१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

घाँस दाउरा गर्छन् 'गाउँले मन्त्री'

आफ्नो घर इलामको देउमाई नगरपालिका–३ मंगलबारे आएका बेला वस्तुभाउलाई घाँस बोकेर आउँदै १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगर । तस्बिरः भीम/नागरिक

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम्लो बोकेर घाँस काट्न लागे । अलि पर बाटामुनिको काभ्राको रुखमा फुत्त चढे, घाँस झारे । नाम्लामै एक भारी घाँस बोकेर ल्याए, गाईलाई हालिदिए । 

 

सामान्यतः प्रत्येक किसानको हरबिहान यसरी नै बित्छ । तर, आइतबारको यो बिहानचाहिँ किसानको थिएन, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगरको थियो । र, उनले न यसरी कुनै कार्यक्रमको उद्घाटनमा ‘देखाउन’लाई घाँस काटेका थिए, न कुनै पशुको स्याहार अभिनय गर्न गोबर सोहोरेका । मन्त्रालय र दिनहुँका दर्जनौं औपचारिक कार्यक्रमबाट फुर्सद पाउनेबित्तिकै उनी प्रायः घर आइपुग्छन् र मन्त्री हुनुअघिकै लयमा फर्किन्छन् । घरमा रहेकी ८९ वर्षीया आमाको स्याहार गर्छन्, वस्तुभाउलाई घाँस काट्छन्, खोले दिन्छन्, गोबर सोहोर्छन्, कटेरामा दाउरा छछैन हेर्छन् र परिवारलाई अरू काममा सघाउँछन् ।  

शिलान्यास, उद्घााटन, पार्टी बैठक र अन्य महत्वपूर्ण कार्यक्रमका लागि जिल्ला आएका बेला पनि उनी सदरमुकाममा बास बस्दैनन् । घरमा रहेकी वृद्धाआमालाई भेट्न सदरमुकामभन्दा करिब १ घण्टा टाढा देउमाई नगरपालिका–३, मंगलबारे पुग्छन् । परिवारसँगै खान्छन् । र, जति दिन घर बस्न भ्याउँछन्, आफ्नो पुरानै कृषि कर्ममै लाग्छन् । ‘अस्तिको चोिट आउँदा इस्कुसलाई माच हाल्न भ्याइयो तर बाँस बोकेको काँध अझै दुख्दैछ,’ उनले हँस्यौलीमै सुनाए, ‘यो पल्ट चैं सदरमुकाममा पार्टीको बैठक भएकाले आजै फर्किनुपर्ने भो ।’ 

मिलनसार, मिजासिलो र प्रायः हँस्यौली–ठट्यौलीमा रमाइरहने मन्त्री मगरको सरल व्यवहारले उनलाई अहिले ‘गाउँले मन्त्री’का रूपमा चिनाएको छ । निकै अध्ययनशील र बौद्धिक नेता मानिने मगर बोलीचाली र व्यवहारमा निकै सरल छन् । जिल्लाको दूरदराज गाउँका सर्वसाधारणको घर–घरमै पुगेर साथीभाइसँग भलाकुसारी गर्न रुचाउने उनी सिर्जनात्मक शब्दसहितको हाँसोठट्टाले अरूलाई मोहित बनाउँछन् । ‘राम सर गाउँको ज्यादै सजिलो मान्छे हुनुहुन्छ,’ मन्त्रीलाई आफ्नो समस्या सुनाउन घरमै आइपुगेका स्थानीय मानबहादुर हमाल भन्छन्, ‘मैले २०४२ सालतिर चिन्दा उहाँ जति सरल हुनुहुन्थ्यो, अहिले पनि त्यस्तै लाग्छ । मन्त्रीलाई यसरी सजिलै भेट्न पाउनु हामीजस्ता सर्वसाधारणका लागि चानचुने कुरा होइन तर हाम्रा राम सरलाई भेट्दा चाहिँ मन्त्री भेटेजस्तो पनि लाग्दैन ।’  

आफूले कृषि क्षेत्रमा महत्वपूर्ण काम गर्ने जिम्मेवारी पाएको तर घर फर्केका बेलाचाहिँ आफू किसान हुँ भन्ने नबिर्सिएको मन्त्री राना बताउँछन् । ‘प्रत्येक चोटि आउँदा घरको आफ्नो जिम्मेवारी छाड्दिनँ,’ उनी भन्छन्, ‘जब मानिसले आफ्नो पृष्ठभूमि बिर्सिन्छ र जिम्मेवारी छाड्छ, उसको अधोगति सुरु हुने त्यहींबाट हो ।’ मगरले मन्त्री हुनुलाई कामको जिम्मेवारी थपिएको अनुभव गरेको तर मन्त्री हुँदैमा भ्याएका बेला पनि घरको काम छाडिहाल्नुपर्छ भन्नेचाहिँ आफूलाई नलाग्ने गरेको सुनाए । ‘काम कसैको सानो–ठूलो हुँदैन,’ उनले भने, ‘त्यसमा पनि कृषिकर्म भनेको निकै मेहनती मानिसले गर्ने हो, म किसान भएकाले किसानको सबैभन्दा बढी सम्मान गर्छु ।’  

