१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हाम्रो बहुमुखी पाठशालामा आगलागी

धनकुटा नगरपालिका–७ मदनचोकस्थित हाम्रो बहुमुखी पाठशालामा सोमबार मध्यराति आगलागी भएको छ। विद्युत् सर्ट भई अचानक आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै पाठशालाको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। आगलागीबाट ३५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

करिब रातको १–२ बजेको समयमा पाठशालामा रहेको क्यान्टिनबाट आगलागी सुरु भएको अनुमान गरिएको छ। आगो कसरी लाग्यो ? अनुसन्धानको विषय बनेको छ। आगो सल्किएसँगै ग्यास सिलिन्डर पड्किएको स्थानीयले थाहा पाएका थिए। स्थानीय प्रत्यक्षदर्शी कन्चनजंघा होटलका सञ्चालक गोरखबहादुर कटवालले भने, ‘आफू सुतिरहेको बेला अचानक ठूलो आवाज आयो, के भएछ भनेर बाहिर निस्किएर हेर्दा हाम्रो बहुमुखी पाठशालामा हुरहुरी आगो बलिरहेको थियो।’ आफूले देखेबित्तिकै प्रहरी र दमकललाई फोन गरेको उनले बताए। उनले आगलागी भएको स्थलमा प्रहरी र दमकल ढिलो आएको गुनासो गरे।  

आगलागीबाट पाठशालामा साउन्ड सिस्टम १० लाख रूपैयाँ, धनकुटा फिजिकल फिटनेसले बहुमुखी पाठशालालाई प्रदान गरेको जिमका सामग्री ८ लाख र फाइबरको टपरी बनाउने मेसिन ६ लाख रूपैयाँबराबरको जलेर खरानी भएको छ। त्यसैगरी बहुमुखी पाठशालामा नृत्यका लागि कलाकारले प्रयोग गर्ने विभिन्न जातजातिका गरगहना, भेषभूषा पनि जलेर नष्ट भएको छ। पाठशालमा रहेको जेनेरेटर, इन्भर्टर, हारमुनियम दुईवटा, मादल, तबला, दराज २, सोकेस २ थानलगायत वाद्यवादनका विभिन्न सामग्री जलेर नष्ट हुँदा साढे ३ लाख रूपैयाँबराबरको क्षति भएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताए।

प्रकाशित: १० चैत्र २०७७ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App