२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोको कारण वायु प्रदूषण

धादिङको गल्छी गाउँपालिकाको वनमा लागेको डढेलो । धादिङ सदरमुकाम आसपासका क्षेत्रमा देखिएको वायु प्रदूषण । तस्बिर : सरिता/नागरिक

धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लाका वनमा केही दिनयता लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ। केही दिनयतादेखि लागेको डढेलोले धादिङ सदरमुकाम आसपास क्षेत्र बाक्लो तुवाँलोले ढाँकेको छ। त्यस्तै चितवन, मकवानपुर जिल्लाहरुको सबैजसो क्षेत्र अहिले धुँवामय भएको छ।

धादिङ जिल्लामा पछिल्लो एक महिनाको अवधिमा ३ हजारदेखि ३२ सय हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत देवीप्रसाद पाडैलले बताए। ‘पछिल्लो समय सामुदायिक वनमा डढेलो लागेको सूचना आइरहेको छ’, सहायक वन अधिकृत पौडेलले भने, ‘धादिङबेसी आसपास, सिद्धलेक, नौबिसे, गल्छी, बेनिघाट, सल्यानटार लगायतका क्षेत्रहरुका वनहरुमा डढेलो लागेको पाइएको छ।’  

जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ मा रहेको सेल्ले सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नहुँदा पुरै बस्ती जोखिममा परेको छ। एक साता अघि सोही वडाकै कन्यादेवी सामुदायिक वनमा पनि डढेलो लागेको थियो। उक्त डढेलोबाट कालामाटा, कल्लेरी, भर्‍याङ भुरुङ, नयाँ बस्ती, रिमालडी लगायतका गाउँहरु उच्च जोखिममा रहेका थिए। धुनीबेसी नगरपालिकास्थित नौबिसेको निसाकोट सामुदायिक वन, नीलकण्ठ नगरपालिकाको बादरेबेल गैडा सामुदायिक वन, खाल्टे, सल्यानटार, बेनिघाट,  सिद्धलेकका सामुदायिक वनहरुमा डढेलो लागेको सहायक वन अधिकृत पौडेलले बताए।  

मानिसको लापारबाही, वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि घाँस राम्रो आउँछ भनेर पनि डढेलो लगाउने गरेको सहायक वन अधिकृत पौडेलले बताए। ‘वनमा डढेलो लगाएपछि पालुवा पलाउँछ, घाँस पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत् सोच भएका मानिसले आगो झोस्ने गरेका छन्,’ सहायक वन अधिकृत पौडेलले भने, ‘डढेलोले गर्दा एकातिर सामुदायिक वन विनास भएको छ भने अर्कोतिर डढेलो नियन्त्रणमा कठिनाई हुँदा वायु प्रदूषण बढेको छ ।’  

यता चितवन जिल्लाको सामुदायिक वन, चितवन राष्ट्रिय निकुञ्ज लगायतको क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा कठिनाइ भएको छ। भरतपुरसंग जोडिएको रामबेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडकसंग जोडिएको वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए। पहाडी क्षेत्रमा बाटो र बस्तीभन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी नियन्त्रण गर्न सम्भव नहुँने सामुदायीक वनका प्रतिनिधिको भनाइ छ।

चितवनमा सामुदायिक वन र राष्ट्रिय वनले ठूलो क्षेत्रफल ओगटेको छ। चितवनसंग पर्सा रािष्ट्रय निकुञ्ज र नवलपरासीसंग जोडिएको राष्ट्रिय वन पनि जोडिएको छ। हरेक वर्ष फागुनदेखि बैशाखसम्म यी क्षेत्रमा आगलागी हुने गरेको छ। गतवर्ष चितवनमा पाँच सय हेक्टरमा आगलागी भएकोमा करिब सय हेक्टर क्षेत्रफलमा मात्रै समयमै आगलागी नियन्त्रण लिन सकिएको डिभिजन वन कार्यालयले जनाएको छ। घाँसका लागि मध्यवर्ती क्षेत्रको पर्नेहरुले पालुवाको लोभले आगजनी गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताए।  

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक वनहरुमा पनि डढेलो लागेको छ। हेडौडाको सुन्दर सामुदायिक वन, हेडौँडा १ को भैरवडाँडा वन, भैरवडाँडा तथा हेटौँडा नजिक मकवानपुरगढीका विभिन्न स्थान लगायत दर्जन भन्दा बढी वनमा डढेलो लागेको छ। जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा रहेको वनमा डढेलो लाग्दा स्थानीयहरुलाई पनि सताएको छ। डढेलो नियन्त्रण नहुँदा हेटौँडा क्षेत्रका घना जंगलमाथिको आकाशमा दिनभर बाक्लो धुँवा निरन्तर देखिएको छ। जंगलमा आगो लागिरहेकाले हेटौँडाको आकाश धुँवा नै धुँवाले ढाकेको देखिन्छ।  

मानिसहरुको आफ्नै लापारबाहीका कारण डढेलोका घटनाहरु भएका छन्। सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको डिभिजन वन कार्यालय हेटौँडाका सूचना अधिकृत अच्युत उपाध्यायले बताए। ‘चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढिरहेको छ’, उपाध्यायले भने, ‘डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा वातावरणीय क्षति भइरहेको छ।’  

अहिले धेरैजसो वनमा डढेलो लागेको छ। पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ। अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन। सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन्। विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ। धुँवाका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ।

प्रकाशित: १४ चैत्र २०७७ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App