१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मुख्य नाका बन्द चोरबाटोमा भीड

विराटनगरस्थित दरैयाबस्ती स्थित दशगजा जहाँबाट सीमा वारपार गर्ने मानिसहरूको भीड लाग्ने गरेको छ । तस्बिर: विनोद सुवेदी /नागरिक

विराटनगरको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ। कोरोना महामारीका कारण विगत एक  वर्षदेखि जोगवनी नाका ठप्प छ।  

नाकामा ढाट लगाएर बन्द गरिएको छ । वारपार गगर्नुपर्दा सुरक्षाकर्मीको अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । औषधि खरिद गर्न वा विशेष काम परेको पुष्टि गर्न सके मात्रै शुरक्षाकर्मीले वारपार गर्न दिने गरेका छन् । भारतबाट नेपाल तर्फ आउन नेपाली भएमात्रै पाइन्छ । मुख्य नाकाबाट नेपाल आउँदा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । नेपाल प्रवेश गर्ने नाकामै स्वास्थ्य क्याम्प राखिएको छ ।  

मुख्य नाकामा पुग्दा सरकारले सीमा निक्कै कडा गरेको भान हुन्छ । आवतजावत ठप्प पारिएको र स्वास्थ्य मापदण्डको पनि पालना गरिएको स्पष्ट हुन्छ । तर, वास्तविकता भने निक्कै फरक छ । मुख्य नाका ठप्प भएपनि चोरबाटोमा वारपार गर्नेको भीड थामि नसक्नुको छ । विराटनगरको दरैयावस्ती नाका र इस्लामापुर नाकामा आवतजावत गर्नेको भीड अत्याधिक छ । मुख्य नाका बन्द भएपछि इस्लामापुर, दरैयालगायतका स्थानबाट आवतजावत गर्ने र किनमेल गर्नेहरू वारपार गर्दै आएका छन् । भारतमा कोरोना संक्रमण बढेको समाचारहरू आइरहे पनि नेपालबाट भारततर्फ किनमेल गर्न जानेहरू स्वास्थ्य मापदण्डकोसमेत ख्याल नगरी आवतजावत गरिरहेका छन् । सीमानामा लागेको भीडले भारततर्फ कोरोनाको संक्रमण फैलिए नेपालतर्फ पनि महामारी अनियन्त्रित हुने स्पष्ट छ । सामानमा आवतजावत गर्नेको भीडले सीमाना जोडिएका स्थानीयहरू भने त्रसित छन् ।

 विनारोकटोक वारपार गरिरहेको भीडले पहिलो निशाना सीमावर्ती क्षेत्रकै बासिन्दालाई बनाउने अवस्था देखिएको स्थानियहरू बताउँछन् । विराटनगर स्थित दरैयाका विनोदकुमार रसाईलीले भारततर्फ कोरोना फेरि बढेको भनिरहेकाले सीमामा देखिएको भीडले आफूहरूलाई त्रसित बनाएको बताए ।‘भारततर्फ कोरोना बढेको समाचार आइरहेको छ’उनले भने‘तर, सरकारले सिमानामा  कडाइ नगरेका कारण कोरोना फैलने त्रास बढेको छ ।’ रानी मिल्स एरियाकै बुद्ध तामाङले सरकारको वेवास्थाका कारण सीमा क्षेत्रमा त्रास बढेको बताए । उनले सीमामा लागेको भीडलाई सरकारले नियन्त्रण गर्नुपर्ने माग राखे ।

 उनले भने‘सीमामा  भइरहेको वारपार गर्नेको भीडलाई नियन्त्रण गर्न सरकारसँग माग गर्दछौं ।’ यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खुल्ला सीमाना भएका कारण मुख्य नाका बन्द भए पनि अन्य नाकाबाट आवतजावत  भइरहेको बताए । उनले तत्कालै आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण योजना नरहे पनि कोरोनाको संक्रमण बढ्दै गए पुरानै संयन्त्र परिचालन गरी आवतजावतमा कडाइ गरिने जानकारी दिए । ‘कोरोना संक्रमण बढ्दै गए मुख्य नाकाबाहेकका नाकाबाट आउनेजानेलाई पनि बन्द गर्छौं ’ निरौलाले भने‘तर, अहिलै आवतजावत कडाइ गर्ने कुनै योजना छैन ।’  मोरङमा ६५ किलोमिटर भारसँग खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएकै कारण मुख्य नाका बन्द भएपछि अन्य नाकाबाट सहजै आवतजावत गर्ने सकिने भएकाले किनमेल गर्न भारतजाने र भारतबाट नेपालतर्फ आउनेहरूको  भीड सहायक नाकाहरूमा बढेको छ ।  

प्रकाशित: १० चैत्र २०७७ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App