coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिर्छुलुङका घर–घरमा धारा, स्थानीय खुसी

फाइल तस्बिर

तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन्।खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुसी भएका हुन्।  

धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिए। 'गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुसी भएका छन्', उनले भने।  

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले रु ६८ लाख ४६ हजार २४३ को लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो। खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले रु ५७ लाख ८४ हजार ९०३ लगानी गरेको छ भने स्थानीयवासीले रु दश लाख ६१ हजार ३४० बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिए।  

विसं २०७५ माघ २९ गते सम्झौता भई विसं २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ। उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताए। रासस

प्रकाशित: २५ चैत्र २०७७ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App