९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश

कैलालीकाे चुरे क्षेत्रमा लागेकाे डढेलाे। तस्बिर: पुष्पराज/नागरिक

वसन्त र ग्रिष्म ऋतु विशेषतः विरुवाले पालुवा फेर्ने कीटपतंगले फूल पार्ने र विरुवाले फल दिने समय हो। वन्य जीवहरू आफ्नो वंश विस्तारका लागि यही मौसमको पर्खाइमा रहेका हुन्छन्। पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो। हो, यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ। दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ। डढेलोमा परेर बंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन्।  

जंगलमा डढेलो लाग्दा गुँड लगाएका तथा आफ्नो बासस्थानमा बसेका पन्छीहरू अहिले खुला आकाशमा कराउन थालेको दृश्य देखिन थालेको चरा संरक्षणमा क्रियाशील कैलालीकी संरक्षणकर्मी जमुना न्युरे बताउँछिन्। सुदूरपश्चिममा मात्रै ६ सय बढी प्रजातिका चरा चुरुङ्गीहरू रहेको बताउँदै उनले भनिन्, ‘यो समयमा पन्छीहरूले गुँड लगाउने, बच्चा कोरल्ने, बचेरालाई उड्न तथा आहार गर्न सिकाउने हो, यही बेला जंगलमा डढेलो लाग्दा उनीहरू मासिन थालेका छन्।’  

वंश उत्पादन गर्ने समयमा पन्छीहरूको वंश विनाश हुन थालेको भन्दै उनले चिन्ता गरिन्। ‘हामीले समयमै डढेलो नियन्त्रणको प्रयास नगरेका कारण यसवर्ष अत्याधिक मात्रामा जंगल विनाश भयो, त्यसमा परेर जंगली पन्छीहरू पनि विनाश भएका छन्,’ उनले भनिन्, ‘यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउनु पर्ने थियो, त्यसो हुन सकेन।’

वनजंगलमा आगलागी हुँदा आगोमा परेर तथा धुवाँले निसास्सिएर पन्छीहरू मर्ने गरेको बताउँदै उनले भनिन्, ‘जंगलभरि डढेलो लाग्दा पन्छीको वंश विनाश हुने चिन्ता पनि उत्तिकै थपिएको छ।’ अहिलेको समयमा डढेलोले गर्दा जंगलमा बसोबास गर्ने पन्छीको वंश नासिने चिन्ता थपिएको वरिष्ठ पन्छी विशेषज्ञ तथा चराविद् डा. हेमसागर बराल बताउँछन्। ‘यो समय चराले फुल पार्ने तथा बच्चा कोरल्ने हो,’ उनले भने, ‘यही समयमा जंगलमा डढेलो लाग्दा उनीहरूको गुँड डढ्नुका साथै वंश विनाश पनि भएको छ।’  

वंश विनाश हुँदा कुनै प्रजातिका चरा लोपोन्मुख हुने स्थिति आउन सक्ने उनको चिन्ता छ। विशेषगरी डढेलोका कारण भुइँ तथा बुट्यानमा गुँड लगाउने भ्याकुर प्रजातिका पन्छी डढेलोको चपेटामा परेको उनी बताउँछन्। ‘भुइँ तथा झाडीमा गुँड लगाउने पन्छीमध्ये मयुर, लुइँच, श्यामा, तित्रा प्रजातिका चरा बढी खतरामा छन्,’ उनले भने, ‘यही प्रकारले बर्सेनी जंगलमा डढेलो लाग्ने हो भने उनीहरूको वंश विनाश हुन बेरै छैन।’  

अर्को अर्जुनक प्रजातिका चरा जो आगोको लप्का पुग्ने ठाउँसम्म अर्थात् भुइँ भन्दामाथि र रुखको टुप्पोभन्दा तल बीच भागमा गुँड लगाउने चरा पनि खतरामा रहेको बताउँदै उनले भने, ‘रूखको बीच भागमा गुँड लगाउने बचेरा हुर्काउने पन्छी पनि डढेलोका कारण खतरामा छन्।’ अर्जुनक प्रजातिका चरामध्ये स्वर्ग चरी, राज चरीलगायतका चराचुरुङ्गीहरू डढेलोका कारण वंश विनाशको खतरामा रहेको उनको भनाइ छ।  

रुखको टुप्पोमा जहाँ आगोको लप्का पुग्न सक्दैन त्यस्तो ठाउँमा गुँड लगाउने चराहरू धुवाँले निसास्सिएर मर्ने खतरा पनि उत्तिकै रहेको बताउँदै उनले भने, ‘जंगलमा डढेलो लाग्नै नदिनु नै पन्छीको वंश बढाउने उत्तम उपाय हो।’ डढेलोका कारण एक त वनजंगल मासिँदै छ भने अर्कोतर्फ पन्छी, सरिसृप र उपयचरको वंश विनासिँदै गएकोप्रति उनले चिन्ता गरे।

चरा प्रकृतिको अभिन्न अंग रहेको बताउँदै उनले भने, ‘पन्छीले विभिन्न विषालु कीटपतंगलाई खाएर मानव प्रजातिको सुरक्षा गरिरहेको छ, त्यसैले पनि पन्छीलाई बचाउनु र उनीहरूको वंश विनाश हुन नदिनु हाम्रो कर्तव्य हो।’ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको बताउँदै उनले भने, ‘सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ।’ डढेलोका कारण यी प्रजातिका पन्छीको वंश विनासिँदो छ।  

जंगल तथा पन्छी बचाउन समयमै वन सुरक्षा व्यवस्थापन, फायर लाइन बनाउने, कुनै निश्चित स्थलमा पात पतिंगर थुपारेर आफै आगो लगाई निभाउने तथा जंगलमा डढेलो लगाउनु हुँदैन भनेर जनचेतना फैलाउनु पर्ने उनी बताउँछन्। ‘यसो गरिएमा मात्रै जंगलका साथै पन्छी जोगाउन सकिन्छ,’ उनले भने।

प्रकाशित: ३० चैत्र २०७७ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App