९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खोइ नागरिक दायित्व ?

सुर्खेतस्थित बुलबुले तालमा सावधानी नअपनाएर आएका आन्तरिक पर्यटक । तस्बिरः गणेश/नागरिक

कोभिड–१९ को संक्रमणको दर बढ्दै गएका पश्चिमी सहर नेपालगन्ज, वीरेन्द्रनगर, दाङ, बुटवल, धनगढीमा सर्वसाधारणको बाक्लो चहलपहल छ । सुनसान बनेका यी सहर कोरोना भाइरसको पहिलो चरण सामान्य बनेपछि ह्वात्तै चहलपहल बढेको थियो । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि यी सहरको चहलपहलमा कमी देखिँदैन । कोरोना भाइरसबाट बच्न असुरक्षितरुपले बढेको यो भीडले कोरोना भाइरस न्यूनीकरणमा चुनौती मात्र दिएको छैन, यस्तो संकटमा नागरिकको भूमिका के त ? भन्ने प्रश्न पनि खडा गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गर्न उनै नागरिक आफ्नो दायित्व निर्वाह गर्न नसकेका यत्रतत्र छरिएको भीडले प्रष्ट पार्छ । संक्रमण फैलिन नदिन सर्वप्रथम आफैँ सजग हुन अपरिहार्य छ तर सरकारलाई दोसारोपन देखाएर आफूले आफ्नो दायित्व भुल्दा कोरोना भाइरस जोखिम बढेको छ । कोरोना भाइरसको संकटमा आफू सजग रहने र सरकारलाई सुरक्षित रहेर सहयोग पुर्‍याउन नागरिक आफ्नो दायित्व निर्वाह गर्न नसकेको सुर्खेतका अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए । ‘यतिबेला नागरिक आफैँ सजग हुनुपर्छ,’ उनले भने, ‘सरकारले जागरुक मात्र गराउने हो । सरकारले बनाएको मापदण्ड नागरिकले नै पालना गर्नुपर्छ ।’ वीरेन्द्रनगरमा सरकारले निर्धारण गराएका मापदण्ड नागरिकले पूर्णरुपले पालना नगरेको उनी बताउँछन् ।

दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग, सार्वजनिक ठाउँमा मास्क प्रयोग गर्नुपर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानीलगायत सरकारले मापदण्ड निर्धारण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट पश्चिमका कैलाली, सुर्खेत, बाँके, दाङ र रुपन्देहीमा कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र बनेका छन् । यी जिल्लाका नागरिक कोरोना भाइरसबाट बच्न सजग हुनुपर्ने नेपालगन्जकी मुन्नीदेवी बानियाँले बताइन् । ‘यस्तो संकटमा नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भनिन्, ‘जसले गर्दा आफू पनि सुरक्षित भइन्छ भने सरकारलाई पनि सहयोग गरेको हुन्छ ।’ भीडभाड र सार्वजनिकस्थलमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएकाले आफ्नो र अरुको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनले पनि मात्र कोरोना भाइरसबाट बच्न सकिने सुर्खेतकी धनसरी दर्लामीले जनाइन् । ‘कोरोना भाइरसलाई सामान्यरुपमा नलिइ यसबाट बच्नुपर्छ,’ उनले भनिन्, ‘आफू बच्न र अरुलाई बचाउन अत्यावश्यक कामबाहेक अरुबेला बाहिर निस्किनु हुन्न । निस्के पनि मापदण्ड अपनाउन आवश्यक छ ।’ अहिले सहर बजारमा सपिङ मल, रेष्टुरेन्ट, स्विमिङ पनि खुला छन् । गर्मीको मौसम बढ्दै गएकाले स्विमिङ रोजाइमा पर्न थालेको छ । तर त्यहाँ सावधानी नअपनाइँदा जोखिम धेरै छ । यस्तोबेलामा स्विमिङ गर्न नहुने सुर्खेतकी रत्नकला सापकोटाले जनाइन् ।

‘यतिबेला नागरिकको भूमिका महत्वपूर्ण हुनुपर्छ,’ उनले भनिन्, ‘सचेत नागरिकको हिसाबले अनावश्यक घरभन्दा बाहिर ननिस्किँदा मात्र नागरिक दायित्व हुन्छ ।’ सबै नागरिकले आफ्नो दायित्व पूरा गरे कोरोना भाइरस संक्रमण न्यूनीकरण हुने भन्दै उनले भनिन्, ‘सरकारी मापदण्ड पूरा गरेर नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’ जसले गर्दा धनजन र ज्यान बच्न सक्ने उनी बताउँछिन् । खोक्दा/हाछ्युँ गर्दा नाक र मुख छोप्ने, पशुजन्य मासु/अण्डा राम्रोसँग पाकेको मात्र खाने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने र फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढै रहे पनि कोरोना भाइरसबाट बच्न सकिने स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

बजारमा हिँड्दा, किनमेल गर्दा र भीडभाडमा समेत नागरिकले मापदण्ड पूरा नगरेको देखिन्छ । जसले यतिबेला नागरिक आफ्नो दायित्व निर्वाह गर्न सकेको पाइँदैन । अत्यावश्यक कामबाहेक अरुबेला घरमै बस्दिँदा पनि कोरोना संक्रमण नफैलिन सहयोग पुग्ने हुँदा नागरिक अनावश्यक घरबार निस्किन नहुने स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत कँडेलले जनाए । कोरोना भाइरसलाई बेवास्ता गर्दै चोकचौतारा, पार्कलगायत नजिकका घुम्ने क्षेत्रमा भीड गर्न नहुने उनको सुझाव छ ।

प्रकाशित: ३ वैशाख २०७८ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App