१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच वर्षमा पनि तयार भएन बेलबास–दोभान वैकल्पिक मार्ग

योजना अनुरुप काम भएको भए बुटवल बेलबास–नुवाकोट–दोभान सडक गतसालदेखि नै सञ्चालनमा आइसक्थ्यो । यो सडक पहिरोको उच्च जोखिममा रहेको सिदार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकको सिद्धबाबा–झुम्सा खण्डको वैकल्पिक मार्ग हो । सडक सञ्चालनमा आउँदा सिद्धबाबाको पहिरोले घण्टाैं बाटो बन्द भएर सवारीसाधन बुटवल र पाल्पातर्फ बाटोमै रोकिनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।  

तर बिडम्बना दुई वर्षमा निर्माण सक्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । सोही कारण अहिले पनि सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा घण्टाैं बाटो जाम हुन्छ । बुटवल–पाल्पा हुँदै लुम्बिनी र गण्डकी प्रदेशका करिब एक दर्जन पहाडी जिल्लाको सवारी आवागमनमा त्यसले असर गर्छ । सिद्धबाबा–दोभान खण्डमा वर्षामा मात्रै हैन हिँउदमा समेत धुले पहिरोको जोखिम बढेपछि त्यसको विकल्पमा बेलबास–नुवाकोट हुँदै पाल्पाको दोभान जोड्ने १७ किलोमिटरको वैकल्पिक सडक पाँच वर्षअघि निर्माण सुरु गरिएको हो ।  

बेलबासदेखि नुवाकोटसम्मको करिब ९ किलोमिटर सडक बुटवलले र नुवाकोटदेखि पाल्पा दोभानसम्मको ८ किलोमिटर सडक डिभिजन पाल्पाले हेर्छ । दुई वर्षमा निर्माण सक्ने योजना अनुरुप दुवै खण्डमा आर्थिक वर्ष २०७२/०७३ मा पहिलो चरणको ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म यो सडकमा सबवेसको काम मात्र सकिएको छ ।  

तुलनात्मक रुपमा सडक डिभिजन पाल्पाअन्तर्गतको नुवाकोट–दोभान खण्डको निर्माणको गती तीव्र छ । सो खण्डमा अहिले ग्राभेलको काम सकेर रिटेनिङ वाल, नाली तथा कल्भर्ड निर्माणको काम भइरहेको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । रिटेनिङ वाल र कल्भर्ड निर्माण सकेर कालोपत्रेको काम सुरु हुने डिभिजन प्रमुख अधिकारीले बताए । आपतकालिन अवस्थामा सवारी आवागमनका लागि सडक प्रयोग गर्न सकिनेगरी ग्राभेलको काम सकिएको उनले बताए । ‘सिद्धबाबा खण्डको पहिरोको जोखिम र जाममा फस्नुभन्दा साना सवारीसाधनले बेलबास–दोभान वैकल्पिक मार्ग प्रयोग गर्दा उचित हुन्छ,’ अधिकारीले भने । नुवाकोट–दोभान खण्डको करिब ८ किलोमिटर सडकको सबवेस निर्माणका लागि २०७३ मै ६ करोडमा ठेक्का लागेको हो । २०७६ मा २ किलोमिटर ग्राभेलका लागि १ करोडमा र नाली, कल्भर्ड, रिटेनिङवाल निर्माणका लागि सोही वर्ष २ करोडमा अर्को ठेक्का सम्झौता भयो । जसको काम अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन पाल्पाका इन्जिनीयर शिव खत्रीले बताए ।

वैकल्पिक मार्गको बुटवल खण्डमा भने निर्माणले गति लिन सकेको छैन । यो खण्डमा २०७३ साउन १ मा पहिलो ठेक्का स्वीकृत भएको हो । महालक्ष्मी कन्स्ट्रक्सनले २ वर्षमा सबवेससम्मको काम १३ करोड ४६ लाखमा ठेक्का पाएको थियो । तर उसले चालु वर्षको माघमा बल्ल काम सकेको छ । निर्माणकै क्रममा ठाँउठाँउमा बाटो भत्किएपछि अहिले मर्मतको तयारी भइरहेको छ । यो आयोजनाअन्तर्गत बेलबास नुवाकोट खण्ड प्रदेशलाई हस्तान्तरण भइसकेको छ । तर पाल्पा खण्ड भने अहिले पनि संघअन्तर्गत नै छ ।

प्रदेशअन्तर्गतको सडक डिभिजन शिवपुर कपिलवस्तुका इन्जिनियर नेत्र देवकोटाले बेलबास–नुवाकोट खण्डमा सबवेसको काम सके पनि मर्मत र वित्तीय भुक्तानीको काम बाँकी रहेको बताए । सडकको डिपिआर नै त्रुटिपूर्ण हुँदा अहिले भुक्तानीमा समस्या भएको जानकारी दिए । उनका अनुसार डिपीआरमा साढे १० किलोमिटर भनिए पनि फिल्डमा जम्मा साढे ७ किलोमिटरमा काम गर्नुपर्ने भएकाले भौतिक प्रगति ९० प्रतिशत देखिएको छ । जसका कारण भुक्तानीमा समस्या भएको उनले बताए ।

यो खण्डमा तत्कालीन समयमा सडक डिभिजन बुटवलले पहिलो ठेक्काको काम नसकीदै २०७४ मा फेरि पीचका लागि अर्को ठेक्का लगाएको थियो । सववेसको काम सुरु नहुँदै सडकले लुम्बिनी प्राकृतिक जेभिलाइ ९ करोड २५ लाखमा पीचका लागि ठेक्का लगाएको हो ।  

पहिलो ठेक्काको कामै नसकी पीचका लागि अर्को ठेक्का लगाउनु नै मापदण्डविपरीत रहेको शिवपुर सडक डिभिजनका एकजना अधिकारीले बताए । जसका कारण पीचका लागि भनेर गरिएको ठेक्का सम्झौताको अवधि कामै नगरी सकिएको छ । यो ठेक्काअन्र्तगत २९ प्रतिशत काम भएको इन्जिनियर देवकोटाले बताए । पहिलो ठेक्काको काम पूरा भएपछि बल्ल बेस र पिचको काम सुरु हुने उनले बताए । त्यसका लागि दोश्रो ठेक्काको म्याद ६ महिना थप्ने तयारी भइरहेको इन्जिनियर देवकोटाले जानकारी दिए ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App