६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिँजाका युवाले बनाए सोलारबाट चल्ने गाडी

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।

गाउँमै युवाले गाडी बनाएर गुडाईदिएपछि स्थानीय चकित भएका छन्। दुवै जना सानैदेखि नयाँ प्रविधिसंग खेल्न रुचि राख्थे। तर घरपरिवारले त्यो क्षेत्रमा लाग्न दिएका थिएनन्। गत कार्तिकदेखि गाडी बनाउने योजना बनाएका दुई युवाले फागुन महिनादेखि गाडी बनाउन थालेका थिए।  

पुजीँको अभाव थियो। गाडी बनाउनको लागि साधनस्रोत खरिद गर्न सकिने अवस्था थिएन, प्रशान्त वडका दाजु रतन वडले भने,‘कालापहाड गएर रुपैयाँ कमाएर आएपछि गाडी बनाउन सुरु गरेका थिए। बनाएर छाडे।’  

घरपरिवारले गाडी बनाउने प्रस्ताव लैजाँदा वाहियात भनेका थिए। गाउँमा बस्ने केटाले गाडी बनाउलान् भन्ने आश थिएन। तर एक्कासी सडकमा ल्याएर गुडाउन थालेपछि मात्र विश्वास लाग्यो। उनले भने,‘साधनस्रोत र व्यवहारिक ज्ञान प्रदान गर्न सकेको खण्डमा खासै टाढाको विषय रहेनछ।’

पहिलो दिन एक किलोमिटरसम्म गाडी गुडाए। सिँजा क्षेत्रभरी चर्चा चल्यो। अर्को दिन गाउँपालिका अध्यक्षसहितको जनप्रतिनिधिको टोली बोलाएर औपचारिक रुपमा उद्घाटन गरे। त्यो दिन एक सय मिटरसम्म गाडी गुडाए। उनीहरुलाई गाउँलले सम्मान गरे।  

केही सामान भारतबाट ल्याएका उनीहरुले सामान्य मेसिन र वल्डिङ गर्ने मेसिन नजिकैको हार्डवयरबाट खरिद गरेका थिए। यो गाडी डिजेल र पेट्रोलबाट चल्दैन। प्रशान्तले भने,‘सोलार सिस्टमले काम गर्छ।’ अहिले सम्मको जम्मा खर्च ७० हजार रुपैयाँ पुगेको छ। भर्खर सडकमा हिड्नेसम्म बनायौँ,उनले भने,‘आवश्यक फिनिसिङ गर्न बाँकी छ। आर्थिक अभावका कारण अघि बढ्न सकिएको अवस्था छैन। कसैले साथ दिएको खण्डमा जुम्लामै गाडी बनाउन सकिन्छ।’

सिँजा गाउँपालिकाका प्रवक्ता वडा नं. २ का अध्यक्ष नविनकुमार शर्मा कर्णालीमै पहिलो पटक गाडी बनाएर सडकमा गुडाउनु निकै ठूलो उपलब्धि भएको बताउँछन्।  

गाडी बनाउन सुरु गर्दा कसैले सम्भव देखेका थिएनन्। तर प्रत्यक्ष सडकमा गाडी गुडेपछि चकित नै भए। उनले भने,‘गाउँमै गाडी बनाएपछि गाउँपालिकाको पहिचान बदलिएको छ। युवाहरुको यो काम प्रशंसनीय छ।’

रतन वडले भने,‘असम्भव मानेका थियौँ। अन्य काम गर गाडी बनाउन नलाग। अनावश्यक समय खर्च नगर भनेर परिवारले सुझाव दियौँ। उनीहरुले गाडी बनाएर देखाउने बचन दिए। अन्त्यमा सडकमा पनि गुडेको देखाएर छाडे। आवश्यक ज्ञान सीप नलिइकन गाडी बनाउनु कम चुनौति थिएन।’ घरपरिवारले दिउँसो घरायसी काम गर्न लगाउँथे। विहान बेलुकाको समयमा गाडी तयार बनाइ छाडे।

प्रशान्त एसएलसी पढेर छाडेका हुन्। अज अहिले जेटिए पढ्दैछन्। तर जे विषय पढेपनि गाडी बनाइछाडे। प्रशान्त सानैदेखि बिग्रिएका घडि, रेडियो, मोवाइल बनाउँथे। एक पटक उनले रिमोटबाट खोल्ने ढोका बनाए। उनको ढोकामा ताला झुण्ड्याउनु पर्थेन। उनले मोवाइलमा पासवर्डबाट ढोका खोल्ने प्रविधिको विकास गरे। आफ्नो घरको लागि मात्रै हावाबाट विजुली उत्पादन गरे। फलस्वरुप उनीहरुले प्रशान्त र अज नामको गाडी निर्माण गरेर चलाउन थालेका छन्।  

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाउँमै साधनस्रोतको अभावका बीच गाडी बनाएर गुडाउन सक्नु निकै चुनौतिपूर्ण कार्य भएको बताउँछन्। उनले भने,‘गाउँका युवा पनि गाडी बनाएर सडकमा गुडाउन सक्ने हैसियत राख्छन् भन्ने सन्देश सिँजाले दिएको छ। यी युवाहरुलाई आवश्यक पर्ने तालिम दिन गाउँपालिका तयार छ। आवश्यक स्रोत साधनको जुगाड समेत गरिदिन्छौँ। गाडीको बोडीमा काठ र प्लाइउडको प्रयोग गरिएको छ।

प्रकाशित: ३ वैशाख २०७८ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App