१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाकै एक ठाउँ, जहाँ छैन मास्क

तस्बिरः भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.५ काे छालिङ गाउँ ।

नयाँ भेरियन्टको कोभिड १९ ले भयावह स्थिति बनाइरहेको छ। जनस्वास्थ्य विज्ञहरु स्वास्थ्य सावधानी अपनाउनका लागि अनुरोध गरिरहेका छन्। स्वास्थ्य सावधानी अपनाउने थुप्रै उपायहरुमध्ये भीडमा नजानेमात्र नभई ‘ठीक तरिकाले मास्क लगाउने उपाय’ पनि सुझाइ रहेका छन्।  

मास्कको महत्व निक्कै बढेको छ। मास्क लगाउनाले आफ्नो त स्वास्थ्य सुरक्षामा सहयोग गर्छ नै, आफू वरपरका व्यक्तिमा संक्रमण फैलन नदिनका लागि पनि यसले सहयोग गर्छ। यही कारण देशका कतिपय सहरमा ‘प्रहरीले नै मास्क खोइ?’ अभियान सुरु गरी मास्क लगाउन उत्साहित गरिरहेका छन्।

यसरी मास्क लगाउन प्रेरित गरिरहँदा राजधानीसँगै जोडिएको भक्तपुरको एक वडामा भने मास्क किन्ने ठाउँ नै नभएको स्वयम् स्वास्थ्यकर्मीहरु बताउँछन्।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.५ छालिङमा मास्क किन्ने ठाउँ नभएको सोही वडास्थित स्वास्थ्य चौकीका प्रमुख दिलकुमार सुवालले बताए। उनले अस्पतालहरुमा अहिले बहिरंग सेवा ठप्प भएपटिछ स्वास्थ्य चौकीमा आउने बिरामीहरुको संख्या बढेको बताउँदै बिरामीहरु विना मास्क उपचारका लागि आउने गरेको बताए।

‘उपचारका लागि आउनेहरु मास्क नै नलगाइ आउने गरेका छन्, कोरोनाको यस्तो महामारी छ, मास्क लगाएर आउन भन्छौं’ उनले भने, ‘तर, उनीहरु मास्क किन्ने ठाउँ नै नभएको बताउँछन्।’  

हुन पनि, स्वास्थ्य चौकी रहेको ठाउँ वरपर कुनै पसल छैन, जहाँ मास्क बेच्नका लागि राखिएको छ। मास्कविना आउँदाको असर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई मात्र नभएर सोही बाटो भएर आउने सबैलाई समस्या भएको स्वास्थ्य चौकी प्रमुख दुवाल बताउँछन्।

‘यही नजिकै वडा कार्यालय पनि छ, त्यहाँ पनि धेरै सेवाग्राहीहरु मास्क नै नलगाई आइरहेका हुन्छन्’ उनले भने। उनले मास्क विना उपचारका लागि आउने बिरामीलाई उपचार गर्ने कि नगर्ने ? भन्ने समस्या भएको बताउँदै मास्क नलगाई आउनेहरुलाई चौकीले मास्क पनि दिन नसकिने बताए।

‘हामीले दिन पनि हामीसँग पुग्दो मात्रामा छैन, कसरी दिने?’ उनको प्रश्न छ। उनले स्वास्थ्य चौकीबाट मास्क पाइने पसल पुग्न करिब २० मिनेटको बाटो हिँड्नुपर्ने अवस्था रहेको बताए।

उनले स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरुलाई मास्क वितरण गरी उपचार गर्न पाए सम्भावित जोखिम कम हुने र आफूहरु निर्धक्क उपचारका लागि तयार हुने बताए। अहिले सो स्वास्थ्य चौकीमा ५ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन्। दिनको सरदर ५६ जनालाई सेवा दिइरहेको चौकीले जनाएको छ।  

भक्तपुरमा निषेधाज्ञा भएसँगै अहिले भने बिरामीको चाप बढेको छ। बढ्दो बिरामीको चाप र मास्क नपाइने समस्यालाई नगरपालिकाले समाधान गर्ने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए।

‘मास्क लगाउन जरुरी छ, कोही बिरामी मास्कविना आउँछन् भने सकेसम्म मास्क लगाएर आउनू भन्नु, किन्न लगाउनू, हुँदै भएन भने मास्कका लागि नगरपालिकाले सहयोग गर्छ, तपाईंहरु निर्धक्क भएर काम गर्नूस्।’ नगरप्रमुख मिश्रले भने। उनले चाँगुनारायण भर्खरमात्र नगरपालिका भएका कारण कुनै कुनै ठाउँमा मास्क नपाइने समस्या हुनसक्ने बताए।

प्रकाशित: १७ वैशाख २०७८ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App