४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एक वृद्धाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा बुधबार बिहान टिप्परको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।  

बिहानको घुमघाममा निस्किएकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिप्परले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। टिप्परको ठक्करबाट घाइते वृद्धाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।  

स्थानीयले घटनाको विरोध गर्दै एक घण्टा जति सडक अवरुद्ध पारेका थिए। पूर्वतर्फ गइरहेको टिप्परले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको र गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर नोबेल अस्पतालमा मृत्यु भएको एसपी खड्काले बताए।  

प्रहरीले टिप्पर र मोरङको उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय चालक चूडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ। स्थानीयले टिप्पर आतंक रोक्नुपर्ने, कम गतिमा टिप्पर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्नेलगायत माग राख्दै सडक अवरुद्ध पारेका थिए। प्रहरी र आन्दोलनरत पक्षबीच चालकलाई कानुनबमोजिम कारबाही, टिप्पर सञ्चालनमा कडाइलगायत विषयमा सहमति भएपछि सडक अवरुद्ध हटेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App