२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि  सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि  निर्माण कार्य बन्द भएको छ ।

निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ । भवनको जग खनेपछि स्थानीय अभिभावकले विरोध गरेका हुन् । ६ महिना अघि विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएकाले नयाँ समिति गठन गरी काम अघि बढाउनुपर्ने भन्दै अभिभावकहरुले संघर्ष समिति पनि गठन गरेका छन् । संघर्ष समितिले भवन निर्माणका लागि निर्माण समिति गठन हुनुपर्ने माग गरेको छ । अभिभावकहरुसँग छलफल नगरिकनै भवन निर्माण हुन थालेपछि आपूmहरुले विरोध गरेको संघर्ष समितिका संयोजक डम्वरबहादुर बिष्टले बताए ।

संघर्ष समितिले विद्यालयको बिच मैदानमा भवन निर्माण नहुनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने र नयाँ निर्माण समिति गठन गरेर भवन निर्माण हुनुपर्ने लगायतका मागहरु राख्दै संघर्ष समितिले वडा कार्यालय लगायत ठाउँमा निवेदन दिएको छ । विद्यालयमा भवन निर्माणको विरोध नभइ एकलौटी ढंगले हालीमुहाली गरेकाले विरोध गरेको संघर्ष समितिको भनाइ रहेको छ ।  

भवन निर्माणको लागि पूरानो समितिले सम्झौता गरेकाले एकलौटि ढङ्गबाट कुनै काम नभएका विद्यालयकका प्रअ रोजेन्दबहादुर बिष्टले बताए । विद्यालय व्यवस्थापन समिति गठनका लागि गृहकार्य भइरहेको उनले जानकारी दिए । विवाद समाधान गरी भवन निर्माणको कार्य अघि बढाउन वडा कार्यालयले पहल थालेको वडा नं. २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेले बताए ।

प्रकाशित: ४ चैत्र २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App