२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दसगजा अतिक्रमण व्यापक, आँगन र खेतमा सीमास्तम्भ !

सिरहा नगरपालिका–१५ बुधौरास्थित दसगजामा दुई देश छुट्टयाउन गाडिएको पिलरले देशको नभई खेतको सीमा छुट्टयाउन पो गाडिएको जस्तो भान पार्छ। दुई देशको सीमा छुट्टयाउन गाडिएको २६६/१ र २६६/२ नम्बरको पिलर भारतीय गाउँ सहुरीयाका हिरालाल यादवको खेतमा छ। टाढाबाट हेर्दा खेत छुट्टयाउन गाडिएको सेतो रंगको पिलर जस्तो भान हुन्छ। नजिक पुगेर हेर्दा खेतको नभई दुई देशबीचको सीमा छुट्टयाउने नम्बर लेखिएको पिलर देखिन्छ।

भारतीय गाउँ गोढीयारीका वासुदेव यादवका अनुसार दसगजामा नेपाली र भारतीय दुबैतर्फका जनताले अतिक्रण गरी खेत बनाएका छन्। भारततर्फका जनताले दसगजा मिचेर नेपालतर्फ अर्थात उत्तरतर्फ खेती बढाएको देखिन्छ।  

सिरहा बुधौराका रामरतन यादव भन्छन्, ‘दसगजा त यहाँ नाममै सीमित बनेको छ। जसको बल पुग्छ उसैले दसगजा मिचेर खेतबारी बनाउँछन। सीमामा सरकार छैन। जसका कारण यहाँ मनलाग्दी गर्न छुट छ।’ पारितिरकाले पिलर पनि विस्तारै नेपालतिर सार्दै लगेको यादवले बताए।  

सिरहा नगरपालिका–२० लगडीगदियानी र भारत पौदमा पञ्चायत वडा नम्बर–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर यो सीमास्तम्भ ज्ञानी मुखियाको आँगनमै छ। मुखिया भारतको लगडी गाउँका हुन्। उनी सुत्ने घर सीमास्तम्भ टाँसिएकै दक्षिणमा छ। आँगन भने टाँसिएकै उत्तरमा छ। सीमास्तम्भ भने उनको बाख्रा बाँध्ने किला हुन्। मुखिया मात्र होइन सीमास्तम्भ टाँसिएरै दक्षिणपट्टि भारतीयहरूको १ सय ३० घरको बाक्लो बस्ती बसोबास गर्छन।

सिरहा नगरपालिका–२० लगडीगदियानी र भारत पौदमा पञ्चायत वडा नम्बर–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर यो सीमास्तम्भ ज्ञानी मुखियाको आँगनमै छ। मुखिया भारतको लगडी गाउँका हुन्।   

अन्तर्राष्ट्रिय कानुन मिचेर दसगजामै भारतीयका लहरै घर छन्। सीमास्तम्भमा बस्तीका मुखिया जस्तै अर्का वासिन्दाले पनि आफ्ना खसीबाख्रा बाँध्छन्। दुई देशको सीमाना स्तम्भ यहाँका बासिन्दाका लागि चौपाया बाँध्ने खम्बाको रूपमा प्रयोग हुँदै आएको छ। तीन पुस्तादेखि यसै दसगजा क्षेत्रमा बस्दै आएको लगडीका रमण यादव भन्छन्, ‘पुर्खाले नै घर बनाएर बसोबास थालेका हुन। हामीले पुर्खाको थातथलोलाई निरन्तरता दिइरहेका छौं। यहाँ अधिकांश सुकुमवासीको बसोवास छ।’

दसगजाको बस्ती लगडीमा यादव र मुखिया जातिका परिवारको बसोबास छ। वारि लगडीगदियानीतर्फ यादव समुदायको बाक्लो बसोबास छ। आफूहरूबीच दुई देशका हौं भन्ने हेक्कै नभएको उनले बताए। ‘हिँडडुल गर्दा पनि हामी सीमा बिर्सिन्छौं,’ उनले भने।  भारतीय गाउँ लगडी र सिरहा–२० (लगडीगदियानी) बीचको सीमा आरपी २८ नम्बरको स्तम्भले छुट्याएको छ तर दुवैतिरका स्थानीयमा आफूहरू अलगअलग देशका हौं भन्ने महसुसै हुँदैन। टाँसिएकै गाउँ, एउटै परिवेश, एउटै संस्कृतिका कारण परिवारजसरी मिलेर बसेका छन् उनीहरू। उनीहरू सधैं एकअर्कालाई भरथेग गर्छन्।

