१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिकित्सकको प्रश्नः अस्पतालभित्रको चित्कार कसले सुन्ने हो ?

कोरोना भाइरस संक्रमणको दोश्रो लहरले सबैतिर हायलकायल पारिरहेको छ । अस्पतालमा गम्भिर प्रकृतिका बिरामीको भीड छ । राजधानी सहितका कतिपय सहरमा त बिरामीले उपचार नपाएरै ज्यान फालिरहेका छन् । उपचार खोज्दै बिरामी कहिले कता त कहिले कता भौतिरिनुपरेको छ ।  

अस्पतालमा बिरामीको भीडभाड बढ्दै जाँदा चिकित्सकले हात उठाउने अवस्था आउनै थालेको छ । कतिपय अस्पतालले त थप बिरामी उपचार गर्न नसक्ने बताईसकेका छन् । अस्पताल र बिरामीको यो हालत एकातिर छ, तर, सरकार भने बिरामीको यो चित्कार सुन्न सक्दैन । कसरी हुन्छ सत्तामा रहिरहने भन्नेमा ध्यानमग्न हुँदा जनता भने अक्सिजन समेत नपाएर भकाभक ज्यान गुमाईरहेका छन् ।

सरकारले बेलैमा कोरोनाको यो अवस्थाको आँकलन गर्न नसक्दा जनताले ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको टिप्पणी छ । चिकित्सकहरुका अनुसार अहिले अस्पतालको अवस्था दयनीय छ । टाढाटाढाबाट हेलिकप्टर र एम्बुलेन्समा बिरामी एकअर्का सहरमा पुगिरहेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना फोकल पर्सन डा. शरदचन्द्र बराल भन्छन, ‘स्वास्थ्यकर्मी कसरी खटेका छन भन्ने कुराको कतौ लेखाजोखा छैन । अस्पतालभित्रको प्राविधिक समस्या कसैले देखेको छैन । बिरामी र उनीहरुका आफन्तको आक्रोशको त कुरै छाडौं ।’  

बरालका अनुसार स्वास्थ्यकर्मी आफैले सिलिन्डर बोकेर बिरामीलाई सेवा दिईरहेका छन् । ‘अवस्था हालयकालयल छ । यो अप्ठेरोलाई सहज बनाउन खोज्दा कतिपय बेला अवरोध आइदिन्छन् । सेवा बिस्तार र सुविधा थप्न खोज्दा पनि जोखिम छ,’ उनले भने, ‘कतिपय नीतिगत निर्णय सरकारले बेलैमा नगर्दाको अप्ठेरो पनि उत्तिकै छ । तर, यो व्यथा सुन्ने कोही छैन ।’  

अस्पतालमा उपचारका लागि आएका कुनै एकजना व्यक्तिको मृत्यु हुँदा उसको परिवारका लागि शतप्रतिशत हुन्छ । त्यो पीडा र रोदन देख्दादेख्दै चिकित्सकको मन नै विक्षिप्त हुने गरेको उनले सुनाए । ‘सबैतिर पीडैपीडा देख्दा कामै नगरौं झैं लाग्छ,’ बरालले भने, ‘बेलाबेला बिरामी आवेशमा आउँछन् । अक्सिजन सकियो भन्ने गुनासो सुन्छौ । दिनरात खाईनखाई काम गरिरहेका छौ । त्यो बेला चिकित्सक नै रिसाएर भएन । यो कामको मुल्यांकन गर्दै स्वास्थ्यकर्मीलाई उत्साही बनाउनुपर्ने बेला हो । त्यो हुन सकेको छैन ।’ 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बुद्धिबहादुर थापा कोरोनाको पहिलो लहरलाई नै राम्रोसँग व्यवस्थापन गर्न चुकेको बेला दोश्रो लहरका लागि प्रयाप्त समय हुँदाहुँदै पनि बेवास्ता गर्दा अहिलेको अवस्था निम्तिएको बताउँछन् । ‘पहिलो लहरलाई नै व्यवस्थित गर्न सकेका  होइनौ । दोश्रो लहर आउने थाहा हुुँदाहुँदै पनि हल्का रुपमा लिइयो,’ थापाले भने, ‘नागरिकले वेवास्ता गरे । भीडभाडका सबै गतिविधि भए । त्यसले गर्दा अहिलेको जोखिम निम्तिएको हो ।’  

