२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोले बढायो वायु प्रदूषण

डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न वनमा लागेको डढेलोको धुवाँ र धुलोका कारण वायु प्रदूषण बढेको हो। अहिले उपत्यका आसपास, धादिङ, हेटौंडा, चितवन, पोखरा, तनहुँ, नवलपुर, गोरखा, खोटाङ, ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत जिल्लाका वनमा डढेलो लागेको छ।

काठमाडौं उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ। यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शुक्रबारको तुलनमा शनिबार काठमाडौंको वायु प्रदूषणमा हल्का कमी आएको बताए। मौमसविद्हरूले सोमबारदेखि मात्र काठमाडौंको आकाशमा देखिएको धुवाँ, धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन्।

मौसमविद् मञ्जु भासीले पनि शुक्रबारको तुलनामा शनिबार प्रदूषणमा थोरै कमी आए पनि काठमाडौंको वायु प्रदूषण मानव जीवनका लागि अझै हानिकारक रहेको बताइन्। ‘शुक्रबारको तुलनमा शनिबार केही थोरै कमी भए पनि मानव जीवनका लागि अझै हानिकारिक नै छ,’ उनले भनिन्। वातावरणविद्ले यसबेला सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सल्लाह दिएका छन्। निस्कनै परे मास्क लगाउन उनीहरूको सुझाव छ।

धादिङ, चितवन, मकवानपुर जिल्लाका वनमा लागेको डढेलोले धादिङको वायुमण्डल पनि धुवाँमय बनेको छ। डढेलोले एकातिर वन विनाश र अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ। डढेलोका कारण धादिङ सदरमुकाम आसपास क्षेत्रमा बाक्लो तुवाँलोले ढाकेको छ। चितवन, मकवानपुरको वायुमण्डल पनि प्रदूषित बनेको छ। धादिङमा पछिल्लो एक महिनामा ३ हजारदेखि ३२ सय हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत देवीप्रसाद पौडेलले बताए। ‘पछिल्लो समय सामुदायिक वनमा डढेलो लागेको सूचना आइरहेको छ,’ सहायक वन अधिकृत पौडेलले भने, ‘धादिङबेंसी आसपास, सिद्धलेक, नौबिसे, गल्छी, बेनीघाट, सल्यानटारलगायत क्षेत्रका वनमा डढेलो लागेको छ।’

नेत्रावती डबजोङ गाउँपालिका–४ मा रहेको सल्ले सामुदायिक वनमा लागेको डढेलोले पूरै बस्ती जोखिममा परेको छ। एक साताअघि सोही वडाकै कन्यादेवी सामुदायिक वनमा पनि डढेलो लागेको थियो। धुनीबेंसी नगरपालिकास्थित नौबिसेको निसाकोट सामुदायिक वन, नीलकण्ठ नगरपालिकाको बाँदरेबेल गैंडा सामुदायिक वन, खाल्टे, सल्यानटार, बेनीघाट, सिद्धलेकका सामुदायिक वनमा डढेलो लागेको सहायक वन अधिकृत पौडेलले बताए।

वनमा डढेलो लागेपछि पालुवा पलाउँछ, घाँस पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत सोच भएका मानिसले आगो झोस्ने गरेका छन्,’ सहायक वन अधिकृत पौडेलले भने, ‘डढेलोले एकातिर सामुदायिक वन नासिएको छ भने अर्कातिर वायु प्रदूषण बढेको छ।’

चितवन जिल्लाका सामुदायिक वन, चितवन राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा पनि डढेलो लागेको छ। भरतपुरसँग जोडिएको रामबेल सामुदायिक वन, रतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडकसँग जोडिएको वनमा पनि आगलागी भएको वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।

हेटौंडाका सामुदायिक वनहरूमा पनि डढेलो लागेको छ। हेटौंडाको सुन्दर सामुदायिक वन, भैरवडाँडा वन, मकवानपुरगढीका विभिन्न स्थानका वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकृत अच्यूत उपाध्यायले भने, ‘चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले जंगल आसपास डढेलो लगाउँदा समस्या भएको हो। सानो फाइदाका लागि पनि डढेलो लगाउँदा पर्यावरण र वातावरणीय क्षति भइरहेको छ।’

आठ ठाउँमा ढडेलो, २८ वटा उडान रद्द

केही दिनदेखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ। धुवाँ र धुलोले प्रदूषण बढाएको हो। सफा र स्वच्छ सहरको पहिचान बनाएको पोखरा पछिल्ला दिनमा वायु प्रदूषणको चपेटामा परेको छ।धुवाँ र धुलोका कारण आँखा पोल्ने समस्या बढेको पोखरेलीको गुनासो छ। बाक्लो तुवाँलोले पोखरा आसपासका डाँडा धुम्मिएका छन्।

 जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार शनिबार पोखराको वायु गुणस्तर सूचकांक (आक्वा) स्वास्थ्यका दृष्टिले हानिकारक रह्यो। उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ। तुवाँलोमा धुलो र धुवाँको मिश्रण हुन्छ। यसले भिजिबिलिटी घटाउँछ।

लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा वायु प्रदूषण नाप्ने उपकरण राखिएको छ। लेखनाथस्थित वायु मापन स्टेसनमा शनिबार बिहान वायु गुणस्तर सूचकांक १९६, रत्नचोक स्टेसनमा १३५ र लामाचौर स्टेसनमा २३१ रेकर्ड भएको छ।

‘वायु गुणस्तर सूचकांक जति कम भयो उति राम्रो हो। जति धेरै भयो उति नराम्रो हो,’ ढकालले भने। उनका अनुसार पोखराभित्रै पनि वायुको गुणस्तर सबैभन्दा खराब लामाचौर क्षेत्रमा देखिएको छ। ‘शून्यदेखि ५० सम्मको सूचकांकले स्वास्थ्यमा खासै असर पर्दैन। त्योभन्दा माथि जानु पोखराका लागि राम्रो मानिँदैन,’ उनले भने, ‘५० भन्दा माथि हुँंदा स्वास्थ्यलाई हानि पु¥याउँछ। ३ सयभन्दा माथि अधिक खराब हो।’ 

वायु प्रदूषणले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए। ‘अहिले मौसम बिग्रेको छ। यस्तो हुनुमा डढेलो मुख्य कारण हो। नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि वायु यो प्रदूषण भित्रिएको छ। पश्चिमी र स्थानीय वायु थोरै चलिरहे पनि जति चल्नुपर्ने त्यो नचल्दा प्रदूषण हट्न सकेको छैन,’ ढकालले भने, ‘यो बेला हावाहुरी चल्ने समय हो। हावाहुरी पनि चलेको छैन। वर्षा भए र हावाहुरी चलेमा वायु प्रदूषण घट्दै जान्छ।’

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा।महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न तीनवटा जिल्लाका आठ ठाउँमा शनिबार बिहान डढेलो लागिरहेको थियो। कास्की, नवलपुर, तनहुँमा ढडेलो लागेको उनले बताए। पोखरा विमानस्थलका अनुसार वायु प्रदूषणका कारण यहाँको भिजिविलिटी शनिबार निकै कम भयो। भिजिबिलिटी नपुग्दा शनिबार पोखराबाट हुने सबै २८ वटा हवाई उडान रद्द भएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।

गोरखामा पनि डढेलोका कारण वन विनाशसँगै वायु प्रदूषण बढेको छ। बिहीबार र शुक्रबार गोरखाका २० भन्दा बढी जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ। ताकुकोट, मान्द्रे, मनकामना, धुवाँकोटलगायत विभिन्न स्थानका वनमा आगो लागेको जानकारी आएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए। ‘चैत महिना लागेदेखि डढेलो बढेको छ, जताततैबाट वनमा आगो लागेको खबर आउँछ,’ उनले भने। गोरखा सदरमुकामस्थित दरबार क्षेत्रको वनमा पनि केही दिनअघि आगो लागेको थियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

‘गत वर्षको यो समयमा भन्दा अहिले धेरै डढेलो लागेको हो,’ सूचना अधिकारी पौडेलले भने। गोरखाका सिरानचोक, अजिरकोट, भीमसेन थापा, धार्चे गाउँपालिकाका वन वन डढेलोले सखाप भएको छ। धेरैजसो वनमा मानिसले आगो लगाएका हुन्। ‘खेतबारीनजिक जंगल छ भने मलका लागि, नयाँ पालुवा र घाँस पलाओेस् भनेर र झाडी पन्छाउन आगो लगाउने प्रवृत्ति देखिन्छ,’ पौडेलले भने।

वन डढेलो लाग्दा धार्चे, बारपाक सुलिकोट गाउँपालिका वनमा सतुवा, चिराइतो मासिएको छ। मृग, घोरल, वनकुखुरा, कालिजजस्ता संरक्षित जनावरको बासस्थान संकटमा परेको छ। यसले वन विनाशसँगै वायु प्रदूषण बढाएको छ।आरुघाट सातदोबाटो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ। वनको आगोले घर खाने भएपछि निभाउन गएका ७२ वर्षीय मोहन फेवाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ। वनमा डढेलो लगाउनेलाई ६० हजार रूपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय हुन सक्छ।

