२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

वीर अस्पतालका ५० अस्थायी कर्मचारी दशैंभत्ताबाट वञ्चित

वीर अस्पतालका फार्मेसी, प्रयोगशाला र डेन्टल विभागमा कार्यरत ५० जना अस्थायी कर्मचारीले दशैंभत्ता नपाएको गुनासो गरेका छन् ।

सरकारले करारका कर्मचारीलाई दशैंभत्ता दिने निर्णय गरे पनि अस्पताल प्रशासनले अन्तिम दिनसम्म भत्ता उपलब्ध नगराएको उनीहरूको भनाइ छ । भत्ता नपाएपछि कर्मचारी बिहीबार अस्पताल प्रशासन पुगेका थिए ।

अस्पतालका फार्मासिस्ट राजु केसीले प्रशासनका कर्मचारी दशैंबिदामा गइसकेकाले आफूहरू समस्यामा परेको बताए । अन्तिम दिनसम्म भत्ता पाउने आशा गरे पनि प्रशासनका कर्मचारी बिदामा गइसकेको उनले बताए ।

अन्य अस्थायी कर्मचारीले भने दशैंभत्ता पाइसकेको अवस्थामा आफूहरूलाई मात्र बेवास्ता गरिएको उनीहरूको गुनासो छ ।

‘मन्त्रालयले दशैंभत्ता दिन भनेर निर्देशन दिइसकेको छ, प्रशासनले दिएन,’ फार्मासिस्ट सुमित गुरुङले भने ।

फार्मेसीका कर्मचारीले सेवा सुविधाका विषयमा समेत आफूहरूमाथि विभेद हुने गरेको आरोप लगाएका छन् । छ वर्षदेखि अस्पतालमा सेवा गर्दै आए पनि अन्य कर्मचारीसरह सुविधा नपाएको गुरुङले बताए ।

फार्मेसी निर्देशिका, २०७२ ले अन्य कर्मचारीसरह सेवा सुविधा दिनुपर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको उनको भनाइ छ ।

प्रकाशित: ३० आश्विन २०८३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App