१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँमै कोभिड अस्पताल

मोरङको बुढीगंगा स्थित बाँसवारीमा सञ्चालनमा ल्याइएको अस्थायी कोभिड अस्पताल । तस्बिरः विनोद /नागरिक

मोरङको बुढीगंगामा गाउँपालिकाले गाउँमै कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । ठूला मेडिकल कलेज र प्रादेशिक कोभिड अस्पतालमा वेड नपाएर विरामीको विचल्ली हुने अवस्था आएपछि बुढीगंगा गाउँपालिकाले अस्थायी रुपमा अक्सिजन, चिकित्सक र औषधिसहितको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको हो ।  

 ठूला अस्पतालहरूमा वेड अभाव भएपछि दैनिक थपिएका नयाँ कोरोनाका विरामीले सामान्य अक्सिजनसहितको वेडसमेत पाउन  पाउन मुस्किल परिरहेको छ ।  ठूला अस्पतालमा वेड अभाव हुन थलोपछि स्थानिय विरामीलाई स्थानिय स्तरमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको बुढीगंगा गाउँपालिकाले  तत्कालका लागि   १० वेडको  अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वुढीगंगा गाउँपालिकाको बाँसवारी स्थित गाउँपालिका स्तरीय अस्पतालमा कोरोना संक्रमितकोसमेत उपचारको  व्यवस्था गरी १० बेडको अस्पताल सञ्चालनमा ल्याइएको हो ।  

अस्पतालमा कोरोनाका विरामीहरूका लागि  अक्सिजन,र औषधिको व्यवस्था गरिएको छ । यस्तै चिकित्सकको परामर्शको व्यवस्था पनि गरिएको छ । अस्पतालमा भर्ना हुने विरामीका लागि पोषिलो खाना खाने व्यवस्था पनि गरिएको छ । तत्काल १० वेड सञ्चालनमा ल्याइएको र केहि दिन पछि  थप १० वेडको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको बुढीगंगा गाउँपालिकाका प्रमुख वालचन्द्र माझीले जानकारी दिए । माझीका अनुसार अस्पताल सञ्चालनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले त्यति बजेटले मात्रै नपुग्ने भएकाले थप बजेटका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने माझीले बताए । ‘ठूला अस्पतालमा वेड पाउन छाडेपछि गाउँमै  कोरोनाको उपचार गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका हौं ’उनले भने‘अस्पतालका लागि आबश्यक मेडिकल सामाग्री गाउँपालिकाकोमात्रै स्रोत साधनले नभ्याउने भएकाले प्रदेश सरकार तथा संघीय सरकारसँग पनि सहयोग मागेका छौं ।’  

 अस्पतालमा विमा र कोभिड दुबै सेवा प्रदान गरिने भएकाले अस्पताललाई पार्टेशन गरेर सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल अफिसर डा सरोज यादवले जानकारी दिए  । अस्पतालमा एक्सरे, इसीजी लगायतका सेवा पनि रहेको छ । यस्तै कोभिडका विरामीका लागि अक्सिजन, औषधिलगायतको सुविधा रहेकाले गम्भीर प्रकारकाबाहेक अन्य विरामीलाई भर्ना गरेर उपचार गर्न सकिने डा यादवले जानकारी दिए । अस्पतालका लागि आबश्यक सामाग्रीहरू उपलब्ध गराउन प्रदेश सामाजिक विकास मन्त्रालयसँग  अनुरोध गरिएको सो क्षेत्रका सांसद तथा प्रदेश १ को प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । उनले प्रदेश र संघीय सरकारसँग पहल गरी अस्पतालका लागि आबश्यक जनशक्ती, उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराइने स्पष्ट पारे  । कार्कीले ठूला अस्पतालको मात्रै भर नपरी स्थानिय तहहरूले स्थानिय स्तरमै पनि अक्सिजन सहितका कोभिड अस्पताल सञ्चालनमा ल्याउनु आबश्यक भइसकेको बताए ।

प्रकाशित: २ जेष्ठ २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App