२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रिगर दबाउने हातले कल चलाउँदै पूर्वलडाकु

जुम्ला पोखरी गाउँका मोतिलाल रोकाया (पुस्कर) पूर्व जनशक्ति सेनाका एफजिएल हुन्। उनी २०५९ सालमा भुमिगत भए। सिँधै जनमुक्ती सेनामा भर्ति भए। म्याग्दी, जुम्ला र कुसुमको ठूला फौजी आक्रमणमा सहभागी भए।  

कैलालीको पाण्डौनमा भएको भिडन्तमा दाहिने खुट्टाको कुइनामा गोली लाग्यो। उनी थलिए। गोली अहिले पनि भित्रै छ। हातमा समेत गोली लागेको थियो। मासु हुँदै गोली गएकोले खासै समस्या भएन। उनले भने,“देश र जनताको मुक्तिको सपना थियो। समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना थियो। घर फर्किएर पिडादायक जीवन विताउने कल्पना थिएन। तर उतिबेलाका सपना तुहिए। सर्वहारा मुक्तिको लागि थालिएको आन्दोलन अलपत्र बन्यो। फलस्वरुप पहुँचवालाको मालामाल भयो। पहुँचविहीनको गुजारा चलाउनै समस्या छ।”

पहिले बिदाइ हुँदा रुने आँखा अहिले भेट हुँदा समेत चिन्न छाडे। हरेक दुःखसुखमा साथ दिने साथी अहिले बिरानो भइदिँदा कल चलाउन सिकेको उनी बताउँछन्।  

पुस्कार अहिले कल चलाएर सिलाइँकटाइँमा व्यस्त छन्। पहिले ट्रिगर दबाएर मन चुडाल्ने काम हुन्थ्यो। अहिले कल चलाएर मन सिलाउने काममा लागेको छु। २०७३ सालदेखि लुगा सिलाउन सिकेका उनी अहिले गाउँले भरीका लुगा सिलाउँछन्। विद्यालयमा विद्यार्थीका पोशाक सिलाउँछन्।  

गाउँमा हुने चाडपर्वमा नयाँ लुगा सिलाउने काम उनैको हो। उनले भने,“पहिले गाउँलेले लुगा सिलाउनेमा विश्वास गर्थेनन्। अहिले सबैले लुगा सिलाउन ल्याउँछन्।” गत वर्ष पुस्कारले गाउँपालिका भित्र रहेका अपांगता भएका व्यक्तिलाई सिलाइँकटाइँ तालिम दिए। अहिले उनी सिलाइँकटाइँका प्रशिक्षक पनि हुन्।  

लुगा सिलाएरै ८ परिवार पालेका छन्। सेनाबाट घर फिर्ता भइसकेपछि कुनै पनि जीउने उपाय निकाल्न सकिएन। सिलाइँकटाइँमा जोडिए। अहिले आम्दानीको राम्रो स्रोत बनेको छ। घरपरिवारको लुगाफाटो, खानखर्च सिलाइँकटाइँबाट जुट्छ।  

एक मास्टर प्रति महिना २० हजार रुपैयाँ तिरेर घरमै राखेर सिलाइँकटाइँ सिके। कोट र नेपाली पोशाक बाहेक सबै सिलाउन आउँछ। मासिक ८ देखि १० हजार रुपैयाँसम्म कमाउँछन्। अहिले पत्नीको पनि दह्रो साथ छ।  

पुस्कार गाउँमा आउँदा कसैले व्यवसायीक बन्ला भन्ने सोचेका थिएनन्। अहिले गाउँमै उदाहरणीय बनेका छन्। पुस्कार भन्छन्,“पहिले सर्वहारा बर्गको मुक्तिको बाटो रोजियो। अहिले परिवारको समृद्धिको पक्षमा लागेको छु।”

प्रकाशित: २० फाल्गुन २०७७ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App