३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सेटिङमा मदिरा भारत तस्करी

प्रहरी चौकी लगडीगोठ अगाडिबाट मदिराका कार्टुन बोरामा प्याक गरेर साइकलमा सीमातर्फ जाँदै भरिया । तस्बिरः मिथिलेश/नागरिक

बुधबार भारतीय शहर जयनगरबाट प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवैले आफूहरू नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकारेका छन । उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्राण्डसहित नेपालमै उत्पादित ब्राण्डका मदिरा बरामद गरेका हुन ।

जयनगर प्रहरीले नेपालबाट मदिरा भारत तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना होइन । मदिरासहित धेरै मानिस पक्राउ परेका छन् । धेरै अझै थुनामा सजाय भोग्दै छन् । तर, नेपालबाट मदिरा भारत तस्करी रोकिएको छैन । झन् बढ्दै गएको पाइन्छ । भारतको विहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँशहरमा पुर्‍याउँदै आएको छ ।

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भिञ्याउने सिरहाको सीमावर्ती नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ । वारिका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा सीमापारि भारतीय शहर पुर्‍याउँदै आएको छ । दिउँसै सिरहाको माडर बजारमा मदिराको सकली कार्टुन(मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकेर मदिराका बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकलमार्फत् सीमावर्ती लगडीगोठ र बुधौरा पुर्याइन्छ । यहाँ मदिरा भण्डारण गरी पारि ड्यूटीमा रहेका एसएसवीहरू लञ्च टाइममा ब्यारेक फर्केपछि धमाधम मदिराको कार्टुनले भरिएका बोरा पारि पुर्‍याइन्छ ।

सिरहाको सीमावर्ती क्षेत्रबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि चेकजाँचका लागि सीमा क्षेत्रमा उपस्थित सशस्त्र र नेपाल प्रहरी देखेर पनि नदेखेझैं गर्दै आएका छन् ।  

इलाका प्रहरी कार्यालय माडरभन्दा पाँच सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरेर बोरामा भरिररहेको दृश्य यहाँका लागि समान्य हो । दर्जनौ साइकल अनि भारतीय नम्बरका मोटरसाइकलबाट घेरिएको यो ठाउँमा बोरामा भरिने मदिराको कार्टुन साइकलमा राखेर सिधै सीमावर्ती लगडीगोठ पुग्छ । यहाँबाट बिहान, मध्यान्ह र राति तीन समय नेपाली र भारतीय व्यापारीले भारतीय बजार जोगिया पुर्‍याउँछ । जोगियाबाट जयनगर हुँदै विहारका अन्य गाउँशहरमा पुर्‍याइन्छ नेपाली मदिरा । मदिरा ओसारपसारमा साइकल र  नम्बर प्लेट नै नभएको भारतीय मोटरसाइकल प्रयोग हुन्छ ।  

लगडीगोठका एक जेष्ठ नागरिकका अनुसार माडर बजारबाट यहाँसम्म साइकलमा एक बोरा मदिरा ल्याएबापत १२० रुपैयाँ पाउँछन् । एक खेपमा यति धेरै रुपैयाँ पाएपछि यस भेगका धेरै युवा मदिरा ढुवानीमा लागेका छन् । मदिरा तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिराका पसल थपिँदै गएका छन् भने कारोवारमा समेत बढेको पाइएको छ । कतिपय मदिरा पसलेहरूले नै तस्करहरू राख्ने गरेको स्थानीयहरू बताउँछन् ।

यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने सीमामा हुने कुनै पनि प्रकारको तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दावी गरेका छन् । सिरहाका प्रहरी प्रमुख(एसपी) सुदीपराज भण्डारीले भने, ‘कडाइ गर्न भनेको छुँ । भेट्याएसम्म नछोड्ने हो । हामीले नदेखेपछि कसरी समात्नु ?’  

मदिरा तस्करीमा चोरपुलिस खेल

सिरहाको गलडीगोठ र बुधौरा नाका पछिल्लो समय मदिरा तस्करका लागि भूस्वर्ग बनेको छ । यी नाकाहरूबाट भारत तस्करी हुने मदिरा माडर बजारबाट जान्छ । प्रहरीको चेकपोस्ट, चौकी र इलाका कार्यालय पार गर्दै मदिरा बोकेको साइकल सीमासम्म पुग्छ । सीमाबाट भारतीय सीमा सुरक्षा बल ड्यूटीमा नभएको मौका छोपी पारि पुर्‍याइन्छ । मदिरा तस्करहरूलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बलसँग त्रास छ ।  त्यसैले सीमावारि बसेर मदिरा तस्करहरू पारिका एसएवी कतिबेला खाली हुने हो मौकाको तलासमा हुन्छन् ।  

आजित स्थानीवासी

आँखै अगाडि मदिराको तस्करी धन्दा हेर्दादेर्हा आजित भैसकेका सिरहा नगरपालिका –२१ लगडीगोठका वडाध्यक्ष सुरेन्द्र मण्डलले नियन्त्रणका लागि जिल्लाका सुरक्षा प्रमुख गुहारेर थाकिसकेका छन् । मदिरा तस्करीको धन्दा फस्टाएसँगै यहाँका स्थानीबासी आफूलाई असुरक्षित अनुभूति गर्न थालेको भन्दै मण्डलले जिल्लाका सुरक्षा प्रमुखलाई यो धन्दा नियन्त्रण गरिदिन आग्रह गरेको महिनौ भैसक्यो । तर, उनले सुरक्षा प्रमुखबाट सन्तोषजनक जवाफ पाएनन् । वडाध्यक्ष मण्डलले नागरिकसँग भने, ‘जिल्लाको सुरक्षा प्रमुखलाई घटनाक्रम जानकारी गराउँदा पनि वास्ता गरेनन् । म पनि कतिसँग लफडा मोल लिनु भनेर चूपचाप बस्न बाध्य भएको छुँ ।’  

नम्बर प्लेट नै नभएको मोटरसाइकल चढेर पारिबाट आउनेहरूका कारण यहाँका जनता असुरक्षित महसुस गर्दै छन् । प्रहरी प्रमुखले बेवास्ता गरेपछि हामी अझ असुरक्षित महसुस गरिरहेका छौं, उनले भने । बिहानदेखि रातिसम्म सीमामा भैरहेको मदिरा तस्करी धन्दा यस भेगका बच्चादेखि वृद्धसम्मलाई जानकारी छ। तर, कारबाही गर्ने निकाय प्रहरी प्रशासन चूपचाप छन् । प्रहरी प्रशासनको सन्देहपूर्ण मौनताले यस मदिरा तस्करलाई बल पुगेको छ ।

सीमावर्ती गाउँमा दैनिक करिब हजार कार्टुन मदिरा कसरी, कहाँ खपत हुँदै छ ? यसको छानविन र अनुगमन समेत नियामक निकायबाट नहुनु विडम्बना भएको अध्यक्ष मण्डलले बताए । गाउँका धेरै युवा मदिरा ढुवानीमा लागिसकेका छन् । मदिराको बढ्दो कारोबारले गाउँसमाजको सुरक्षा अवस्थासँग सामाजिक सद्भाव समेत खलबलिएको जेष्ठ नागरिक सोभित यादवले बताए । पुलिसका घुमुवाहरू दिनरात यसै क्षेत्रमा घुमिरहन्छ । घुमुवाहरूले पनि यो कारोबार देखे पनि नदेखेजस्तै गर्नुले स्थानीय सशंकित छन् ।

प्रकाशित: २८ चैत्र २०७७ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App