६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट बाँकेमा वडासदस्यको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षका उनको केहीबेर अघि भेरी अस्पतालमा मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडासदस्य कसेराको उपचारकै क्रममा मृत्यु भएको बताए।  

‘कोरोना संक्रमणबाट वडासदस्य तारा कसेराको मृत्यु भयो,’ उनले भने। वडासदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकोमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुले बताए। ‘उहाँ विगत १५/२० दिनदेखि बिरामी हुनुहुन्थ्यो, तर भेरी अस्पतालमा एक हप्तादेखि भर्ना हुनु भएको थियो,’ वडाध्यक्ष थारुले भने, ‘उहाँलाई सुगर र प्रेसरको समस्या पनि थियो।’  

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २६ वैशाख २०७८ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App