८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

'सिस्नु दलेर' शुभकामना !

डोटीको बडिकेदार गाउँपालिका खडेउलीमा विषु पर्वका अवसरमा सिस्नु दलेर शुभकामना बाँड्दै स्थानीय युवती। तस्बिर सौजन्य : प्रतीक्षा धामी

अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले। तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ। यहाँ एक अर्कोबीच सिस्नु दलेर शुभकामना आदान प्रदान गरिँदैछ। सुदूरपश्चिममा नयाँ वर्षको दिन ‘विषु पर्व’ भन्दै एकअर्काबीच सिस्नु लगााएर शुभकामना साटासाट गरिँदैछ।

गएको वर्षको पाप र खेतबारीमा काम गर्दा लागेका विषहरू नष्ट गर्न एक आपसमा सिस्नुको हाँगाले छ्याप्दै विषु पर्व (नयाँ वर्ष) मनाउने गरिन्छ। काम गर्दाका समयमा लागेका विष विषु पर्वका दिन सिस्नुले छ्यापेमा नष्ट हुन्छ भन्ने धारणा सुदूरपश्चिममा रहेको छ। शरीरमा सिस्नु लाग्दा विभिन्न रोग समेत नष्ट हुने डोटी वायलकी सम्झना जोशी बताउँछिन्। ‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ,’ उनले भनिन्, सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने उनी बताउँछन्। नयाँ वर्षमा सिस्नु लगाएमा शरीरमा लागेको विष नष्ट हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भनिन्,‘पुर्खौदेखिको संस्कृति भएकाले हामी पनि सिस्नु लगाउन एकअर्काबीच प्रतिस्पर्धा गर्छौ।’ विषु पर्वकै दिन डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा डेउडा खेल्ने तथा विभिन्न ठाउँ तथा परिवेश अनुसार फरक–फरक खेल, पूजाआजा गरिने भए पनि सिस्नु दलेर शुभकामना दिने प्रचलन भने सबै ठाउँको एउटै छ।  

विषु पर्वका दिन सिस्नु नलगाए  पनि सबैले सिस्नुको हाँगासम्म छुनुपर्ने मान्यता छ। विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ। ‘विषु पर्वका दिन सिस्नु लगाएमा सिस्नुको जस्तै ऊर्जा वर्ष भरिनै मिल्ने विश्वास पनि रहेको छ,’ अछामकी सञ्चारकर्मी पवित्रा खड्का बताउँछिन्। उनले भनिन्,‘अछाममा देवर भाउजू, साली भेना बीच सिस्नु चिलाउने खेलिन्छ।’ उनी भन्छिन्,‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ।’ सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने जनविश्वास रही आएको उनले बताइन्। विशेषगरि देवर भाउजू र साली–भेनाले रमाइलो गर्दै सिस्नु खेल्ने गर्छन्।  

विषु पर्वको दिन डोटीको दिपायल, मान्नाकापडी, घाङल, बर्छैन, लानाकेदारेश्वर, वायललगायतका क्षेत्रमा डेउडा खेलिनुका साथै स्थानीय परिवेश अनुसारका खेलहरु खेलिन थालिएको छ। विषु पर्वका दिन बिहानबाट खेलिएको डेउडा रातभर खेलेर दोस्रो दिन समापन गर्ने गरिन्छ। विषु पर्वकै दिन गोठालाहरूले सिस्नुपानी खेल्नुका साथै लठ्ठीको पूजा समेत गर्छन्। सिस्नु खेलीसकेपछि गोठालाहरूले बेलुकीपख लठ्ठीको पूजा गर्न जंगलमा जाने गर्छन्। ‘आ–आफ्ना लागि राम्रो लठ्ठी काटी जंगलमा लगेर पूजा गर्ने गर्छन्,’ डोटीको दिपायलका गणेश साउँदले भने, ‘यसरी लठ्ठीको पूजा गरेमा गाईगोरुलाई रोग व्याधिले नछुने र बाघले समेत नखाने भन्ने जनविश्वास छ।’ यस्तै पुरुषहरुले बेलुकीपख बाघ–बिरालो खेल खेल्ने गर्छन्। बाघ र बिरालोको लडाइँ गर्ने र रमाइलो गर्ने गरिन्छ भने कहीँ कतै बालबालिकाले पनि बाघ खेल खेल्ने गर्छन्।  

सुदूरपश्चिममा विषु पर्वका दिन प्रायःका घरमा बाबर (सेलरोटी), निसौसे रोटी (चामल र चिनी मिलाएर बनाएको विशेष प्रकारको रोटी), फाउने माणालगायतका परिकार पाक्ने गर्छ। यही दिन स्थानीय परिकार पकाएर छरछिमेकमा बाँडीचुँडी खाने गर्छन्। सम्बन्ध बिग्रेकाहरु पनि यही दिन आफ्नो घरमा पाकेको मीठो मसिनो खानेकुरा छरछिमेकमा बाँडेर सम्बन्ध सुदृढ गर्ने गरिन्छ। नयाँ वर्षलाई सुदूरपश्चिममा मित्रताको पर्वका रुपमा पनि लिइने गरिन्छ।

प्रकाशित: १ वैशाख २०७८ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App