१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आमासँगै हुनेलाई सधैं 'मदर्स डे'

तस्बिरः उपेन्द्र लामिछाने

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। अन्य चाडजस्तै यो पर्व पनि कोरोनाको कारण प्रभावित बनेको छ। मिठाइ बोकेर माइती जाने चेलीको लर्को देखिएन। बरु आमाका तस्बिर राखेर शुभकामना दिनेको लर्कोले सामाजिक सञ्जाल आमामय देखिएको छ।  

यसरी दिएको शुभकामनाले धेरैको मन छुने गरेको छ। ‘आमासँगै हुनेलाई सधैं मदर्स डे,  बालाजुकी मनिता थपलियाले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘आमालाई सधैं खुसी राखौं।’ दुई दशक अगाडि आमा  गुमाएकी थपलियाले जीवनमा आमाको अभावले सधैं घोच्ने गरेको सुनाइन्।  

पत्रकार भुषण दाहालले पनि आमा नहुँदाको पीडाको बारेमा आफ्नो भावना व्यक्त गरेका छन् ‘आमा नहुँदाको पीडा आमा नहुनेहरुसँग सोध,’ उनले लेखेका छन्, ‘हुनेहरु हो, आमा हुन्जेल आमा, आमा गर्न कहिल्यै नबिर्स।’ उनको भावनालाई राजेन्द्र विष्टले ‘संसारमा अमृत र स्वर्गको अस्तित्वको एउटै रुप आमा’ भन्दै सहमति जनाएका छन्। 

त्यस्तै अर्का पत्रकार रघुनाथ लामिछानेले ‘भगवान सबै ठाउँमा पुग्न सक्दैनन्। त्यसैले उनले आमा बनाए।’ भन्ने पोष्टलाई पनि धेरैले मनपराएका छन्। गीतकार डोलप्रसाद दाहालले ‘जीवन तिम्रै नासो हो आमा, दीर्घ जीवनको शुभकामना’ भन्दै मातातीर्थ औंसीको अवसरमा सबै आमाहरुलाई नमन गरेका छन्।  

त्यस्तै रमेश निरौलाले आमाले मृत्युलाई समेत हराइदिने भन्दै राहत इन्दोरीको कविता पोष्ट गरेका छन्। ‘मौत देख तेरा मुहँ काला हो गया,’ माँ ने आँख खोली घरमे उज्याल हो गया।’ (मृत्यु तेरो मुख कालो भयो, आमाले आँखा खोल्नु भयो, घर उज्यालो भयो)।

हो, आमाको गुणको बखान गर्ने शब्दहरु शब्दकोषमा पनि नभेटिन सक्छन्। अहिले कोरोना कहरको कारण कति आमाहरुले छोराछोरी आउने बाटोमा आँखा ओछ्याइरहेकी होलान्, कति सन्तान आमा भएको ठाउँसम्म पुग्न नपाउँदाले मन जलाइरेहका होलान्। समय बलवान् बनेको यो विषम परिस्थितिमा अझ हामीले आमालाई बलियो बनाउनुपर्छ, त्यसनिम्ति भौतिक उपस्थितिभन्दा पनि सामाजिक सञ्जाल नै उत्तम ठहरिएको छ। यसैलाई भरपूर उपयोग गरी मातृ सम्मान दिवस(मातातीर्थ औंशी) को अँध्यारोलाई चिरौं। शुभकामना।

प्रकाशित: २८ वैशाख २०७८ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App