१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री

निर्वाचित भएको प्रमाण–पत्र लिएपछि सामूहिक तस्बिर खिचाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायत । तस्बिरः दमन राई/नागरिक

नेपाल पत्रकार महासंघको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखाको छैठौं अधिवेशन एबं नवौं साधारणसभा अन्तरगत भएको निर्वाचनबाट खत्री अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । उनी बिपुल पोखरेल नेतृत्वको गठबन्धनबाट अध्यक्ष बनेका हुन् । सोही गठबन्धनबाट अध्यक्षका प्रत्यासी भीम राईले उम्मेद्वारी फिर्ता लिएपछि खत्री निर्बिरोध भएका हुन् ।  

बुधबार भएको निर्वाचनबाट महासंघको उपाध्यक्षमा टिवन राई, उपाध्यक्ष (महिला)मा कृष्णकला राई, सचिवमा लोकमणी रिजाल, सह–सचिव (खुला)मा चिसाङ शेर्पा, उमेश पदम भुजेल तथा कोषाध्यक्षमा भूमीका न्यौपाने निर्वाचित भएका छन् । शेर्पा, भुजेल र न्यौपाने पनि निर्बिरोध निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक कृष्ण आचार्यले बताए ।  

अन्य पद निर्बिरोध भए पनि उपाध्यक्ष, उपाध्यक्ष (महिला), सचिव र चार सदस्यका लागि मतदान भएको थियो । अध्यक्ष खत्री प्रेस युनियन, उपाध्यक्ष टिवन प्रेस चौतारी, उपाध्यक्ष (महिला) कृष्णकला प्रेस युनियन, रिजाल प्रेस चौतारी, शेर्पा प्रेस युनियन, भुजेल र न्यौपाने प्रेस चौतारीमा आवद्ध छन् । यस्तै, सदस्य (जनजाती)मा उजुर राई निर्विरोध भएका छन् । सुर्य तामाङ, खेमराज अधिकारी, दिवस रिजाल र दिनराज कार्की भने मतदान प्रकृयाबाट निर्वाचित भएका हुन् । उजुर र सुर्य प्रेस संगठन, खेमराज र दिवस प्रेस चौतारी तथा दिनराज प्रेस युनियनकातर्फबाट चुनावी मैदानमा उत्रिएका थिए । मतदानमा कुल २६ मतदाताले मतदान गरेका थिए । महासंघका निर्वाचित पदाधिकारी र सदस्यलाई बिहिबार निर्वाचन समितिका संयोजक आचार्यले निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरेका छन् ।  

२०६० सालदेखि पत्रकारिता सुरु गरेका अध्यक्ष खोटाङखबर साप्ताहिक र रोदिकखबर डटकमका सम्पादक हुन् । २०६१ साल माघ ९ र १० गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाको पहिलो अधिबेसनबाट सदस्य बनेका खत्री २०६४ साल माघ १४ गते सम्पन्न दोश्रो अधिबेशनबाट उपसभापति बनेका थिए । २०६७ साल फागुन १ गते भएको तेश्रो अधिबेशनमा अध्यक्षमा पराजित खत्री १० वर्षपछि अध्यक्षमा निर्बिरोध भएका हुन् । २०६७ सालदेखि २०७५ सालसम्म नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष लगायतका जिम्मेवारी वहन गरेका खत्रीले नेपाल टेलिभिजन, रासस, अन्नपूर्ण पोष्ट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।  

केन्द्रमा एउटा, जिल्लामा अर्कै गठबन्धन  

प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (नेपाल समुह) लगायतको गठबन्धनबाट खोटाङमा अध्यक्षको भाग युनियनलाई परेपछि खत्रीलाई अध्यक्ष बन्ने सहज बाटो बनेको हो । यद्यपी, जिल्लामा केन्द्रमा भएको गठबन्धन विरुद्ध प्रेस युनियनले प्रेस चौतारीसँग गठ बन्धन गरेको थियो । साझा उम्मेदवारको टुंगो नलाग्दै प्रेस संगठनकातर्फबाट उम्मेद्वारी परेकाले प्रेस चौतारीसँग सहकार्य गर्नु परेको प्रेस युनियनका अध्यक्ष उत्तम चौंलागाईले बताए ।  

प्रेस संगठनले भने आफुमाथि अन्तरघात गरेको जनाएको छ । संगठनका केन्द्रीय सदस्य भीम राईले बिहिबार विज्ञाप्ती जारी गर्दै गठबन्धनलाई कमजोर पार्दै नेतृत्वमा पुग्न अनेकौं तिकडम गर्ने प्रतिगामी षडयन्त्रलाई चिर्नुको बदला उल्टै साँठगाँठ गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उम्मेद्वारी दर्ताकाक्रममा संगठनका उम्मेद्वारलाई सहजीकरण गर्नुको सट्टा निरुत्साहित गर्ने, उम्मेद्वारी छनौट र मतदानका लागि गरिएका प्रतिवद्धता कुल्चिएर प्रतिगमनकारीको चंगुलमा परी पत्रकार महासंघलाई धरासायी बनाउने कदम चालिएको विज्ञाप्तीमा उल्लेख छ । 

मनोनयनका क्रममा फरक–फरक प्यानल खडा गरेका प्रेस युनियन र प्रेस संगठनबिच चैत २४ गते साँझ केन्द्रकै एलायन्स अनुसार मतदानमा जाने सम्झौता भए पनि युनियनले सम्झौता तोडेको संगठनले जनाएको छ ।

प्रकाशित: २६ चैत्र २०७७ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App