५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एकै दिन गोरखाका २० भन्दा बढी जंगलमा डढेलो

गोरखाको आरुघाट गाउँपालिका भित्र पर्ने एउटा सामुदायिक जंगलमा लागेको आगो।

गोरखाका जंगलमा डढेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ। बिहीबार र शुक्रबार राती गोरखाका २० भन्दा बढी जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ। बारपाक सुलिकोट ६ को ताकुकोट, वडा नं. २ को मान्द्रे नजिकैको जंगल, शहिदलखन २ मनकामना, पालुङटार ९ धुवाँकोट लगायत बिभिन्न ठाउँमा आगोलागेको जानकारी आएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए।  

‘चैत महिना लागेदेखि डढेलो बढेको छ, जताततैबाट वनमा आगलागी भएको खबर आउँछ’ उनले भने। गोरखा सदरमुकामको दरबार क्षेत्रको वनमा पनि केहीदिनअघि आगो लागेको थियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले नेपाल टेलिकमको टावरमा असर पुग्ने भएपछि आगो नियन्त्रणमा लिएका थिए।  

चैत महिनामा हरेक वर्ष गोरखाका सामुदायिक वन डढेलोका कारण उजाड हुने गर्छ। ‘गत वर्ष यो समयमा भन्दा अहिले धेरै डढेलो देखिन्छ’, सुचना अधिकारी पौडेलले भने। गोरखाको सिरानचोक, अजिरकोट, भिमसेन थापा, धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा पनि वन डढेलोले सखाप भएको छ। सबैजसो डढेलो मानिसले लगाएका हुन्छन्। ‘खेतवारी नजिक जंगल छ भने मलको लागि, नयाँ पालुवा घाँसको लागि, झाडी पन्छाउन भनेर आगो लगाउने प्रवृत्ति देखिन्छ’ सुचना अधिकारी पौडेलले भने।  

सदरमुकाम आसपासका क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि अन्यत्र आगो लाग्दा नियन्त्रणमा लिन समस्या छ। भिरालो जमिन, कम जनशक्ति, आगो नियन्त्रणमा लिने यन्त्र उपकरणको कमीका कारण वन सखाप हुने गरेको छ।

वन डढेलो लाग्दा जडिवुटी पाईने गोरखाको धार्चे, बारपाक सुलिकोट गाउँपालिका जंगलहरुमा सतुवा, चिराईतो मासिएको छ। मृग घोरल, वनकुखुरा, कालिज जस्ता संरक्षित जनावरको बासस्थान घट्ने, जनावर लोप हुने, डढेलोमा पोलिने, मर्ने खतरा रहेको वन कार्यालयका अधिकृत महेश पौडेले बताउँछन्।  

आगलागीबाट मानवीय समेत भएको छ। आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको हो। वनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षीय मोहन फेवाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ।  

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डढेलोले पोलेको छ। जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए। भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ। ब्याउने बेला भएको भैँसी डढेलोले पोल्दा रम्तेल चिन्तित छन्। जथाभावी डढेलो लगाउँदा पछिल्लो समय पशु चौपाएमा पनि खतार बढेको छ।  

डढेलो लगाउनेलाई ६० हजार जरिवाना र तीन वर्ष कैद सम्मको सजाया हुन सक्छ। तर डढेलो लगाउने ब्यक्तिबारे समुदायका मानिसले सूचना दिँदैनन्। आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउन नसक्दा वन डढेको डढ्यै छ। ‘सामुदायिक वनका उपभोक्ताहरुलाई सचेत गराईएको, डढेलो नलगाउन सार्वजनिक सूचना जारी गरिएको तर डढेलो भने नरोकिएको वन कार्यालयका कर्मचारी बताउँछन्। ‘वन आगलागी हुँदा पर्यावरणमा पनि असर पुग्छ’ वन अधिकृत पौडेल भन्छन् ‘दिर्घकालिन रुपमा मानवीय स्वास्थ्यमा पनि असर पुग्छ।

प्रकाशित: १४ चैत्र २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App