१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ। शुक्रबार गोरखाका दुई जना पिसिआर दिएका बिरामीको मृत्यु भयो। मृत्यु भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरुको रिपोर्ट पोजेटिभ आयो।  

गाउँगाउँमा संक्रमणको दर बढेसँगै स्थानीय तहले स्वाब संकलन गरेर पठाएपनि पिसिआर जाँचका लागि स्वाब दिएकाहरुको रिपोर्ट पाँच/छ दिनसम्म आएको छैन। स्वास्थ्य कार्यालयका अनुसार अझै गोरखाका एक हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी छ।  

शुक्रबार मृत्यु भएका गोरखाको शहीदलखन गाउँपालिका ४ का ४२ वर्षीय बाबुराम लामिछानेको पिसिआर रिपोर्ट ३१ गते दिउँसो मृत्यु हुँदासम्म आएको थिएन। उनले वैशाख २६ गते स्वाब दिएका थिए। पालुङटार नगरपालिका २ का ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा उपचारको क्रममा निधन भयो। उनले स्वाब २८ गते दिएका थिए। मृत्यु हुँदासम्म उनको पनि रिपोर्ट आएको थिएन। नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब दिएकाहरुको बिवरणसहित मृत्यु भएको जानकारी गराएर छिटो रिपोर्ट पठाइदिन अनुरोध गरेपछि मात्र रिपोर्ट आएको थियो।  

ढिला गरी पिसिआर रिपोर्ट आउँदा कोरोना संक्रमण भए/नभएको अन्यौल, उपचारमा समस्या हुँदा स्थानीयको स्वास्थ्यमा थप जोखिम बढेको स्थानीय तहका स्वास्थ्य संयोजकहरुले बताएका छन्। पालुङटार नगरपालिकाले वैशाख २७ गते पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए।  

शहीदलखन गाउँपालिका भित्र स्वाब लिइएको ६२ जनाको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आउन बाँकी वैशाख २८ गते स्वाब पठाइएकाहरु रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए।  

गोरखा नगरपालिकाको वैशाख २८ गतेदेखिको रिपोर्ट आउन बाँकी रहेको र शुक्रबारसम्म दुई सय ५९ जनाको बाँकी भएको कोरोना फोकल पर्सन निश्चल अर्यालले बताए। रिपोर्ट ढिला आउँदा स्वाब दिएकाहरु गाउँमा खुलेहाम हिँड्ने, डुल्ने गरेका छन्। संक्रमण दर पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।  

गोरखाबाट संकलन भएको स्वाब पिसिआर परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइन्छ। प्रयोगशालामा अत्याधिक चाप भएकाले रिपोर्ट ढिला आएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संञ्चालन केन्द्र पोखराका संयोजक नबराज शर्माले बताए। ‘शुक्रबार पनि १७ जनाको पिसिआर जाँच गरिएको हो’, उनले भने, ‘बिहान ८ देखि राती १२ बजेसम्म प्रयोगशाला चलाउँदा पनि सकिएको छैन।’

अहिले दुई सिफ्टमा संचालन भएको प्रयोगशाला आइतबार वा सोमबारदेखि तीन सिफ्ट चलाउने तयारी भएको बताउँदै उनले केही दिनमा समस्या समाधान हुने बताए। गण्डकी प्रदेशको नवलपुर, बाग्लुङ र पोखरामा सरकारले पिसिआर निःशुल्क जाँच गर्दै आएको उनले बताए।

प्रकाशित: ३१ वैशाख २०७८ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App