७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हलेसी मन्दिर १५ दिन बन्द गर्ने निर्णय

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमबार बसेको बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तिर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिड–१९ को संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको हो । कोभिड–१९ कै महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिरलाई पुनः बन्द गर्न लागिएको हो । गत वर्ष कोरोना कहरका बीचमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।  

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसीको गुफा प्रवेशमा रोक लगाइएको यो दोश्रो पल्ट हो । कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द गरिएको थिएन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु बैसाख मसान्तसम्म बन्द गर्ने/गराउने निर्णय गरेको छ ।  

यस्तै, खोटाङका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने/गराउने निर्णय गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भेला जम्मा भएर गरिने सभा, सम्मेलन, गोष्ठी, मेमिनार, उद्घाटन, शिलान्यास, चियापान कार्यक्रम जस्ता राजनैतिक तथा अन्य क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको छ ।  

यस्तै, कार्यालय, पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलव्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय वा पसलमा प्रवेश गर्न नदिने निर्णय गरेको जनाइएको छ ।  

‘अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्था गर’  

कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी खोटाङका १० वटै स्थानीय तहलाई तत्काल अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न भनिएको छ । यस अनुसार नगरपालिकाले ३० बेडको र गाउँपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्नुपर्ने छ । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । स्थानीय तहले आवश्यकता अनुसार क्वारेन्टिन स्थल व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने, स्वास्थ्य सुरक्षाका सामग्रीहरुको आपुर्ती व्यवस्था मिलाई तयारी अवस्थामा रहने, भिटिएम तथा एन्टीजेन टेष्ट किटको स्टक व्यवस्थापन गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।  

यस्तै, स्थानीय तहले नाका वा सिमाना पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दूरी कायम गर्न जनचेतनामुलक कार्यक्रम र सन्देश प्रवाह गर्ने÷गराउने निर्णय गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रकाशित: १३ वैशाख २०७८ ०९:१५ सोमबार

कोभिड–१९ को दोश्रो लहर हलेसी मन्दिर