८ वैशाख २०८१ शनिबार
समाज

गोरखा अस्पतालमा दरबन्दी ५९, कर्मचारी ८५

तस्बिर : नागरिक

५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५९ जनाको दरवन्दी स्वीकृत गरेको छ । यति संख्यामा जनशक्ति भएको खण्डमा अस्पतालबाट सहज रुपमा सेवा दिन सकिन्छ भन्ने योजनाले दरबन्दी तोकिएको हुन्छ ।  

गोरखा अस्पताल व्यवस्थापन समितिले भने तोकिएको दरबन्दी भन्दा २६ जना बढी करारमा कर्मचारी राखेको छ । थपिएकामध्ये सबैभन्दा धेरै अप्राविधिक जनशक्ति छन् ।  

समितिले थपेपछि अहिले अस्पतालमा ८५ जना कार्यरत छन् । सरकारले तोकेको दरबन्दीमा २३ जना मात्र पदपूर्ती छ भने ३६ जना रिक्त छन् । थप ३६ जना नेपाल सरकारको कार्यक्रम करार तर्फ कार्यरत छन् । समितिले २६ जना थप भर्ना गरेको छ ।  

अस्पतालले थप गरेको दरबन्दीमा सबैभन्दा धेरै कार्यालय सहयोगी छन् । अस्पताललाई मन्त्रालयले श्रेणीविहीन वा कार्यालय सहयोगी भनी ११ जनाको दरबन्दी तोकेको छ । तर अस्पताल व्यवस्थापन समितिले ११ जना थप गरेपछि हाल २२ जना कार्यालय सहयोगी कार्यरत छन् ।  

उक्त दरबन्दीमा दुईजना, नेपाल सरकार करार कार्यक्रमको १३ जना र समितिले ७ जना गरी हाल २२ जना कार्यरत छन् । दरबन्दी भन्दा दोब्बर संख्यामा कार्यालय सहयोगी रहँदा अस्पताललाई अनावश्यक आर्थिक भार परेको छ । अस्पताल समितिले कम्यूटर अपरेटरको दरबन्दी तीनजना, प्रशासन सहायक एक जना, दावी प्रशासन एक जना भर्ना गरेको छ । अहेब पाँच जना, रेडियोग्राफी दुई जना, ल्याब टेक्निसियन तीन जना, फार्मेसी सहायक दुई जना, हेल्थ असिस्टेन्ट दुईजना समितिले करारमा राखेको छ ।  

मन्त्रालयले अहेबको दरबन्दी तोकेको छैन । तैपनि नेपाल सरकार करार कार्यक्रम अन्र्तगत अहेब तीन जना हुँदाहुँदै अस्पतालले थप पाँच जना अहेबलाई जागिर दिएको छ । समिति करारका कर्मचारी कार्यालय सहयोगी सहित २६ जना छन् ।  

५० शैयाको गोरखा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट(एघारौं तह), बरिष्ट कन्सल्टेण्ट पेडियाट्रिसियन (दशौं ), बरिष्ठ रेडियोलोजिस्ट, डेन्टल सर्जन, फिजियो थेरापिस्ट, बायोमेडिकल टेक्निसियनजस्ता प्राविधिक क्षेत्रमा दरबन्दी अहिले पनि रिक्त छ । ‘अस्पतालमा प्राविधिक जनशक्ति अभाव हुँदा समितिबाट राख्न सकिन्छ’,  एक उच्च अधिकारीले भने, ‘ननटेक्निकल मान्छे राख्नु भनेको जागिर खुवाउने मात्र स्वार्थ हुन सक्छ ।’ अस्पताल बिकास समितिले बिरामीलाई सेवा दिने प्राविधिक भन्दा अप्राविधिक क्षेत्रमा धेरै कर्मचारी नियुक्त गरेको देखिन्छ ।  

अस्पताल विकास समितिका सदस्य गोर्वद्धन श्रेष्ठले अस्पताल पूरा रुपमा चल्ने हो भने अझै जनशक्ति आवश्यक पर्ने बताए । ‘अहिले हामीले दवाव वा प्रभावमा समितिबाट कर्मचारी नियुक्त गरेका छैनौं’, उनले भने, ‘सेवा दिनका लागि नभई नहुने कर्मचारी मात्रै छन् ।’ तीन चरणको सिफ्टमा अस्पताल संचालन गर्नुपर्दा जनशक्ति थप्नुपरेको बताउँदै उनले सरकारले दरबन्दी पदपूर्ती नगर्दा समस्या भएको बताए ।  

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले स्थायी दरबन्दीमा कार्यरत विशेषज्ञ कम रहेको बताइन् । ‘फरक फरक ठाउँबाट सेवा दिनु परेकाले कर्मचारी धेरै देखिएको हो,’ उनले भनिन् । अस्पताल भवन निर्माणाधिन रहेकाले एकै ठाउँबाट सेवा दिन नसकिएको उनले बताईन । 

प्रकाशित: ८ चैत्र २०७७ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App