१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिस्नुपानीले हानेर मनाइने विसु पर्व

हाम्रो समाजमा कुनै समय सजाय दिनका लागि सिस्नुपानीको प्रयोग गरिन्थ्यो भने विद्यालयमा नपढ्ने र अटेर गर्ने विद्यार्थीलाई सिस्नुपानीकै डर देखाइन्थ्यो। तर कतैकतै कतै तरकारीको रूपमा पकाएर वा सुकाएर सुपको रूपमा समेत खाइने सिस्नोले मान्यजनलाई हिर्काएर संस्कृति पनि मनाउने गरिन्छ।  

नयाँ वर्षको दिन सुदूरपश्चिम क्षेत्रमा आफूभन्दा ठूलाबडालाई सिस्नुपानीले छ्याप्ने चलन छ। यो चलन विशु पर्व अर्थात् वैशाख १ गतेको दिन मनाइन्छ। सिस्नुले हानेपछि शरीरमा रहेको विष (रोग) हराउँछ भन्ने मान्यता छ। सिस्नुपानीले हान्दा वा छ्याप्दा रोग नलाग्ने वा शरीरमा रहेको विष नास हुने किंवदन्ती रहेको वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशीले बताए। उनले विसु पर्व र देउडा भाका सुदूरपश्चिमको चिनारी मात्रै नभएर नेपालकै सान रहेको बताए। ‘विसु पर्वमा विष अर्थात् रोग नलागोस् भनेर छकालै (बिहानै) तितेपातिले नुहाउने र सिस्नुपानी छर्कने गरिन्छ,’ उनले भने, ‘नयाँ वर्षको अवसरमा मनाइने यो पर्व अनौठो र मौलिक छ।’ 

विसु पर्वका दिन आफूभन्दा ठूलो व्यक्तिलाई सिस्नुपानीले शरीरमा छ्याप्ने गरिन्छ। कुनै मन्त्री, सांसद वा नेतालाई अतिथि बनाएर सिस्नुपानीले छ्याप्ने चलन छ। यसबाहेक गाउँ गाउँमा स्थानीयले आफूभन्दा ठूला व्यक्तिलाई सिस्नुपानीले छ्याप्छन्। नयाँ वर्षको अघिल्लो दिन दहिमा चामल भिजाउने गरिन्छ र नयाँ वर्ष दिन खाइन्छ। त्यस्तै, बटुक र चुकानी परिकार पनि सेवन गर्ने चलन छ। युवाहरूले शिवजीको प्रतिकका रूपमा लौरा नचाउने र देउडा खेल्ने गर्छन् भने महिलाहरूले पुतलीको पुजा गर्ने चलन पनि छ।  

यस्तो परम्परालाई धार्मिक मान्यताका रूपमा लिन सकिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बताए। उनले नेपालको धर्म संस्कृतिले सिंगो भुगोललाई एउटै मालामा उनेको बताए। उनले भने, ‘नेपाल मण्डल उपत्यका बिस्केट जात्रा मनाइन्छ, त्यही दिन सुदूरपश्चिम क्षेत्रमा विशु पर्व मनाइन्छ, चलन फरक भए पनि यसको मान्यता एउटै हो, पर्वले पनि हामीलाई एकतामा बाधेको छ।’ उनले नेपाल मण्डल र सुदूरक्षेत्रलाई पर्वपातहरूले जोड्न गरेको बताए।

देउडा समाज काठमाडौंले सोमबार शुभकामना आदानप्रदान तथा अभिनन्दन कार्यक्रम गरेको थियो। प्रज्ञा प्रतिष्ठान कमलादी प्रांगढमा गरिएको कार्यक्रममा देउडा भाका र यसको महत्वबारे अतिथिहरूले आ–आफ्ना धारणा राखे। हरेक वर्ष देउडा नाच प्रदर्शन गर्दै आएको समाजले कोरोना संक्रमण कारण गत वर्ष र यो वर्ष देउडा नाच स्थगित ग¥यो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई अभिनन्दन गरिएको थियो। 

अभिनन्दन हुनेहरूमा रेडियो नेपालमा पूर्व समाचार वाचक माइकल (हरिष) चन्द, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, कृष्ण मल्ल, गायक भोजराज भट्ट र लेखक शशी थापा रहेका छन्। फरकफरक विधामा लामो समय योगदान दिएका व्यक्तिहरूलाई समाजले हरेक वर्ष यसरी नै सम्मान गर्दै आइरहेको छ। उनीहरूलाई उपकुलपति गुरुङले खादा र दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए।

प्रकाशित: ३१ चैत्र २०७७ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App