१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयर र उपमेयरको गाडी एम्बुलेन्सका रुपमा उपयोगमा ल्याइए

एक संक्रमितलाई मेयर दिपनारायण रिजालले प्रयोग गर्दैआएको गाडीमा हालेर बिराटनगर पठाउने तयारी गरिँदै । तस्बिर : नागरिक

कोभिड–१९ को महामारीका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बूलेन्सकारुपमा प्रयोगमा ल्याइएको छ । मेयर दिपनारायण रिजालले प्रयोग गर्दै आएको आएको बा २ झ ३४६७ नम्बरको गाडी र उपमेयर बिणादेबी राईले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको गाडीलाई एम्बूलेन्सकारुपमा उपयोगमा ल्याइएको हो । कोभिड–१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पु¥याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठ्माण्डौं, बिराटनगर लगायतका अस्पतालमा पु¥याउन र ल्याउनमा उपयोग गर्नेगरी मेयर रिजाल र उपमेयर राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बूलेन्सका रुपमा उपयोगमा ल्याएका हुन् ।  

शनिबार एक संक्रमितलाई मेयरको गाडीमार्फत बिराटनगर पठाएर नगरपालिकाको गाडीलाई औपचारिक रुपमा एम्बूलेन्सको रुपमा प्रयोग सुरु गरिएको हो । मेयर रिजाल र उपमेयर राईले कोभिड–१९ को महामारी नियन्त्रण नभएसम्मका लागि गाडीलाई बिरामी ओसार–पसारमा प्रयोग गर्ने बताएका छन् । बिरामी बोक्ने अन्य भाडाका गाडी नपाइने, पाइए पनि चालकले बोक्न नमान्ने अवस्था भएकाले नगरपालिकाकै गाडीलाई एम्बूलेन्सको रुपमा प्रयोगमा ल्याइएको मेयर रिजालले बताए । ‘गाउँमा सिरियस बिरामी भएर दिक्तेलसम्म ल्याउन परे भने अथवा आइसोलेसन सेन्टर लान परे भने र यहाँबाट रेफर गरेर काठ्माण्डौं वा बिराटनगर लैजान परे भने यही गाडीलाई प्रयोग गर्छौैँ,’ मेयर रिजालले भने, ‘अरु भाडाको कुनै पनि गाडीले पोजिटिभ बिरामी बोक्न मानेन । यसरी नहुने रहेछ, नगरपालिकाकै गाडी प्रयोग गरौं भनेर प्रयोग थालिएको हो । यो महामारी भरी अव पहिला गाडी नहुँदा जसरी हिँडिन्थ्यो, संकटभरी त्यसरी नै हिँडडुल गर्ने छौँ ।’  

१५ वडा रहेको नगरपालिकामा हालसम्म ५३ जनाभन्दा बढिलाई संक्रमण पूष्टि भइसकेको छ । संक्रमितलाई बोक्नका लागि मेयर र उपमेयरको गाडीलाई चालक र बिरामीकोबिचमा पर्नेगरी प्लाष्टिकले पाटेसन गरिएको छ । संकटभरी गाडीलाई बिरामी ओसार–पसार गर्न दिएपछि आफुहरु भने अन्य वैकल्पिक सवारी साधनको व्यवस्था गरेर आवत–जावत गर्ने उपमेयर राईले बताईन् । मेयरले चढ्दै आएको गाडी एससडिसिले उपलव्ध गराएको हो भने उपमेयर चढ्दै आएको गाडी स्वयं नगरपालिकाले खरिद गरेको हो । ‘यो बेला भनेको समयमा एम्बूलेन्स पाइन्न । आवश्यकता परेको अवस्थामा जुनसुकै बेला हाम्रो गाडी बिरामी बोक्न तयार छ । यो बेला हाम्रो गाडीको धेरै काम पनि छैन,’ उपमेयर राईले भनिन्, ‘नगरपालिकामा अक्सिजन पनि छ । अक्सिजन चाहिने अवस्थामा गाडीमा अक्सिजनको पनि व्यवस्था हुन्छ ।’  

यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले पनि आफुले चढ्दैआएको गाडीलाई एम्बूलेन्सकारुपमा उपयोग गर्नका लागि स्वास्थ्य शाखालाई चाँबी हस्तान्तरण गरिसकेकी छन् । अहिले जनप्रतिनिधिबीच आफुले चढेको गाडी एम्बूलेन्सका रुपमा प्रयोग गर्न दिने लहड नै चलेको छ । जनप्रतिनिधिले चढ्दै आएको गाडीमा एम्बूलेन्स सरहको संरचना र सुविधा भने हुन्न । अर्थात एम्बूलेन्ससँग यी गाडीको तुलना हुन्न तर एम्बूलेन्स नपाएको अवस्थामा बिरामी बोक्नका लागि जनप्रतिनिधिको गाडी पनि उपयोगी भने हुन सक्छ ।  

प्रकाशित: १ जेष्ठ २०७८ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App