७ वैशाख २०८१ शुक्रबार
समाज

वडा विभाजनको प्रस्ताव उपर छलफल नै भएन

टीकापुर नगरपालिकाको आठौं नगरसभा

वडा विभाजनको प्रस्ताव उपर छलफल नै नगरी टीकापुर नगरपालिकाको आठौं नगरसभा अन्त्य भएको छ । पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावकै कारण लम्बिएको थियो ।  

वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो । कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए । वडा विभाजन सम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भएपनि कार्यदलले वडा नं. १ को ब्लक नं. १४ लाई विभाजन गर्न खोजेपछि विवाद सुरु भएको हो ।  

कार्यपालिका बैठकमा समेत अधिकांश कार्यपालिका सदस्यहरुले प्रस्ताव प्रति असहमति जनाएका थिए । कार्यपालिका सदस्यहरुको असहमतिलाई वेवास्ता गर्दै सो प्रस्ताव नगरसभामा पेश गरिएको थियो ।  ‘सो प्रस्ताव उपर नगरसभामा कुनै छलफल नै भएन’ वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा थारुले भने–‘अहिले प्रस्ताव थाँती राख्ने सहमति भयो ।’

मेयर तपेन्द्रबहादुर रावलले वडा विभाजनको प्रस्ताव राजनीतिक र प्राविधिक हिसाबले विवादमा परेको बताए । उनले विशेष नगरसभा आह्वान गरेर सो प्रस्ताव टुङ्गोमा पुर्याउने सहमति भएपछि नगरसभा अन्त्य भएको जानकारी दिए । ‘नगरसभालाई लामो समय लम्ब्याउन उचित देखिएन’ उनले भने–‘सरोकारवालाहरुबीच सहमति जुट्यो भने कुनैपनि बेला विशेष नगरसभा आह्वान गर्न सकिन्छ ।’

वडा विभाजनको प्रस्ताव प्रति असहमत रहेका वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरीले सरोकारवालाले दिएको म्याण्डेटका आधारमा वडा विभाजन हुने बताए । उनले सरोकारवालासँग सहमति नगरेर अघि सारिएको वडा विभाजनको प्रस्ताव अमिल्दो भएकाले स्थगित गरिएको बताए । ‘प्रकृया नै पुगेको थिएन’ उनले भने–‘त्यही भएर हामीले विरोध गरेका हौं ।’

कार्यदलले नगरसभामा वडा नं. १ लाई ४ र वडा नं. २ लाई २ वडामा विभाजन गर्ने प्रस्ताव पेश गरेको थियो । हाल नगरपालिकामा ९ वटा वडा छन । वडा नं. १ जनसंख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ ५० हजारको हाराहारीमा जनसंख्या छ । तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तिमा ६४०० जनसंख्या हुनुपर्ने प्रावधान छ । जनसंख्याका आधारमा वडा नं. १ कम्तिमा ६ वडामा विभाजन गर्न सकिने देखिन्छ ।  

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App