६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ वर्षमा पोखराः मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरो

पोखरामा नयाँ वर्षका अवसरमा बुधबार घुम्न आउनेको भीडभाड । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहरको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, पर्यटकीय सहर पोखरा नेपाली नयाँ वर्षमा मस्त रमाएको छ । मानौ, पोखरामा कोरोनाको त्रास शुन्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ ।  

नयाँ वर्षको अघिल्लो बेलुकी पर्यटकीय क्षेत्र लेकसाइड खचाखच थियो । बुधबार बिहान लेकसाइडमा हिडडुल गर्न पनि मुस्किल थियो । गाडीको चाँप बढ्दा सवारी चलाउन पनि सकस थियो । लेकसाइड प्रवेशको नाका सहीदचोकबाट लेकसाइड हुँदै हल्लनचोक निस्कँदा निकै नै जाम खेप्नुपर्ने अवस्था थियो । बाटोमा सर्वसाधारण बिन्दास तरिकाले हिडिरहेका थिए । समुहमा हिडडुल उत्तिकै थियो । गाडीमा भीडभाड उस्तै थियो । मन्दिर दर्शन गर्ने, तालमा डुंगा सयर गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्थ्यो । बुधबार दिनभरजसो लेकसाइड क्षेत्रमा भीडभाड थियो ।  

पोखराकै स्थानीय पनि मंगलबार बेलुकी रमाउन लेकसाइड झरेका थिए । ती बाहेक बाहिरबाट भित्रिएका पाहुना र उनीहरु सवार सवारीको लामले पनि उत्तिकै भीड बढाएको थियो । आन्तरिक पाहुनाको भीडभाडले पोखरा नै ‘कोरोना फ्रि’ जस्तै देखिन्थ्यो । नयाँवर्षको यो अवसर बाहेक अरुबेला पनि यहाँ खासै सचेतना अपनाइएको छैन । बजार, यातायात पहिलेकै आकारमा संचालनमा छन् । बाटोको भीडभाड पहिले जस्तै छ । बुधबारको भीडभाड त यस्तो थियो की पोखरामा कोरोनाको कुनै संक्रमित छैनन । कसैको मुखमा मास्क पनि थिएन, अनि भौतिक दूरी पालना त झनै कसैले पालना गरेको देखिदैनथ्यो । डुंगा सयर गर्न पालो कुर्नेको तछामछाड नै थियो ।

सरकारले कोरोनाको दोश्रो लहर झनै तिब्रगतिमा बढिरहेकोले सचेत हुन आग्रह गरेपनि सर्वसाधारणले भने बेवास्ता गरिरहेको स्वास्थ्यकर्मी नै बताउँछन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा भन्छन्, ‘भारतमा महामारी छ, संसारकै जोखिमयुक्त सहर भारतसँगको खुला सिमासँग हामी छौ । त्यसैले यहाँ जोखिम उत्तिकै छ । तर, पुरै वेवास्ता गरिएको छ ।’ भारतीय बोर्डर सुरक्षित नहुँदाको यथार्थ अहिले पोखरा सहितका सहरले भोग्नुपरेको उनले बताए ।  

‘धेरै महिनादेखि लकडाउनमा बसेको बेला चुलो बाल्नु पर्दा सरकारले यसअघि खुकुलो बनायो, त्यो आफैमा आवश्यक थियो । तर, जनमानसले कोरोना सकिएको छ भन्ने बुझेका छन्,’ शर्माले भने, ‘कोरोना भाइरस संक्रमण पटक्कै छैन भन्ने मानसिकता बीचमा खोपले पनि बिगार्‍यो । खोप लगाउनासाथ सुरक्षित भइन्छ भन्ने सन्देश फैलियो । तर, चालचलनको हिसाबले जोखिममा छौ ।’ भौगोलिक हिसाबले पनि जोखिममा रहेको भन्ने सर्वसाधारणले भुलेको उनले बताए ।

