२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बेपत्ताको शव खोज्न आउने ५० प्रतिशत घटे, शव पहिचानमा डिएनए परिक्षण प्रक्रियातिर आफन्त

एक साताअघिसम्म टिचिङ अस्पतालको फरेन्सिक विभागमा आफन्त खोज्न आउनेको भीड नै लाग्थ्यो।

त्यसको एक सातापछि भने खोज्न आउनेहरुको संख्या ५० प्रतिशत कम हुन थालेको शव व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीले जनाएका छन्। खोज्दा पनि कम भेटिने गरेको र पछिल्ला दिनहरुमा पहिले भन्दा ५० प्रतिशत भन्दा कम भएको टिचिङ अस्पतालको  फरेन्सिक विभागमा खटिएका  प्रहरी उपरिक्षक प्रदिप सिंहले जानकारी दिए।  

फरेन्सिक विभागको हातामा वेपत्ताको शव हेर्ने आफन्त देखिएनन् भने बाहिर राखिएका शव हेर्ने पनि एकाध मात्र भेटिए। बुधवार पनि थप शव आएको र शव व्यवस्थापन पुरै नभएसम्म फरेन्सिक विभागमा  शव पहिचान र व्यवस्थापनको कार्य जारी हुने विभागका शव व्यवथापनका संयोजक तथा प्रहरी हेडक्वाटरका डिआइजी ओम बहादुर रानाले बताए। उनको अनुसार पछिल्लो समय शव पुरै गलेको र नष्ट भएको अवस्थाको मात्र रहकोले आफन्त डिएनए परिक्षणको प्रक्रियातिर जाने गरेकोले शरिरको शवको खोजीमा कम आउन थालेको उनले बताए। शरिर गलेको छ, अनुहार पुरै नष्ट भएको शव चिन्न सक्ने स्थिति नै छैन उनले भने।  

शव सामान्य रुपमा पहिचान हुन नसकेपछि धेरैले सामुहिक रुपमा कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेको जानकारीमा आएको प्रहरीले बताए। जताततै खोज्दा शव नभेटिएपछि रसुवाबाट बेपत्ता भएका सोलखुम्बका ७ जनाको कुशको शव बनाएर सामुहिक अन्त्येष्टि गरेको टिचिङमा भेटिएकी एक महिलाले बताइन्।

खोज्दा पनि शब नभेटिने र भेटिएपनि पहिचान हुन नसक्ने अवस्थामा शव रहेकोले खोज्न आउनेहरुको संख्या हवात्तै घटेको उपरिक्षक सिंहले बताए। खोज्दा पनि आफन्त नभेटिएपछि आउन छोडेको देखिन्छ उनले भने। पछिल्लो समय भेटिएका ६० वटा शव नुवाकोटमै डिएनए नमूना निकालेर व्यवस्थापन गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए। प्रहरीको अनुसार पछिल्लो समय शव कुनै पनि पहिचान हुने अवस्थाका नभएपछि सम्बन्धित जिल्लामै डिएनए नमुना संकलन गरेर व्यवस्थापन गरिएको छ। नुवाकोट, धादिङ, चितवन, रसुवा, काठमाडौ सवै जिल्लामा डिएनए नमूना लिएरै शव व्यवस्थापन भइरहेका छन्।  

बुधवार सम्ममा टिचिङमा कुल २ सय ९८ वटा शव प्राप्त भएकोमा २ सय ३१ को व्यवस्थापन भइसकेको छ। पहिचान भएका २४ वटा शव सनाखत भएका छन्। कुल शव मध्येमा २ सय ९४ वटाको पोष्टमार्टम भएको छ भने हाल ५५ वटा शव टिचिङ अस्पतालमा राखिएको छ। मंगलवार थप पाँच वटा शव नुवाकोबाट टिचिङमा ल्याइएको हो।  

नेपाल प्रहरीले बुधवार सार्वजनिक गरेको तथ्याकं अनुसार हालसम्म ४ हजार ७७ जना वेपत्ता भएका छन् भने १ हजार ३ सय ६७ वटा शव फेला परेकोमा एक सय २ वटा शव आफन्तले बुझेका छन्। ११ सय ६७ वटा शव व्यवस्थापन भएको छ। मृतक भएका १२ सय ६८ जनाको डिएनए संकलन गरिएको छ भने  डिएनए म्याचको लागि नमूना दिने १४ सय १२ जना आफन्त छन्।  

आफन्तको रगतको नमूना र मृतक शवको हड्रडी या दाँतको नमुना लिएर आफन्तको नमूना फरेन्सिक विभागमा परिक्षण गरेपछि पहिचान भएमा हाल जङ्गलमा या अन्य ठाउँमा भण्डारण भएका शव पछि निकाल्न सकिने प्रहरी उपनिरिक्षक रानाले बताए।

प्रकाशित: २५ भाद्र २०८३ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App