७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुर्खेतमा एक साताका लागि निषेधाज्ञा

कोभिड–१९ तीव्ररुपमा बढ्दै गएपछि सुर्खेतमा एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले १४ गते राति १२ बजेदेखि लागू हुने एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

विश्वव्यापी माहामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण छिमेकी जिल्ला बाँके, बर्दियालगायत यस जिल्लामा पनि तीव्ररूपमा बढ्दै गइरहेको अवस्थालाई गम्भिरतापूर्वक लिँदै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको १३ गते बसेको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै एक साताका लागि निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए। सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र आवश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गरिएको उनको भनाइ छ। ‘स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा जस्ता अत्यावश्यक सेवाहरू एवम् सार्वजनिक निर्माण कार्य र हवाइसेवा सञ्चालन गर्न पाइने छ,’ उनले भने, ‘एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरू (परिचय र पोसाक अनिवार्य हुनुपर्ने) सञ्चालन हुनेछन्।’  

साथै, मास्क, भौतिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु ( तरकारी, खाद्य, दूध, ग्याँस) का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस आदेशको अवेज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बामोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान बनेको छ। निषेधाज्ञा कडाइ गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। निषेधाज्ञापछि कोरोना भाइरस जोखिम कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App