६ मंसिर २०८३ आइतबार
image/svg+xml
समाज

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गत शुक्रबार साँझ ६ बजे चन्दननाथ नगरपालिका-६ महतगाउँस्थित जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी पल्सर मोटरसाइकलले चन्दननाथ नगरपालिका-७ महतगाउँका ४२ वर्षीय हेमबहादुर महतलाई ठक्कर दिएको थियो।

१५० सीसीको उक्त मोटरसाइकल तिला गाउँपालिकाका कर्मचारीले प्रयोग गर्दै आएको खुलेको छ। दुर्घटनापछि फरार रहेका चालक तिला गाउँपालिका-३ निवासी २२ वर्षीय पुजन शाहीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घटनापछि मृतकका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन आइतबार अनिश्चितकालीन बन्दमा परिणत भएको थियो। उनीहरूले सडकमा टायर बालेर दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए। बन्दका कारण आइतबार बिहानैदेखि जुम्ला बजारका पसल, व्यवसाय र यातायात सेवा ठप्प बनेका थिए।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा पीडित र सम्बन्धित पक्षबीच भएको वार्तामा घटनालाई कानुनबमोजिम अघि बढाउने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो। सहमतिपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले बताए।

तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पीडित परिवारलाई क्षतिपूर्ति दिने र सरकारी मोटरसाइकलको दुरुपयोग गर्ने कर्मचारीसँग स्पष्टीकरण सोध्ने बताए।

उनले भने, ‘सरकारी मोटरसाइकलको दुरुपयोग गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्छौँ।’

प्रकाशित: ६ मंसिर २०८३ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App