coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टेकु अस्पताल, चौधरी र खातुन नागरिक नायक

नेपाल रिपब्लिक मिडिया प्रालिको १३औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित एक समारोहबीच ‘नागरिक नायक’ सम्मान ग्रहणका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रतिनिधित्रय डा.सागर राजभण्डारी, डा.किजन महर्जन र उषा देवकोटा, मुस्कान खातुन र रवी

नेपाल रिपब्लिका मिडिया प्रालिको १३औं वार्षिकोत्सव मनाइएको छ। कोरोना कहरबीच शनिबार राजधानीमा सीमित व्यक्तिहरूको उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै वार्षिकोत्सव मनाइएको हो। वार्षिकोत्सवका अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई व्यक्ति तथा एक संस्थालाई ‘नागरिक नायक’ को सम्मान प्रदान गरिएको छ। 

प्रालिले कोरोना महामारीबीच संक्रमितको औषधोपचारमा महत्वपूर्ण र प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई नागरिक नायकबाट सम्मान गरेको हो। त्यस्तै अन्धोपन निवारणका लागि महत्वपूर्ण योगदान दिने रवीन्द्रलाल चौधरी तथा एसिड आक्रमणमा परेपछि पनि हिम्मत नहारी अपराधीलाई कडा कारबाहीको दायरामा ल्याउन कानुन निर्माणलगायत कार्यमा पहल गरिरहेकी किशोरी मुस्कान खातुनलाई नागरिक नायकबाट सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा टेकु अस्पतालका तर्फबाट त्यहाँका प्रमुख डा.सागर राजभण्डारी, डा.किजन महर्जन र आइसियु इन्चार्ज उषा देवकोटाले गत वर्ष नेपालमा कोरोना संक्रमणपछि उत्पन्न परिस्थिति र कोरोना संक्रमितको उपचारमा अस्पताल र स्वास्थ्यकर्मीले खेलेको भूमिकाबारे आफ्ना अनुभव साटेका थिए। 

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तरक्रियामा बोल्दै प्रमुख डा.राजभण्डारीले सुरुमा यो रोग नेपालमा आउला भन्ने नलागेको भए पनि दुई महिनाकै अवधिमा नेपालमा उक्त रोगको संक्रमण भित्रिएको र अस्पतालले संक्रमितहरूको व्यवस्थापन गरेको बताए। त्यस्तै डा.महर्जनले सुरुमा सामान्य लक्षण भएका बिरामी मात्र भर्ना भएकामा पछि गम्भीर अवस्थाका बिरामीहरू पनि आउन लागेको र अस्पताल तथा आइसियुसमेत भरिँदै जान थालेपछि स्वास्थ्यकर्मीहरूले पनि समस्या भोग्नुपरेको अनुभव सुनाए। त्यस्तै स्वास्थ्यकर्मी देवकोटाले सुरुमा कोरोनाका बिरामी अस्पताल नआउँदासम्म मनमा डर भए पनि पछि काम गर्दै जाँदा कोरोनाका बिरामीको उपचार गरिरहेका छौं भन्ने नै बिर्सिएर काम गरेको बताइन्। 

त्यस्तै नागरिक नायक तथा अन्धोपन निवारणका अथक यात्री चौधरीले सन् १९८१ मा अन्धोपनसम्बन्धी तथ्यांकले आफूलाई यो क्षेत्रमा काम गर्न घचघच्याएको बताए। रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेसँग अन्तरक्रिया गर्दै उनले अन्धोपनको समस्या भएकाहरूको उपचारपछि उनीहरूको मुहारमा आउने खुसीले आफूलाई थप काम गर्न हौसला मिल्ने गरेको बताए। ‘अन्धोपनको दुःख देख्न नसकेकाले आँखा अस्पताल सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरें,’ उनले भने। उनले सिरहाको लहानमा सगरमाथा चौधरी आँखा अस्पताल सञ्चालनका लागि २९ बिघा जग्गा तथा अन्य आर्थिक तथा महत्वपूर्ण सहयोग गर्दै आएका छन्।  

चौधरीले पैसाको अभावमा कोही अन्धो नबनून् भन्ने उद्देश्यसहित आर्थिक अवस्था कमजोर हुनेहरूको निःशुल्क उपचार गरिरहेको बताए। त्यस्तै सम्मान कार्यक्रममा नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेलसँगको अन्तरक्रियामा बोल्दै अर्की नागरिक नायक खातुनले एसिड आक्रमणमा परेर मुहारमा परेको दाग लुकाउँदा अपराधीलाई थप हौसला मिल्ने भएकाले तिनीहरूको जित हुन नदिन आफू मुस्कुराउन नछाडेको बताइन्। ‘सुरुमा निकै पीडा भएको थियो तर यो दाग लुकाउँदा अपराधीको जित हुन्छ भनेर मैले यो नलुकाई अघि बढ्ने हिम्मत गरेकी हुँ,’ एसिड आक्रमणका कारण अनुहारमा लागेको दागतर्फ संकेत गर्दै उनले भनिन्।

एसिड आक्रमणमा परेकाहरूको हौसला बुलन्द गर्ने तथा कानुन निर्माणलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै उनलाई यो वर्ष अमेरिकी सरकारका तर्फबाट दिइने ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्डबाट सम्मान गरिएको थियो। नागरिक नायक सम्मान हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एसिड आक्रमणविरुद्धको अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाइन्। नागरिक नायकबाट सम्मानित हुनेहरूलाई नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, ग्लोबल आइएमई बैंकका सिइओ रत्नराज बज्राचार्य र सिई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए। कम्पनीको वार्षिकोत्सव कार्यक्रममा रिपब्लिका डेभलपमेन्ट कन्क्लेभको पनि आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा युएनडिपीका नेपाल प्रतिनिधि आइसनी मेडागांगोडा–लाबे, युरोपियन युनियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेज र योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेले आफ्ना धारणा राखेका थिए। अर्थविद् डा.विश्व पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कम विकसित मुलुकको ऐतिहासिक पक्ष, नेपाल कम विकसित मुलुकहरूको अवस्था, विकासशील मुलुकमा स्तरोन्नति गर्न आवश्यक पर्ने सूचक र नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा ग्रेजुएटका लागि सिफारिस भएको विषयलगायत अन्य विविध विषयमा छलफल भएको थियो।

प्रकाशित: १२ वैशाख २०७८ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App