी भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्।

त्यसो त स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जनसहितको प्रदूषित हाबाको वहाब राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ। यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन्।

निषेधाज्ञापछि राजधानीमा वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारणबारे प्रदूषणको कारक मानिएका सूक्ष्म कणको बनावट अध्ययन गरेर त्यसको उत्पत्ति कसरी र कहाँ भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्। ‘अहिले पनि वायु प्रदूषण उच्च रहनुले यसमा स्थानीय भन्दा बाह्य कारण बढी जिम्मेवार रहेको प्रस्ट भएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्।

वायु प्रदूषणको स्रोतसम्बन्धी विषयमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेकी पाटन बहुमुखी क्याम्पस वातावरण विभागकी प्रमुख डा. शीला मास्के वैद्य अहिलेसम्म गाडी र कलकारखानबाट निस्कने उत्सर्जनमा मात्रै ध्यान केन्द्रित भएको बताउँदै थप्छिन्, ‘सही उत्तरका लागि वायु प्रदूषणका कणको बनावटको लगातार अध्ययन हुनुपर्छ।’

अमेरिकाको नेसनल ओसिएनिक एन्ड एटमोस्फियरिक एडमिनिस्ट्रेसन (एनओएए) ले तयार पारेको एक मोडलमार्फत चैतमा गरिएको अध्ययनले वायुका प्रदूषित कण (एयरमास) अफगानिस्तान, पाकिस्तान तथा भारतको उत्तर पश्चिम क्षेत्रबाट आएको देखाएको डा. वैद्य बताउँछिन्। उक्त अध्ययनअन्तर्गत प्रदूषण अत्यधिक बढेको बेला अर्थात् चैत १३ देखि १० दिनसम्म राजधानीको वायुमण्डलका विभिन्न तहमा रहेका कणको सूक्ष्म अध्ययन गरिएको थियो। 

अध्ययनका लागि सतहदेखि ५०० मिटर, हजार मिटर र १५ सय मिटरमाथि रहेका कण संकलन गरिएको थियो। अध्ययनले चैत २२ गतेसम्म आइपुग्दा प्रदूषण राजधानीको वायुमण्डलमै घुमिरहेको देखाएको थियो। चैत २२ गते दिउँसो २ बजे गरिएको अध्ययनले प्रदूषण स्थानीय रूपमा पश्चिम काठमाडांैबाट आएको देखाएको थियो। ‘त्यसैेले अहिले राजधानीमा प्रदूषण रहिरहनुको ठ्याक्कै कारण पत्ता लगाउन प्रदूषणको स्रोत पत्ता लगाउनुपर्छ र प्रदूषित कणको रासायनिक बनावटको अध्ययन हुन आवश्यक छ,’ डा. वैद्य भन्छिन्।

‘महामारीको फैलावट रोक्न जसरी एउटा स्थानमा मात्र रोकथाम गरेर नभई समग्रमा यसको रोकथाम गर्नुपर्ने देखिएको छ, त्यसैगरी वायु प्रदूषणको स्तर घटाउन पनि समग्रतामा प्रयास हुनुपर्ने देखिएको छ,’ वातावरण विभागका जोशी थप्छन्। वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै बर्सेनि झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ। वायु प्रदूषणका कारण मुटुरोग, फोक्साको समस्या, निमोनिया, मस्तिष्काघातलगायतका विभिन्न समस्या उत्पन्न हुने अध्ययनले देखाएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७८ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App