२४ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै  पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।  

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत दुई करोड ५८ लाख ४६ हजार १५५ भुक्तानी भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई रु १८ लाख ५० हजार ६२९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई रु ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट ११७ लाभग्राहीलाई रु एक करोड ६२ लाख ५५ हजार ७८१ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही चैत ११ गतेसम्म कोषमा रु चार अर्ब ८० करोड योगदान सङ्कलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०।२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्ट्याइने छ ।

कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।  

एक लाख ९४ हजार श्रमिक सूचीकृत

कोषमा हालसम्म एक लाख ९४ हजार श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख ४५ हजार ४५२,  प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७९५, गण्डकीबाट सात हजार १५४, लुम्बिनीबाट छ हजार ८३९, सुदूरपश्चिमबाट ७७५ र कर्णालीबाट ४७० योगदानकर्ता सूचीकृत भएका छन् ।  

कोषमा आवद्ध हुने रोजगारदाताको सङ्ख्या १३ हजार ६१६ पुगेको छ । यसअन्तर्गत वाग्मती प्रदेशका नौ हजार १००, प्रदेश नं १ का एक हजार ८६०, लुम्बिनीका एक हजार १८०, प्रदेश नं २ का ५५०, गण्डकीका ६१७,  कर्णालीका १४३ र सुदूरपश्चिमका १६६ छन् ।रासस 

प्रकाशित: १६ चैत्र २०७७ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App