आँगनमै आरपी २८ नम्बरको स्तम्भ रहेको लगडीका ज्ञानी मुखिया र वारिका देवेन्द्र यादवबीच पनि उस्तै सीमाविहीन सद्भाव छ। देवेन्द्र टेन्ट हाउसको व्यवसाय चलाउँछन् र ज्ञानी मजदुरीको काम गर्छन्। देवेन्द्र विवाहलगायतका आयोजनमा टेन्ट र साउन्ड सिस्टम लिएर पारि पुग्छन्। मुखिया पारिको मजदुरी काम भ्याएपछि नेपालतर्फ खट्छन्। ५० वर्षीय ज्ञानीले भने, ‘हामी सुकुमवासी दुवैतर्फ ज्यालामजदुरीमा खटेर गुजारा चलाउँछौं। नेपाली गाउँसहरमा काम गर्दा फरक देशजस्तै लाग्दैन।’ २५ वर्षीय देवेन्द्रले पनि थपे, ‘जता काम पाइन्छ उतै जान्छौं। देशमात्रै फरक हो, काम र रूपैयाँ बराबर पाइन्छ।’  

देश भिन्न भए पनि श्रम, संस्कार, रीतिरिवाज, भाषा केही फरक नभएको लगडीका चन्देश्वर यादवले बताए। ‘श्रम, संस्कारसँगै वैवाहिक सम्बन्धले हामी झन् नजिकिएका छौं,’ उनले भने। लगडीगदियानीका (वारि) मिथिलेश झा वारिपारिका साझा पुरोहित हुन्। उनले भने, ‘सीमावर्ती गाउँसहरको संस्कार र संस्कृतिमा कुनै फरक छैन। पारिको गाउँमा विवाह गराउँदा पनि फरक देशमा आएको हेक्कै हुन्न।’

एकैखाले संस्कार र जीविका रहे पनि उनीहरूलाई आआफ्ना सरकारसँगको अपेक्षा फरक छैन्। सभ्यता, संस्कृति, रहनसहन र बिहेबारीका कारण दसगजावारिपारिका बासिन्दाबीच मिलाप छ। दुवैतर्फ अर्को मिल्दो अपेक्षा छ– विकास। पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अवस्था पनि दुईतर्फका जनताको उस्तै छ। सीमा क्षेत्रको दुवैतर्फ न त भरपर्दो अस्पताल छ, न स्तरीय विद्यालय नै। आर्थिक अवस्था, मानवीय स्वभाव र दैनिक जीविकोपार्जन पद्धतिमा पनि खासै फरक छैन।

सीमा सुरक्षा लगायतका लागि सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ७ वटा बोर्डर आउटपोष्ट र ६ वटा बेस क्याम्पसहित सशस्त्र प्रहरी वलको नम्बर ७ गण छ। सिरहा स्थित गणका डीएसपी निलकमल आचार्यका अनुसार दसगजामा समस्या छ। ‘अहिले दशगजामा केहि गर्न दिइएको छैन। पहिला भएका खेतीपातीदेखि बसोबासलगायतको सबै समस्या माथिल्लो निकायमा जानकारी गराएका छौं,’ आचार्यले भने।  

तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा सीमा पिलर छन्। जसमा मुख्य ७, सहायक २ र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा देखिन्छ। सिरहा नगरपालिका –२० लदडीगदियानी र भारत लदनीया थाना पौदमा ग्राम पञ्चायत–४ लगडी गाउँको बीचमा नेपाल भारतको सीमा छुट्टयाउने सीमास्तम्भमा बाँधिएको खसीबाख्रा र दसगजा मिचेर लहरै बसेका बस्ती।

प्रकाशित: २३ चैत्र २०७७ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App