११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व रेडक्रस दिवस: रेडक्रसको काम पारदर्शी बनाउन जोड

महिला बालबालिका तथा समाज कल्याण मन्त्री जुलीकुमारी महतोले गतिशील र पारदर्शी बनाउन नेपाल रेडक्रसले आफ्ना गतिविधिको समिक्षा गर्नुपर्ने बतएकी छन्।

हरेक वर्ष रेडक्रस अभियानका प्रवर्तक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर मनाइने विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री महतोले नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए/नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने बताएकी हुन्।  

कार्यक्रममा मन्त्री महतोले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि नेपाल रेडक्रसले गरेका कार्यहरु प्रशंसनीय रहेको बताइन् । उनले विभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पुर्याएको सेवाको उच्चप्रशंसा गर्दै रेडक्रसलाई अगाडि बढाउने कार्यमा सहयोग गर्न नेपाल सरकार सधैं तयार रहेको पनि बताइन्।

मन्त्री महतोले ३ पटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शीताका साथ मानवीय पीडा कम गराउन निरन्तर क्रियाशील हुनुपर्नेमोड दिइन् ।

‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको रेडक्रस दिवसको उक्त कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले रेडक्रसका लागि छुट्टै कानुन बनाई यसलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने बताए। रेडक्रस कानुन निर्माणको आवश्यकता सरकारले पनि महसुस गरेको र गृहले रेडक्रससम्बन्धी एउटा विधेयक ड्राफ्ट गरी प्रारम्भिक प्रकृया अगाडि बढाएको जानकारी दिए। 

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले समुदायसँग अझै नजिक रहेर महामारी तथा विपद्को रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने बताए।  

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुँदै आएको बताए भने समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदम खतिवडाले नेपाल रेडक्रस सोसाइटीले महामारीका समयमा गरेको स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवाजस्ता गतिविधिहरुको प्रशंसा गरे।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्ने मानवीय सेवाको लागि अनलाइन डोनेशन गर्न सकिने एप्लिकेशनको पनि शुभारम्भ गरिएको छ। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल रेडक्रसले गरिरहेको गतिविधिका बारेमा जानकारी गराउँदै उपत्यका र बाहिरका जिल्लामा सञ्चालन गर्न सकिने थप गतिविधिहरुको तयारी र योजनाका बारेमा पनि जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले मानवीय पीडा कम गराउनका लागि जस्तोसुकै अवस्थामा पनि परिचालित हुने स्वयंसेवक र कर्मचारीहरुको उच्च मूल्याकंन र प्रशंसा गर्दै कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका क्षेत्रमा देशैभर रेडक्रसकर्मीहरुले गरिरहेका कामका बारेमा जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागको संयोजनामा सञ्चालित भर्चुअल कार्यक्रमको सञ्चालन सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गरेका थिए ।  

विश्वमा रेडक्रस अभियान सुरु भएको एक सयवर्षपछि स्थापना भएको नेपाल रेडक्रलसले आफ्नो सेवाको ५८ वर्ष पूरा गरिसकेको छ।

हाल सोसाइटीका ७७जिल्ला शाखा र करिब १५ सय सांगठनिक निकायहरुमा आवद्ध १० लाख बढी सदस्यहरु मानवीय सेवा संलग्न छन्।

प्रकाशित: २६ वैशाख २०७८ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App