१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘आत्महत्या गर्न खोज्नेलाई बचाउन सकिन्छ’

कुनै व्यक्तिले एक्लोपन महसुस गरेको बताउँछ? कुनै व्यक्तिले घरीघरी मन लागेको कुरा गरिरहेछ ? जीवनदेखि दिक्दारी मानिरहेको संकेत गरेको छ ? आत्महत्या गर्ने सामग्री जोहो गर्न खोजिरहेको छ? जोखिम गतिविधिमा सहभागी हुन थालेको छ? कुनै व्यक्तिको व्यवहार एकनाशको छैन ? सावधान! यस्ता व्यक्तिले आत्महत्या गर्न खोजेको हुन सक्छ। 

तपाईंको सानो सहयोगले यस्ता व्यक्तिलाई बचाउन सकिन्छ। सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङ समितिले आत्महत्याको विषयमा रिपोर्टिङ विषयमा गोष्ठी कार्यक्रममार्फत यस्तो जनाएको हो। आत्महत्याको नजिकै पुगेका व्यक्तिलाई बचाउन सकिने मनोचिकित्सकले सुझाएका छन्। माथि उल्लिखित व्यक्तिमा कुनै न कुनै किसिमको मनोसामाजिक समस्या या डिपे्रसन हुने र उनीहरूलाई समयमै उपचारमा ल्याउन सके बचाउन सकिने उनीहरूको सुझाव छ।

हाम्रो समाजमा अहिले पनि आत्महत्या गर्न खोजेको व्यक्तिलाई बचाउन सकिँदैन, एक पटक आत्महत्या गर्न खोजेको व्यक्तिले पटकपटक आत्महत्याको प्रयास गर्छ र अन्ततः उसले आत्महत्या गर्छ नै भन्ने जस्ता भ्रमका कारण आत्महत्याको सोच आएका व्यक्तिको पहिचान नभई अकालमा मृत्यु हुने गरेको पाइएको मनोचिकित्सकले बताएका छन्। आत्महत्याको संकेत दिएका व्यक्तिको नजिक पुगेर उनीहरूको कुरा राम्रोसित सुन्ने र कुनै पनि मनोसमस्या या डिपे्रसनजस्ता समस्या देखिएमा तत्कालै उपचारमा पुर्‍याए बचाउन सकिने मनोचिकित्सकले बताए।  

नेपालमा तथ्यांकअनुसार ८० देखि ९० प्रतिशत आत्महत्या कुनै न कुनै रूपको मानसिक रोगका कारणले हुन्छ। तीध्ये ७ प्रतिशत मात्र उपचारमा आएका छन्। उपचारबाहिर रहेका ७३ प्रतिशत बिरामी कालान्तरमा आत्महत्या गर्ने गरेको पाइएको छ। कतिपय अवस्थामा मिडियामा आउने आत्महत्या गर्ने तरिका देखाएका तस्बिरले समेत आत्महत्याको विचार आएका व्यक्तिलाई आत्महत्या गर्न पे्ररणा दिने भएकाले डोरीमा झुन्ड्याएको, गनले आफैंलाई हानेको, विष सेवन गरेका र हाम फालेका जस्ता तस्बिर नराखी समाचार दिनुपर्ने र सकेसम्म आत्महत्याका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्न नहुने उनीहरूले सुझाव दिएका छन्। विश्वमा यस्ता समाचारले कतिपय व्यक्तिले आत्महत्या गरेको उनले बताए।

‘विशेष गरी चर्चित व्यक्तिको आत्महत्या भएमा पटक–पटक आउने समाचार आएमा उनीहरूका फ्यानले आत्महत्या गरेको देखिन्छ,’ सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङका मनोचिकित्सकले भने। तथ्यांकअनुसार दक्षिण एसियाका देशहरू आत्महत्या गर्नेमा सातौं नम्बरमा पर्छन्। यस क्षेत्रका प्रतिलाख २४.९ प्रतिशत मानिसले आत्महत्या गर्ने गरेका छन्। 

नेपाल दक्षिण एसियामा बढी आत्महत्या गर्ने राष्ट्रममा दोस्रो स्थानमा पर्छ भने श्रीलंका पहिलो स्थानमा छ। नेपालमा पछिल्लो समय आत्महत्याको दरमा वृद्धि हुनुको कारण बढी महत्वाकांक्षा लिनु र महत्वाकांक्षा पूरा नहुँदा डिप्रेशनमा जाने र डिपे्रसनको कारणले पनि आत्महत्या हुने गरेको छ। यसका साथै महिला हिंसा, घरेलु हिंसा, प्रेम सम्बन्धमा आएको छिटो पे्रम र छिटो बिछोडजस्ता प्रवृत्तिको विकासले पनि आत्महत्यालाई प्रश्रय दिएको देखिन्छ।  

तथ्यांकअनुसार नेपालमा १४ देखि ४९ वर्षभित्रका महिलाको मृत्युको कारण आत्महत्या देखिन्छ। गत वर्षभन्दा यो वर्ष ८ प्रतिशतले आत्महत्यामा वृद्धि भएको छ। तथ्यांकअनुसार नेपालमा प्रतिदिन १४ देखि १५ जनाको मृत्यु आत्महत्याको कारणले हुन्छ। तथ्यांकअनुसार नेपालमा वैशाखदेखि असारभित्र युवा उमेरका विद्यार्थीले बढी मात्रामा आत्महत्या गर्ने गरेको देखिन्छ। यो मौसममा विद्यार्थीको परीक्षा र परीक्षाको परिणाम आउँदा मनोसमस्या भई आत्महत्या गर्ने गरेको अध्ययनले औंल्याएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App