मन्त्री मगरकी पत्नी झनीमाया पनि पतिले घर आएका बेला सबै काम सघाउने गरेको बताउँछिन् । ‘घर आइरहन त भ्याउनुहुन्न तर आएका बेलाचाहिँ अगाडि देखेका सबै काम सघाउनुहुन्छ,’ स्थानीय विद्यालयकी शिक्षिकासमेत रहेकी झनीमायाले भनिन्, ‘काममा सरल, मेहनती र लगनशील हुनुपर्छ भन्ने व्यावहारिक ज्ञान उहाँमा देखिन्छ ।’ मन्त्री मगरकी वृद्ध आमा रनमाया छोरासँग सन्तुष्ट छिन् । ‘पहिला पनि खासै घरमा बस्न त भ्याउँदैनथ्यो तर घरमा आएका बेलाचाहिँ कामको मेलो समातिहाल्थ्यो,’ उनले भनिन्, ‘कसैसँग नरिसाउने, नझर्किने र सबैलाई सहयोग गर्नुपर्छ भन्ने असल आचरणको भएरै मेरो छोरो मन्त्री भएको होला।’

मन्त्री मगर सामान्य कार्यक्रममा समेत गृहजिल्ला आइरहन्छन् । र, सर्वसाधारणसँग घुलमिल हुन्छन् । विपक्षी दलका नेता–कार्यकर्तासँग समेत हँस्यौली–ठट्यौली गरिरहेका देखिने मगरलाई आफ्नै मन्त्रालय, मन्त्रिमण्डल र संसद्मा समेत धेरैले सरल मन्त्रीका रूपमा लिन्छन् । ‘घरबाट विराटनगर पुग्नेबित्तिकै मन्त्रीज्यूलाई अरू मन्त्री र सांसदले समेत घरमा घाँस–दाउरा, मेलापात गरेर आइयो होला नि भन्दै ठट्टा गर्छन्,’ मगरकै मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘मन्त्रीहरूसँग त के तुलना गर्नु, यतिको सरल मान्छै नै दुनियाँमा थोरै होलान् जस्तो लाग्छ ।’  

एसएलसी पास गरेर २०३६ सालमा क्याम्पस पढ्न सदरमुकाम छिरेपछि रानाको राजनीतिक जीवन सुरु भएको हो । अनेरास्ववियुको जिल्ला अध्यक्षसमेत बनेका राना आन्दोलनमा सक्रिय भएकै कारण बैठकको माइन्युटसहित पक्राउ परी २०४० देखि ०४३ सालसम्म जेल बसे । जेलबाट छुटेर पढाइलाई निरन्तरता दिएसँगै पुनः विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी २०४४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको सभापति बने । र, अनेरास्ववियुको केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजक बने।

त्यसपछि पार्टी राजनीतिमा प्रवेश गरेका राना जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को जिल्ला अध्यक्ष छन् । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन मंगलबारे गाविसको अध्यक्षसमेत भएका मगरले गाउँमा ५० सेयर सदस्य रहेको निजी स्कुल खोलेका थिए । त्यति मात्र होइन, उनले २० जनाको सामूहिक लगानीमा चिया खेती गरेका थिए भने गाउँमा सहकारी गठन गरी धेरैभन्दा धेरै किसान आबद्ध गरेका थिए।

घरको आर्थिक अवस्था निम्न रहेका मगरले परिवारको बिहानबेलुकाको छाक टार्न बोर्डिङ स्कुल पढाए । उनले त्यहीबेला शान्तिडाँडाको एउटा सामुदायिक विद्यालयमा करिब २ वर्ष निःशुल्क पढाइदिएर सेवा गरेका थिए । ‘मलाई सामूहिक र सामाजिक काम गर्न तिनै स्कुल, सहकारी र चियाखेतीले सघाएका हुन्,’ मन्त्री रानामगर सम्झिन्छन्, ‘व्यक्तिगत लोभलालचमा लागेको भए निकै पैसा कमाइन्थ्यो हो, ठूलो आर्थिक प्रगति पनि हुन्थ्यो होला तर मेरो रहर त्यो थिएन र छैन पनि । म सधैं समूह र साथीभाइसँगै रमाउँछु, किसानको उन्नतिका लागि आफूले पाएको गहन जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।’

प्रकाशित: १३ वैशाख २०७८ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App