सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका छन् । पहाडी जिल्ला अछाममा दुई वटा क्षेत्र छन् भने बाँकी छ पहाडी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेका छन् । प्रदेशमा प्रदेशस्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरुले काम गरिरहेका छन् । एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल मानिएका छन् भने यहाँ दुई हजार १९९ मतदान केन्द्र रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुदूरपश्चिमको ठूलो जिल्ला कैलाली हो । यहाँका १०८ मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । “अतिसंवेदनशीन मतदानस्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध बढाइन्छ”, उनले भने, “हामीले जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षामा योजनासहित अघि बढेका छौँ ।”
प्रकाशित: १४ माघ २०८२ १७:१४ बुधबार





-600x400.jpg)