१ जेष्ठ २०७८ शनिबार
समाज

छुइगोठमुक्त अभियानमा जुटे जुम्ली महिला

कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्। उनीहरुले पहिलो चरणमा छुइगोठदेखि घरको एक सुरक्षित कोठामा बस्नु पर्नेमा जोड दिएका हुन्।  

अहिले पनि छुई हुँदा महिलाले गाईबस्तुसंग बस्नु पर्ने बाध्यता छ। जसले स्वास्थ्यमा नकरात्मक प्रभाव देखिनाले समस्या हुने गरेको छ, जुम्ला रारागाउँकी गोइली बुढाले भनिन्,‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्न सक्तैनौँ। घरको एक कोठा छुई भएको बेला बस्नको लागि तयारी गर्न परिवारलाई भनिराखेका छौँ। अब घरमै बस्छौँ। छुइगोठमुक्त अभियान सफल बनाउन कम्मर कसेर लागि परेका छौँ।  

जुम्लामा छुई हुँदा तीनदेखि ७ दिनसम्म बार्ने चलन छ। घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुने जस्ता भ्रम फैलाइन्छ। त्यो भ्रम अहिले पनि छर्न खोजिदैँछ। उनले भनिन्,‘छुई एक नियमित प्रक्रिया हो। फल लाग्नको लागि फुलेको फूल जस्तै हो। महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो। अब पनि गोठमा बस्नु अस्वीकार्य हुनेछ।’

तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मुलनका लागि महाअभियान थालिन्। अभियान नसकिँदै उनको सरुवा भएपछि छुइ प्रथा उन्मुलन महाअभियान अलपत्र अवस्थामा छ। गाउँमा गठन गरिएका द्रुत निश्क्रिय भएका छन्। अहिले गाउँमा महिलाले कमाण्ड लिन थालेका छन्। गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ। कहिले स्थानीय अगुवासंग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसंगको छलफललाई घनिभुत बनाउँदै लगेका हुन्।

छुइ प्रथा महिलालाई दबाउन गरिएको कार्य हो। यो कार्य अहिलेको समाज सुहाउँदो छैन। स्थानीय बाटु बुढाले भनिन्,‘अब सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ।’ पहिले उनको गाउँको हरेक गोठमा आगो बलेको देखिन्थ्यो, तर अहिले छुइगोठमुक्त अभियान नै चलेपछि अधिकांस महिला घरभित्रको एक कोठामै बस्न थालेका छन्।

महिला नेतृ नारायणी चौलागाइँ छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको बताउँछिन्। उनले भनिन्,‘छुइ प्रथा अभिशाप हो। समाजमा विकृतिका रुपमा जरा गाडेको छ। तर पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन्।’

छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको संक्रमण हुने खतरा छ। मानिसबाट पनि डराउनु पर्ने अवस्था छ, उनले भनिन्,‘पहिलो जमर्को भनेको गोठदेखि घरसम्म लैजाने भन्ने हो। त्यसपछि अरु प्रक्रिया पनि क्रमशः सुरु हुँदै जानेछन्।’

अहिले गाउँमा छुई मुक्त गोठ निर्माणका लागि मास बैठक भइरहेका छन्। महिलाहरु विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन्। जुम्ला तिला गाउँपालिकाको एकदेखि नौ वडासम्म मास बैठक भइरहेको छ। उपाध्यक्ष बिष्णु बुढा परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर फ्याक्नु पर्ने बताउँछिन्। उनले भनिन्,‘पहिलो चोटी गोठदेखि घर ल्याउन चाहान्छौँ। घरमा आइसकेपछि सबै कुरा हल हुनेछन्।’

उनले धामीझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरी सबै संग छलफल गरिरहेको बताइन्। पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त बनाउने अभियान सुरु भइसकेको उपाध्यक्ष बुढाले बताइन्। सर्बोदय नेपालसंगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासंग छुइ गोठ मुक्त गर्ने सवालमा छलफल चलाइरहेको छ।  

यो अभियान जिल्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा चलाउनु पर्ने आवश्यक छ। छुइगोठमुक्त अभियान सञ्चालन हुँदा यहाँका संरचना बाधक बनेका छन्। अधिकांस घर दुई कोठाका मात्र छ। एउटा भान्सा एउटा सुत्ने कोठा। अब बन्ने संरचना अनिवार्य चार कोठाको हुनु पर्ने उपाध्यक्ष बुढा तर्क गर्छिन्। उनले थपिन्,‘अहिले छुइ हुँदा गोठ बस्न लगाउने बाधक तत्वको पहिचान हुँदैछ। आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसंग जुध्न सक्ने संरचना निर्माणमा जोड दिनेछौँ।’

प्रकाशित: ९ वैशाख २०७८ १८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?