१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘गंगामायाको जीवन बचाऊ’

छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया अधिकारी अनशन बसेको ८० दिन पुगेको छ। अनशन बसेको लामो समय हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै गंगामायाको जीवनरक्षा गर्न मानव अधिकारवादीले बुधवार अपिल गरेका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जीवन रक्षाको अपिल गरेका हुन्।  

२०६४ साल जेठ २४ मा चितवनमा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। हत्यामा संलग्नलाई कारवाही माग गर्दै अधिकारी दम्पत्ति २०७० सालमा अनसन बसेका थिए। अनसन बसेको ३३४ औं दिन अर्थात् २०७१ साल असोज ६ मा नन्दप्रसाद अधिकारीको वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि गंगामाया वीर अस्पतालमै छिन्। उनले पछिल्लो समयमा अनशन बसेको करिब ३ महिना हुन लागेको छ।  

जीवन रक्षाको अपिल गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य कपिल श्रेष्ठले न्यायका लागि शान्तिपूर्ण संघर्षमा बेवास्ता भएको बताए। राज्यले बन्दुक बोकेर आतंक मच्चाउनेको लागि मात्र भएको टिप्पणी गरे।  

त्यसैगरी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदार नरसिंह केसीले एउटी नारीले न्याय देउभन्दा राज्यले नसुन्नु गैर जिम्मेवारी भएको बताए। गंगामायाको न्यायको मुद्दामा सहयोग गर्न सबैलाई आग्रह गरे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गंगामायाको जीवन संकटमा भएको बताउँदै दण्डहिनताको आन्दोलनको प्रतिक भएको बताए। न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालका संयोजक इन्द्रप्रसाद अर्यालले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दा अधिकारी परिवार गोरखा फुजेलबाट विस्थापित हुनुपरेको प्रसंग सुनाए।  

अधिवक्ता ओमप्रकाश अर्यालले गंगामायाको सत्याग्रह अन्तराष्ट्रिय समुदायसँग पनि भएको बताए। न्याय प्राप्तिको अभियानमा पर्याप्त सहयोग गर्न नसकेको टिप्पणी गरे। हत्याका मुख्य दोषी रुद्रप्रसाद आचार्य बेलायतमा लुकेर बसेको बताउँदै देशमा नल्याएसम्म न्यायले पूर्णता नपाउने दाबी गरे।

प्रकाशित: २७ फाल्गुन २०७७ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App