सर्वसाधारणले लकडाउन अवधिमा कडाईका साथ घरभित्र बसेर सहयोग गरेको भएपनि त्यो बेला गुम्सिएको अवस्थाको परिणाम अहिले खुलापन बढेको उनले बताए । ‘नयाँवर्षको यो भीडभाडको परिणाम केही समयमा देखिन्छ । बाक्लो आउजाउले जोखिम बढाएको छ । तर, नागरिक पटक्कै सचेत छैनन,’ उनले भने । घुम्न आएका पाहुना पनि उस्तै ढुक्क देखिन्थे । ‘लामो समय कोरोनाका कारण घुम्न नपाएकोले अहिले मौका सदूपयोग गरेका हौ,’ काठमाडौंबाट आएकी दिपा शर्माले भनिन, ‘पोखरामा त उत्तिसारो संक्रमण छैन भनेर मास्क पनि लगाइएन । तर, सकेसम्म भीडभाडमा नजाने प्रयास भने गरेका हौ । तर, कतिपय अवस्थामा सम्भव भएन ।’

कोरोना त्रासका कारण लामो समय ठप्प भएको पर्यटन क्षेत्र नेपाली नयाँवर्षको यो अवसरमा सास फेर्ने सघाउने गरि पाहुना भेट्दा कोरोना बिर्से झै भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘कोरोना त्रासले व्यवसायी थलिएका थिए । तर, यो बेला पाहुना पाउँदा व्यवसायीलाई सास फेर्न केही सहज भएको छ । कोरोनाको त्रास भन्दा पनि व्यवसायको चेपुवामा रहेका व्यवसायी पाहुनाको आगमनले राहत महसुस गरेका छन् ।’

बरालका अनुसार नयाँवर्षका अवसरमा भित्रिएका आन्तरिक पाहुनाका कारण होटल र रेस्टुरेन्टमा केही चहलपहल बढेको छ । तर, यो चहलपहल क्षणिक हुने उनको अनुमान छ । ‘व्यवसायका हिसाबले राम्रो हो, तर संक्रमणको अवस्थामा यो डर लाग्दो क्षण पनि हो,’ बराल भन्छन, ‘स्वास्थ्य प्रोटोकल पनि उत्तिसारो मानिएको छैन । सबैतिर भीडभाड उस्तै छ । व्यवसायलाई राहत दिएको छ, तर, स्वास्थ्य चुनौती थप्ने त्रास भएको छ ।’ पाहुनाले पनि न मुखमा मास्क लगाएका छन, न भौतिक दूरी नै कायम गरेको उनले सुनाए ।  

पाहुना आएपछि सेवा पनि दिन कर लागेको बराल बताउँछन् । ‘पाहुनालाई हिडडुल गर्नै नपाउने गरि सरकारले नै कडाई गर्न सकेको भए यो अवस्था आउने थिएन । तर व्यवसायी बाच्नुपर्ने अवस्थामा थिए,’ उनले भने, ‘त्यसैले व्यवसायीले पनि खुलखमुला सेवा दिएका छन् । सधैं व्यवसाय बन्द गरेर मात्र भएन । सबै क्षेत्र खुल्दा पर्यटन क्षेत्र मात्र बन्द गर्ने भन्ने कुरा रहेन ।’ नियमनकारी निकायले केही कडाई गरेको भए हेलचेक्रयाँइ कम हुने उनको आँकलन छ । ‘कि त सरकारले निकै नै कडाई गर्नुपर्दथ्यो । नत्र पाहुनालाई घुम्न आउ भनेर बोलाउने, अनि आएका मान्छेलाई सेवा नदिन पनि भएन,’ बरालले भने, ‘संक्रमणको त्रास बढेको छ । सबैतिरका मान्छे यो बेला पोखरा आउँदा जोखिम थपेको छ । तर, सचेत हुनुपर्छ ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि लेकसाइडमा नयाँवर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपेपनि कोरोनाको जोखिम पनि बढेको बताउँछन् । ‘सबै क्षेत्र र सबैतिरका मान्छे पोखरा आएका छन् । उनीहरुले मास्क पनि लगाएका छैनन,’ भट्टराइले भने, ‘मन्दिर, पार्क, रेस्टुरेन्ट्मा उस्तै भीडभाड छ ।’ अहिले कोरोनाको जोखिम बढ्दै गएको भएपनि आएका पाहुनालाई सेवा दिएर व्यवसायी बाच्ने प्रयासमा लागेको उनले बताए । ‘व्यवसायी पनि बाच्नै पर्‍यो । अब पनि व्यवसाय बन्द गर्नुपरेमा नै सधैका लागि व्यवसाय बन्द हुन्छ,’ उनले भने, ‘तर सचेत भने हुनैपर्छ ।’

प्रकाशित: १ वैशाख २०७८ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App