१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किसानलाई चैते धान रोप्ने चटारो

चैते धान रोप्दै किसान। तस्विरः योगेश रावल

कैलालीको भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त छन। उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन। उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।  

उनी मात्रै हैन कैलालीको मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन। जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसान चैते धान खेती गर्छन।

चैते धान खेती किसानका लागि थप आम्दानीको स्रोत बनेको छ। उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरो लगायतका बाली फलाउँछन्। कतिपय किसानले दोहोरो धान खेती समेत गर्ने गरेका छन्। बाढी प्रभावित बाहेकका क्षेत्रका किसानले दोहोरो धान खेती गर्ने गरेको पाईन्छ।  

जानकी गाउँपालिका–७, मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुई पटक धान रोप्छन। उनका अनुसार एक पटकको धान खेतीले परिवार पाल्न पुग्छ भने अर्को पटकको धान खेतीको उत्पादन बेच्ने गरेका छन्। उनी वर्षेनी १ विगाह क्षेत्रफलमा धान खेती गर्छन्। ‘चैते धान खेती थप आम्दानीको स्रोत बनेको छ’ उनले भने–‘यसले मेरो आर्थिक अवस्थामा सुधार भैरहेको छ।’

खाशगरी बाढी प्रभावित क्षेत्रका किसानहरु चैते धान रोप्ने गरेका छन्। उनीहरु वर्षायाममा धान खेती रोप्न पाउँदैनन्। उनीहरुको खेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धान खेती रोप्न समस्या हुने गरेको छ। ‘हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धान रोप्नु’ भजनी नगरपालिका–३, कुसुमघाटका विजय साउँदले भने–‘चैते धान रोपेन भने भोकै बस्नुपर्छ।’

किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ। थोरै मात्रै समय अघिपछि भए धान उत्पादन राम्रो नहुने किसानहरु बताउँछन। ‘चैते धान रोप्न सहज छैन। हरेक कुराको ख्याल गर्नुपर्छ’ किसान साउँदले भने–‘समयमै रोपेर समयमै भित्र्याउन सक्नुपर्छ।’

चैते धान खेतीका लागि किसानले सिँचाई र रासायनिक मलको समेत समस्या भोग्ने गरेका छन्। उनीहरुले बोरिङ (जमिनमूनिबाट पानी निकाल्ने) का माध्यमबाट सिँचाई गर्दै आएका छन्। किसानले रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्छ। उनीहरुले समयमा रासायनिक मल पाउन नसके चैते धान खेती प्रभावित हुने गरेको छ।  

 

 

प्रकाशित: ६ चैत्र २०७७ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App