१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा किन आगलागी भइरहन्छ ?

बिहानको करिब ९ बजेतिरको समय। सबै खानापिनको तयारी गरिरहेको अवस्था। अचानक दोभान बजारलाई आगोको अन्धमुस्ल परिवेशले छोप्छ। साँघुरो बाटो र दायाँबाँया जोडिएर बनेका काठ र टिन मिश्रित घर। बजारको बीच भागबाट छुटेको आगो एकपछि अर्को घरलाइ लपेट्दै अघि बढ्छ। गुहारका चित्कार सुनिन्छन् तर आगो निभाउने अवस्था नै रहँदैन। निकै व्यस्त मानिएको दोभान बजार छिनभरमै उजाड भएको छ। मंगलवार बिहान दोभान बजारमा भएको आगलागिको घटनाले बर्षेनि आगलागिका भइरहने जिल्लाको रूपमा ताप्लेजुङलाइ फेरी चिनाएको मात्र छैन,खडेरी समयको सुरुवातमै दोभानवासीलाई पर्नुसम्मको पीडा पनि दिएको छ।  

‘अचानक आगो देखियो, निभाउन सम्भव पनि थिएन र भएन पनि,’ पीडित टंक खतिवडाले भने। उनले त्यहाँ मनि ट्रान्सफर र ग्लोबल आइएमई बैंकको शाखासहित बैंकिङ सेवासमेत सञ्चालन गरिररहेका थिए। अब उनका लागि ती सबै सम्झनामा मात्र सीमित भएका छन्। ‘हुनसम्मको पीडा आयो, सर्वश्व सकियो।’ अर्का पीडित डम्बर धितालले भने। स्थानीय भोला पौडेलेको घरनजिकबाट उम्किएको भनिएको आगो कसरी सुरु भयो भनेर केही पत्तो लागेको छैन।

 फुङ्लिङ बजारतर्फबाट तमोर नदी र मैवाखोला तथा आठराई त्रिवेणीबाट मेवाखोला तरेपछि दोभान बजार आउँछ। मेरिङ्देन र मिक्वाखोला गाउँपालिका समेत यही केन्द्र हुँदै आउजाउ गरिछ। ताप्लेजुङकै दोस्रो ठूलो व्यापारिक केन्द्र र निर्वाचन क्षेत्र नं १(ख)का अधिकांश जनताको दैनिक उपभोग्यवस्तु खरिद–बिक्री गर्ने केन्द्र भएकोले दोभान बजारमा पसल ठूला–ठूला थिए। अलैंची कारोबारका लागि भण्डारणस्थलसमेत त्यहीँ बनाएर राखिएको र खाद्यान्न, लत्ताकपडा, भाडावर्तनसहितको निकै मोटो परिमाणमा कारोबार गर्नेहरूकै घर/पसल जलेकोले क्षतिको विवरण करोडौंको हुने अनुमान गरिएको छ। आगलागीका कारण ४९ घर जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक संकलन भएको जानकारी दिइन्। घरधनीबाहेक २२ परिवार बसेका घर÷डेरामा क्षति पुगेको उनले बताएकी छन्। 

‘केही पशु चौपायासमेत क्षत भएको भन्ने छ, तर क्षतिको तथ्यांक संकलनको कार्य बल्ल सुरु भएकाले त्यसको पूर्ण विवरण आउन समय लाग्छ,’ उनले भनिन्। प्रायः अधिकाँस काठ र टिनले बनेका घर र साँघुरो बाटो भएकोले आगोले छिनभरमै दोभान बजार खरानी बनाएको थियो। आगलागी सुरु भएको खबर पाउनासाथ पुगेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दाहरूले आगो निभाउने सक्दो प्रयास गरेका थिए। कच्ची सडक भएकोले दोभान बजारसम्म पुग्न फुङ्लिङको बारुण यन्त्रलाइ निकै समय लागेको थियो। सामान्यतया यात्रुबाहक साना सवारीलाई फुङ्लिङ बजारबाट दोभान पुग्न करिब १ घण्टा लाग्छ। आगो दन्किरहेको समयमा चलेको हावा, भण्डारण गरिएका ग्याँस सिलिण्डरको पड्काइ र एकपछि अर्को घर प्रवेश गर्दै सल्किएको आगोका कारण आगो नियन्त्रणमा ल्याउन भने अपराह्न करिब साढे २ बजेको थियो।  

पीडितलाइ राहत र पुनर्निर्माणमा सहयोग गर्छौं : प्रधानमन्त्री  

प्रधानमन्त्री केपी शर्मा ओलीले दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र दोभान बजार पुनर्निर्माणमा सरकारले सघाउने बताएका छन्। मंगलबार मोरङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पीडितलाइ तत्काल राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्ने बताए। उनले यस कार्यमा समन्वय र सहजीकरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाइ आग्रह गरेका छन्। यस्तै पूर्वपर्यटमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले समेत दोभान बजारमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आवासविहीन भएकालाई तत्काल राहात उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्। आगलागीलगत्तै विज्ञप्ति प्रकाशित गरी उनले यस्तो बताएका हुन्।

प्रकाशित: २० फाल्गुन २०७७ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App