खोटाङका वनमा पनि डढेलो लागेको छ। रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिङका शिवराज आले मगरको घर जलेको छ। यस्तै सल्लेरी सामुदायिक वनमा लागेको डढेलोले शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका निर्मला पोखरेलको गोठ जलेको छ। रानी सामुदायिकलगायत वनमा पनि डढेलो लागेको छ। डढेलोले एकातिर वन पैदावर विनाश भएको छ भने अर्कोतिर वायु प्रदूषण बढाएको छ।

पाँचथरमा पनि विभिन्न वनमा डढेलो लागेको छ। कुम्मायक गाउँपालिकाको विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा लिन निकै सकस भयो। लामो प्रयासपछि डढेलो नियन्त्रणमा आएको वन डिभिजन कार्यालय पाँचथरले जनाएको छ। कुम्मायक यासोकका खेम निरौला भन्छन्, ‘जंगलमा आगो कसैले लगाएको हुन सक्छ। अनुसन्धान गरी दोषीलाई कारबाही गर्न गर्न सके यस्ता घटना दोहोरिन्नथे।’

चैत लागेपछि डढेलोका घटना बढेका छन्। ‘ठाउँठाउँमा डढेलो लागेको खबर आउँछ। बस्ती जोगाउन टोली दौडिन्छ। चैतका पछिल्ला दिनमा त डढेलोले हैरान पारेको छ,’ पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा भन्छन्, ‘वनक्षेत्रको आगो नियन्त्रण गर्न निकै कठिन हुन्छ। सबै ठाँउ दमकल पुग्ने अवस्था छैन।’ डढेलो रोक्न सचेतना बढाउनुपर्ने थापा बताउँछन्। ‘केही ठाउँमा चरनका लागि डढेलो लगाएको भन्ने सुनिन आएको छ। अनुसन्धान गर्दैछौं,’ थापाले भने।

वन डिभिजन कार्यालय पाँचथरका अनुसार हिलिहाङ गाउँपालिकाका ६ वटा वनमा, फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका वनमा पनि डढेलो लागेको छ। छिमेकी तेह्रथुम जिल्लाका विभिन्न वनमा पनि डढेलो लागेको छ। फागुन लागेपछि ढडेलो सुरु भएको वन डिभिजन कार्यालय तेह्रथुमका प्रमुख भरतबाबु श्रेष्ठ बताउँछन्। डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तेह्रथुमका पाँच स्थानमा लागेको डढेलेबाट २ सय ३० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। गत पुसमा ताप्लेजुङको पाथीभार क्षेत्रको जंगलमा डढेलो लागेको थियो। डढेलो करिब एक सातापछि नियन्त्रणमा आएको थियो।

ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लामा बर्सेनि हुने आगालागीले ठूलो समस्या निम्त्याउने गरेको छ। जंगलबाहेक बस्तीमा पनि आगो लाग्दा धनजनको क्षति हुने गरेको छ। फागुन तेस्रो साता ताप्लेजुङको दोभान बजारमा लागेको आगोले ५० घर ध्वस्त भए। पाँचथर सदरमुकाम फिदिम, राँके बजार, च्याङ्थापु, पात्लेबजार थर्पुको दाहालगाउँ बजार, तेह्रथुमको सदरमुकाम म्याङलुङ, संक्रान्ति बजार, ताप्लेजुङको सदरमुकाम फुङलिङ, खेवाङजस्ता ठाउँमा पटकपटक आगलागी हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चालु आर्थिक वर्षमा ३१ वटा आगलागीका घटना भएका छन्। आगलागीबाट करिब २ करोड ३१ लाख ४८ हजार रूपैयाँ बराबरको सम्पत्ति क्षति भएको अनुमान गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष आगलागीका २० घटना भएका थिए।

ताप्लेजुङमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनमा आगालागीका घटनामा बढोत्तरी भएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा २९ वटा आगलागीका घटना भएका छन्। यसबाट ७८ परिवार प्रभावित भएका छन्। अघिल्लो आर्थिक वर्षमा २१ वटा आगलागीका घटना भएका थिए।

(सरिता श्रेष्ठरधादिङ, सन्तोष पोखरेलरपोखरा, नरहरि सापकोटारगोरखा, गिरिराज बाँस्कोटारपाँचथर, दमन राईरखोटाङको सहयोगमा)

प्रकाशित: १५ चैत्र २०७७ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App