५ असार २०८१ बुधबार
image/svg+xml
समाज

तुवाँलोले पोखरा अस्तव्यस्त

चिकित्सक भन्छन्ः बालबालिका र वृद्धवृद्धा सकेसम्म घरबाहिर ननिस्कनु

तुवाँलोले ढाकिएको पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

तुवाँलोका कारण पर्यटकीय क्षेत्र पोखराको दैनिकी नै अस्तव्यस्त बनेको छ । बाक्लो तुवाँलोका कारण पोखरा आसपासका डाँडाकाँडा ढाकिएका छन् भने चारदिनदेखि पोखरा सहर हवाई सम्पर्कबाट बिच्छेद भएको छ । तुवाँलोका कारण अस्पतालमा बिरामी बढेको चिकित्सकले बताएका छन् ।  

हवाई उडान प्रभावित हुँदा एयरलाइन्सले करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ भने यात्रुले तनाव झेल्नुपरेको छ । तुवाँलोले स्वास्थ्यमा असर पर्ने जोखिम रहेकोले चिकित्सकले सजगता अपनाउन सुझाएका छन् । सरकारले देशभरका शिक्षणसंस्था चारदिनसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।  

पोखराको मौसममा अझै केहीदिन सुधार आउने संकेत नदेखिएको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले भने, ‘पोखराको मौसममा चारदिनदेखि खासै सुधार आउन सकेको छैन । चारैतिर तुवाँलो लाग्दा दैनिकी नै अस्तव्यस्त देखिएको छ । हावा चल्न र वर्षा हुन नसक्दा मौसममा सुधार आउन सकेन ।’ उनका अनुसार पोखराको मौसममा सुधार आउन अझै केहीदिन लाग्ने देखिएको छ ।  

सोमबार बिहान पोखरामा फाट्टफुट्ट वर्षा भएपनि त्यसले मौसममा खासै सुधार ल्याउन नसकेको उनले बताए । ढकालका अनुसार सोमबार बिहान पोखरामा ०.३ मिलिमिटर मात्र वर्षा भएको थियो । त्यो वर्षा पनि पोखराको सबैठाउँमा नभएको उनले बताए । ‘हावा पनि पटक्कै चलेको छैन । राम्रोसँग पानी नपर्दा समस्या भएको हो । जोखिम झनै बढेको छ,’ उनले भने, ‘यसले बालबालिका र वृद्धवृद्धालाई झनै जोखिममा धकेल्छ । मौसममा सुधार हुनका लागि हावा चल्नु वा भीषण पानी पर्नुको विकल्प छैन । मौसम सुधारको अचुक औषधि नै भीषण वर्षा र हावा चल्नु हो, त्यो नै हुन सकेन ।’

चिकित्सकले पनि यो मौसममा वृद्धवृद्धा र बालबालिकाले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । फिस्टेल अस्पतालका फिसिसियन डा. दिपेश कार्कीले तुवाँलोले मान्छेको स्वास्थ्यमा दीर्घकालिन समस्या पार्ने बताए । ‘विशेषगरि बुढाबुढी र बालबालिकाको स्वास्थ्यमा यसले नराम्रो असर पार्छ । एलर्जी हुने बच्चालाई त झनै समस्या पार्छ । आँखाको एलर्जी हुने, बच्चाको स्वासप्रश्वासमा पनि समस्या पार्न सक्छ,’ कार्कीले भने, ‘वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ, यस्तो प्रदूषणले फोक्सोको क्यान्सर, मुटु र दमको समस्या निम्त्याउन सक्छ ।’  

अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन कार्कीले सुझाएका छन् । ‘बालबालिका र वृद्धवृद्धालाई सकेसम्म घरबाहिर निस्कन दिनुहुँदैन । घरबाहिर निस्कदा मास्कको प्रयोग गर्नुपर्छ । मास्कले कोरोना र तुँवालोबाट पनि बच्न सकिन्छ,’ कार्कीले नागरिकसँग भने, ‘हेलचेक्रयाँइ गर्दा बालबालिका र वृद्धवृद्धाको त ज्यान समेत जान सक्ने जोखिम हुन्छ ।’

