४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २: दुर्घटनामा मृत्युदर बढ्दो

केही दिनअघि पूर्वपश्चिम राजमार्गकाे लहान खण्डमा भएकाे माेटरसाइकल दुर्घटना। तस्बिर: मिथिलेश यादव/नागरिक

चैत १० गते राति करिब ९ बजे सिरहा चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका २ पानवरी चोकमा ठूलो आवजले छेउछाउका स्थानीयलाई अत्यायो। के भयो भन्दै बुझ्न मानिसहरू घरबाट सडकमा निस्के। दौडँदै विजय यादव पनि घटनास्थल पुगे। उनी त्यहाँ पुग्दा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाएर लडेको थिए। मोटरसाइकलमा सवार दुई जना सडकको पश्चिम पट्टि छटपटाइरहेका थिए। प्रहरीको सहयोगमा यादवले दुुईजना घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल पु¥याएका थिए।

स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका का २६ वर्षीय दिपु पासवान र स ६ प ९१५१ नम्वरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका–९ डण्डाटोलका २२ वर्षीय गुरुशरण महतोको लहान अस्पतलामा उपचारका क्रममा मृत्यु भयो। उत्तरबाट दक्षिणतर्फ गइरहेको महतो सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको पासवान सवार स ८ प २२५० नम्वरको मोटरसाइकलसँग ठक्कर खाएको थियो। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आइरहेको दुबै मोटरसाइकलमाथि चालकले नियन्त्रण गुमाउँदा आपसमा ठक्कर खाएको थियो।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले यस दुर्घटनामा मानवीय लापरबाही कारण देखिएको छ। चैत १३ गते दिउँसो करिब २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ४ पनसेरा चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०१५ प २५६५ नम्बरको माटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा २० च २१५९ नम्बरको जिपले ठक्कर दियो। ठक्करबाट मोटरसाइकल सवार धादिङको ज्वालामुखी गाउँपालिका ४ का ३८ वर्षीय चामबहादुर रानामगरको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भयो।  

गत शुक्रबार धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रहरी सहायक निरीक्षक मदनजंग कापरको मृत्यु भयो। उनी सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने ट्रक तत्काल फरार भयो। कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए। चैत ७ गते साँझ सप्तरीको राजबिराज नगरपालिका १५ खाँडो पुल नजीक अन टेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा हुनमाननगर कंकालिनी नगरपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भयो।

प्रदेश २ को आठ वटै जिल्लामा आठ महिनामा ३ सय ५४ जना दुर्घटनामा ज्यान गुमाएका छन्। एक सय ८६ जना अंगभंग भएका छन्। अधिकांश दुर्घटनामा तिब्र गति तथा चालकको लापर्वाही केलाइएको छ। यस प्रदेशमा दुर्घटना बढेको बढ्यै छ। दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ। दुर्घटना निम्त्याउने र कमजोरी गर्नेको हकमा राज्यले ट्राफिक प्रशासनलाई २ सयदेखि १ हजारसम्म जरिवाना मात्र तोकेको छ।

दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा लापरबाही नदेखिए धरौटीमा छुट्ने कानुनी व्यवस्था छ। बढ्दो दुर्घटनाको कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषणहरू बाहिर आइरहेका छन्। यसबारे प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले समेत कारण केलाएका छन्। प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठले भने, ‘बढ्दो दुर्घटना र ज्यानको क्षति घटाउन कारण पहिल्याएका छौं। दुर्घटनाको तथ्यांक केलाउँदा देखिएका कारणउपर कार्य अघि बढाएका छौं।’

आठ महिनामा यस प्रदेशमा भएका २ हजार ७ सय ८९ दुर्घटनामध्ये सबैभन्दा बढी २ सय २५ दुर्घटनामा तीव्र गति कारण देखिएको छ। १ सय २ दुर्घटनामा चालकको लापरबाही पाइएको छ। ६ दुर्घटना चालकले मादकपदार्थ सेवन गरेको पाइएको छ। १३ वटा दुर्घटनामा सवारी साधनमा आएको यान्त्रिक गडबडी कारण रहेको पाइएको छ। सडकको अवस्थाका कारण ५२ वटा दुर्घटना भएको पाइएको छ। मौसमी अवस्थाका कारण १ वटा दुर्घटना भएका छन्। ओभरटेकको (उछिन्ने) कारण ७ दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस अवधिमा भएका दुर्घटनामा ४ हजार ८६ सवारी साधन संलग्न रहेको तथ्यांक छ। जसमध्ये सबैभन्दा बढी मोटरसाइकल २ हजार ६ सय ३६ संलग्न छन्।

आठ महिनामा सिरहामा भएका २ सय २९ दुर्घटनामा सबैभन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन। सप्तरीमा भएको ५३२ दुर्घटनामा ६४ जना, धनुषामा भएको ३४१ दुर्घटनामा ५० जना, महोत्तरीमा भएको ३७२ दुर्घटनामा ४४ जना, सर्लाहीमा भएको ४६८ दुर्घटनामा ४३ जना, रौतहटमा भएको ३९९ दुर्घटनामा २९ जना, बारामा भएको ३८३ दुर्घटनामा ४१ जना र पर्सामा भएको ६५ दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन्।  

यस अवधिमा सबैभन्दा बढी दुर्घटना दिउँसो १२ बजेदेखि ६ बजेको बीचमा भएको तथ्यांकले देखाउँछ। यसबीचमा १ सय ५६ दुर्घटना भएका छन। सबैभन्दा कम दुर्घटना राति ११ बजेदेखि बिहान ६ बजेसम्ममा भएको देखिन्छ। यसबीचमा ७ वटा दुर्घटना भएका छन्। दुर्घटनाको पाँच वर्षीय तथ्याँकले मृत्युदर बढ्दो देखाउँछ। आर्थिक वर्ष ०७२/०७३ मा भएको ९८४ सवारी दुर्घटनामा ३१४ जनाले ज्यान गुमाए। ०७३÷०७४ मा भएको ११९४ सवारी दुर्घटनामा ४०६ जनाले ज्यान गुमाए। ०७४÷७५ मा भएको ११०५ सवारी दुर्घटनामा ३९४ जनाले ज्यान गुमाए। ०७५/७६ मा भएको ९१४ सवारी दुर्घटनामा ४९६ जनाले ज्यान गुमाए। ०७६/०७७ मा भएको १३४० सवारी दुर्घटनामा ४२० जनाले ज्यान गुमाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

प्रकाशित: २२ चैत्र २०७७ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App