२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपामा जन्मिएकालाई ‘रुपा–रत्न’ सम्मान

रुपा रत्न सम्मानबाट सम्मानित व्यक्ति । तस्बिर ः सन्देश÷नागरिक

रुपा गाउँपालिकाले १३ जनालाई सम्मान गरेको छ । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकामा जन्मेर साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती कमाएका १३ जनालाई ‘रुपा–रत्न’ सम्मानबाट सम्मानित गरेको हो ।

सम्मानित हुनेमा साहित्यकार तथा लेखक अमर नेउपाने, गजलकार प्रकट पंगेनी (शिव), साहित्यकार तथा लेखक हरिहर खनाल, पत्रकार बद्रीविनोद खनाल (प्रतीक), साहित्यकार रामबाबु सुवेदी, साहित्यकार तथा लेखक सुर्यबहादुर खड्का (बिखर्ची)लाई सम्मान गरेको हो ।

त्यस्तै कलाकारतर्फ अभिनेता माओत्से गुरुङ, युवा वैज्ञानिक तथा आविश्कारक रवी मुल्लाह मिया सम्मानित भए । खेलाडीतर्फ बक्सिङका चन्द्रबहादुर गुरुङ, तेक्वान्दोकी रमीला टि खत्री, कराँतेका सुवास खड्का, क्रिकेटका सुनिल रानामगर र फुटबलका दीपेश आले सम्मानित भए ।

सम्मानित सबैलाई जनही १५ हजार एकसय एक रुपैयाँ सहित ताम्रपत्र र दोशल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य (सांसद) खगराज अधिकारी, गण्डकी प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीति संकटका बीचबाटै अगाडि बढ्ने भन्दै अहिले देखिएको संकटपनि समाधान हुँदै जाने बताए । तर जस्तोसुकै परिस्थितिमापनि दलहरु आत्तिने र मात्तिने गर्न नहुने उनको भनाई थियो ।  

मन्त्री रायमाझीले रुपाताललाई फेवातालको विकल्पका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसो गर्न सकियो भने त्यहाँ रोजगारीको समेत सिर्जना हुने उनको भनाई छ । उनले रुपाताल संरक्षणसँगै त्यसको सौन्दर्यकरण गर्ने काम भइरहेको भन्दै यो काम अब तिव्र रुपमा अघि बढ्ने बताए । साथै उनले कुनैपनि कारणले रुपातालको सौन्दर्यकरण र संरक्षणको काम नरोकिने बताए । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले रुपाको विकास योजनाबद्ध ढंगले अघि बढिरहेको बताए । उनले अबको २ महिना भित्रमा लालपुर्जा वितरण शुरु गर्ने बताए । यसरी छोटो समयमा लालपूर्जा वितरण गर्ने रुपा गाउँपालिका देशकै पहिलो हुने उनको भनाई थियो । त्यस्तै उनले २५ प्रतिशत घरधुरीमा खरको छाना हटाएर जस्तापाता हालिसकेको भन्दै यहि आर्थिक वर्षभित्र रुपा गाउँपालिकामा खरको छाना शतप्रतिशत हटेर जस्तापाताको हुने दाबी गरे ।

गाउँपालिका प्रमुख ओझाले रुपा गाउँपालिकाको नाम रुपातालको नामबाट नामाङ्करण गरेको भएपनि रुपाताल गाउँपालिकाको एकल नभएको प्रति गुनासो गरे । उनले रुपाताललाई रुपा गाउँपालिकामा पर्नेगरी सिमाङ्कन गर्न समेत आग्रह गरे ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App