उनका अनुसार पहिलो लहर केही कम भएपछि कोरोनाका बिरामी राख्ने कक्ष समेत हटाइयो । परीक्षण ल्याबको क्षमता समेत कटौति गरिएको थियो । ती सबै कमजोरी थिए । ‘यो हालत आउने भन्ने पूर्वानुमान थियो । तर, सबैतिर वेवास्ता भयो । भएका पुर्वाधार पनि कटौती गरियो,’ थापा भन्छन, ‘राजनीतिक नेतृत्वमा पनि केही कमजोरी भयो । जसले गर्दा दोश्रो लहरप्रति पूरै वेवास्ता भयो ।’ एकातिर दोश्रो लहर आउँदैन भनेर बसियो भने  खोप लगाएपछि बलियो भइन्छ भन्ने अवस्थाले पनि ढुक्क बनाउँदा यो अवस्था निम्तेको उनले बताए । ‘जुन समुहले खोप लगाउन पाएको थिएन । त्यही समुह अहिले बढी जोखिममा छ,’ उनले भने ।  

अहिले चिकित्सकले निकै नै जोखिमका साथ काम गरेको उनले सुनाए । ‘यस्तै अवस्था हो भने जनशक्ति नै नपुग्ने अवस्था आउँछ । जनशक्तिको कर्मी र साधनश्रोतको अभाव हुने देखिएको छ,’ थापाले भने, ‘धन्न अधिकांश बिरामी होम आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेकाले केही सहज भएको हो । होम आइसोलेसनमा पनि नबसेको भए त झनै बर्बाद हुन्थ्यो ।’  राजनीतिक दलहरुले जुन रुपमा स्वास्थ्यकर्मी, जनता, सरोकारवालालाई ‘मोटिभेट’गर्नुपर्नेमा त्यो गर्न नसकेको उनले बताए । ‘यतिसम्म कमजोरी भयो की अघिल्लो आर्थिक वर्ष त कोरोनाको बजेट नै उपयोग हुन नसकेर फिर्ता भएको हो,’ उनले भने । अहिलेको अवस्थालाई पार लगाउन अझ सशक्त रुपमा अघि बढाउनुपर्नेमा दलहरुबीच तानातान हुने अवस्था आएको उनले बताए ।  

विश्लेषक आनन्दराज मुल्मी यो बेलाको जिम्मा लिने निकाय नै कोही नभएको बताउँछन् । ‘अस्पतालभित्रको यो बेहाल हुनुमा त्यहाँभित्रको अस्तव्यस्तताको पनि कारक हो । आम मानिसले सेवा पाउनबाट बञ्चित छ । जिम्मेवारी नै कसैले लिएको छैन,’ मुल्मी भन्छन, ‘पोखराजस्तो ठाउँमा सरकारी अस्पतालको हालत खराब छ । स्वास्थ्य सेवा प्रतिको अपनत्व लिने काम कसैले गरेनन । अस्पतालभित्रको चित्कार सुन्ने फुर्सद कसैलाई छैन ।’

जिम्मेवार लिने निकाय कोही नहुँदा यो अप्ठेरो आएको उनले बताए । ‘सरकार गैरजिम्मेवार भएकोले पनि यो अवस्थामा निम्तेको हो । यसमा प्रदेश सरकार नै असफल भयो । भएका सेवा पनि बीचमा भताभुंग भए । प्रशासनको चेन अफ कमाण्ड अभावमा यो अवस्था निम्तियो,’ मुल्मीले भने, ‘आधारभूत मेडिकल सेवा दिनेगरि तयारी भएको भए यो अप्ठेरो हुन्थेन । अस्पतालको चित्कार कसैले सुन्न सकेको छैन ।’  

यो अप्ठेरोमा स्थानीय तहको पनि दायित्व हुनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । ‘कमसेकम प्रदेश सरकारले त चाँसो लिनुपर्छ । प्रदेशका सांसदले नै आफ्नो प्रदेशका जनताको चाँसो लिनुपर्ने की नपर्ने भन्ने देखिएको छ,’ उनले भने, ‘थाहा नपाएर हुन् वा जानजानी हो, राजनीतिक दलहरुले वेवास्ता गरेका छन ।’ 

प्रकाशित: २७ वैशाख २०७८ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App