उनका अनुसार अहिले अस्पतालमा खराब मौसमले गर्दा भएका बिरामी बढ्न थालेका छन् । ‘पोखरामा अहिले यस्तो खालको समस्या लिएर आउने बिरामी बढेका छन् । दमका बिरामी बढेका छन् । एलर्जी र धुवाँधुलोका कारण हुने दमको समस्या बढेको छ,’ कार्कीले भने, ‘भर्ना नै हुनेगरि पनि बिरामी बढेका छन् ।’ यस्तो बेलामा घरबाहिरका गतिविधि कम गर्न र विद्यालयको पठनपाठन नै रोक्नुपर्ने उनको सुझाव छ ।  

पोखराको मौसम यो सिजनमा यत्ति खराब कहिल्यै नभएको स्थानीयले बताएका छन् । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल करिब ३ दशकदेखि हवाई सेवामा आवद्ध छन् । उनको अनुभवमा यो सिजनमा यत्तिसारो खराब मौसम कहिल्यै भएको थिएन । पोखरालाई जोमसोम जोड्ने उडानमा बेलाबेला वर्षायामको मौसमी खराबीले अवरोध गरेपनि पोखरा–काठमाडौं रुटमा भने यत्ति लामो समयसम्म कहिल्यै अवरोध आएको थाहा नभएको बताए ।  

‘कहिलेकाँही एकदिन अप्ठेरो आइपरेमा भोलिपल्ट खुलिहाल्थ्यो, तर, अहिले चारदिनदेखि हवाई सेवा अवरुद्ध छ,’ बरालले भने,‘यो सिजनमा त खासै समस्या आउँदैनथ्यो । यत्तिको अप्ठेरो हामीले अनुभव गरेका थिएनौ ।’ दिनहुँ हवाई उडान रद्द गर्नुपर्दा एयरलाइन्स कम्पनिलाई घाटासँगै व्यवस्थापनमा तनाव भएको उनले बताए । कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन क्षेत्र धराशायी भएको बेला आन्तरिक यात्रुको भरमा हवाई सेवा तंग्रिने प्रयास गरिरहँदा पुन अप्ठेरोमा परेको उनले बताए ।

तुवाँलोका कारण यहाँको भिजिविलिटी पनि निकै नै घटेको छ । भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान चारदिनदेखि रोकिएको पोखरा विमानस्थलले बताएको छ । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार सोमबार पनि २३ वटा उडान रद्द भएका छन् । ‘चारदिनदेखि हवाई उडान नहुँदा यात्रु मर्कामा त परेका छन् । छिटो, विश्वसनीय भनेर मान्छेले जहाजमा यात्रा गर्न चाहन्छन्,’ उनले भने, ‘तर, मौसमले हवाई यात्राप्रति अविश्वास पैदा गरिदियो ।’

हवाई यात्रा सहज हुन नसक्दा यात्रुको सबैतिरको तालिका बिग्रने उनले बताए । ‘चारदिनसम्म हवाई उडान ठप्प हुनु त आर्थिक रुपमा पनि घाटा नै हो,’ उनले भने, ‘पछिल्लो समय पोखरा विमानस्थलबाट दैनिक २ हजार बढी यात्रु आउजाउ गर्दथे । चारदिन अवधिमा झन्डै सातहजार यात्रुको तालिका बिग्रेको छ । शुक्रबार मध्यान्हपछिका उडान मात्र रद्द भएका थिए ।’ उनका अनुसार हवाई उडान अवरुद्ध हुँदा हवाई कम्पनिले मात्र दुईकरोड रुपैयाँ भन्दा बढीको आर्थिक नोक्सानी खेपेको उनको अनुमान छ ।

‘सोमबार पनि भिजिविलिटी घटेको छ । विमानस्थलको भिजिविलिटी जम्मा २ हजार मिटर मात्र रहेको छ । भिजिविलिटी पनि घटबट हुन सकेन । हावा नै चलेको छैन,’ उनले भने, ‘सानोतिनो हावाले पनि यो तुवाँलो पन्छाउने अवस्था देखिन्न । पोखराबाट हवाई उडान संचालन हुन कम्तिमा ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ ।’ 

प्रकाशित: १६ चैत्र २०७७ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App